Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोग‘पर्वतीय पर्यटन प्रवर्द्धनमा संघको भूमिका महत्वपूर्ण छ‘

‘पर्वतीय पर्यटन प्रवर्द्धनमा संघको भूमिका महत्वपूर्ण छ‘


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले पर्वतीय पर्यटन प्रवर्द्धनमा नेपाल पर्वतारोहण संघको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

एसियाली पर्वतारोहण महासंघको मंगलबार आयोजित साधारणसभामा महानिर्देशक बुढाले हिमाली पर्यटन प्रवर्द्धन, पर्वतारोहण खेलकुद, हिमाली वातावरण संरक्षण र हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न संघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तन, हिमाली वातावरण, विश्वव्यापी उष्णुता र सुरक्षित पहाडसम्बन्धी एउटै आवाजका लागि एसिया महादेशमा रहेका अल्पाइन क्लबको छाता संस्थाका रूपमा रहेको महासंघको भूमिका महत्वपूर्ण भएको उनले उल्लेख गरे । नेपालजस्ता पहाडी मुलुकले जलवायु परिवर्तनलगायतका समस्या भोग्दै आएको बताउँदै उनले साधारणसभामा यस विषयमा गम्भीर छलफल गरी हिमाली क्षेत्र संरक्षणका लागि साझा रणनीतिक योजनाबाट निष्कर्षमा पुग्न आवश्यक रहेको बताए ।

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन र नेपालको राष्ट्रिय अल्पाइन संघको रूपमा काम गर्दै आएको पर्वतारोहण संघको स्वर्णमहोत्सवका अवसरमा महासंघका अध्यक्ष डा. इन ज्युङ लीले वातावरण संरक्षणमा महासंघले विशेष ध्यान दिएको बताउँदै साधारणसभा विश्वव्यापी पर्वतारोहण समुदायका लागि लाभदायी हुने बताए । सो समारोहमा अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघका अध्यक्ष पिटर मिउरले वातावरणीय समस्या विश्वव्यापी हुनाले सबैको आवाजको प्रतिनिधित्वले वातावरण संरक्षणमा मद्दत पु-याउने र यसले अन्तर्राष्ट्रिय राष्ट्रिय हितको प्रवर्द्धन गर्न केही जिम्मेवारी प्रदान गर्ने बताए ।

पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले एसियाली पर्वतारोहण महासंघको साधारणसभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने उल्लेख गरे । महासभामा हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे छलफल गर्ने उनको भनाइ छ । पर्वतारोहण र हिमाली वातावरणको वास्तविकता बुझ्न एकमात्र राष्ट्रिय अल्पाइन क्लबका रूपमा रहेको पर्वतारोहण संघ जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रले खेप्नुपरेको समस्याबारे छलफल गरी वातावरण संरक्षणमा सबैको एकता र प्रयास आवश्यक रहनेमा उनले जोड दिए । महासंघको साधारणसभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिलगायतको सहभागिता छ ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया