Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगरमा तस्करीका कपडा र चाँदी बरामद

विराटनगरमा तस्करीका कपडा र चाँदी बरामद


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको बीओपीले छुटाछुटै अपरेसन चलाएर ठूलो परिमाणमा तस्करीका सामानहरू बरामद गरेको छ । दुवै प्रहरी संगठनले तस्करी नियन्त्रणमा चासो नदेखाएको अरोप लागिरहेको बेला दुवै संगठनले हालै तीन दिनको फरकमा तस्करीविरुद्ध अपरेसन चलाएको हो ।

सो अपरेसनमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बीओपीले करिब सात लाख पचास हजार बराबरको तस्करीको कपडा पक्राउ गरी विराटनगर भन्सारलाई बुझाएको छ । त्यसैगरी नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा भएको तस्करी अपरेसनबाट बिल बीजक नभएको ९९ किलो नौ सय ४६ ग्राम चाँदीसहित विराटनगर महानगरपालिका– ११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वनाथ जान पक्राउ गरेका छन् । बरामद चाँदीसहित उनीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सारलाई बुझाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको बीओपीले भन्सार बुझाएको कपडासहित पक्राउ परेका गाडी चालक धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् भने पक्राउ परेको सामानसहितको गाडी भने विराटनगर भन्सारले जफत गरेको छ ।

उता नेपाल प्रहरीको अगुुवाइमा भएको चाँदी तस्करी अपरेसनको चाँदीमध्ये धेरै परिमाण चाँदीबाट निर्मित विभिन्न प्रकारका गरगहना र भाँडाकुँडा रहेको विराटनगर भन्सारले जानकारी दिएको छ । त्यसमा केही काँचो चाँदी पनि रहेको छ । प्रहरीले ज्वेलर्सबाट १५३ दशमलव ८ ग्राम सुन समेत बरामद गरेको जानकारी विराटनगर भन्सारले दिएको छ । नेपाल प्रहरीले तस्करीविरुद्ध अपरेसन चलाउँदा भन्सार, राजस्व र जिल्ला प्रशासनलगायतको संयुक्त टोली बनाएको थियो । सो टोलीले ९९ किलो ९४६ ग्राम चाँदी र १५३ दशमलव ८ ग्राम सुन बरामद गरेको हो । पक्राउ परेका पशुपति ज्वेलर्सका सञ्चालक भारतीय नागरिक रहेको पाइएको छ ।

पक्राउ परेको चाँदी भारतबाट तस्करी गरेर ल्याइएको र उक्त ज्वेलर्समा लुकाएर राखिएको अवस्थामा पाँच वटा प्लास्टिकको झोलाबाट चाँदी बरामद गरेको दाबी प्रहरीको छ । अपरेसन टोलीले चाँदीबाट बनेका पाउजु, ब्रास्लेट, औँठी, दियो, करुवा, मूर्ति, टीकादानीलगायतका सामग्री र गरगहना बरामद गरेको हो । ज्वेलर्स सञ्चालकले आउँदो दीपावलीलाई लक्षित गरी ठूलो परिणाममा चाँदीका गहना र अन्य सामग्री ल्याएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ गरिएको दिनको दरभाउअनुसार बरामद चाँदीको बजार मूल्य एक करोड २० लाख ३८ हजार रुपैयाँ हुन आउने जानकारी पनि विराटनगर भन्सारले दिएको छ । उक्त परिमाणको चाँदी एकैपटक ल्याउन नसकिने र पटकपटक गरी ल्याउँदा नेपाल भारत सीमाबाट उक्त ज्वेलर्ससम्म ल्याउन दुईवटा नेपाल प्रहरीको युनिट तथा बाटोभरको सशस्त्र प्रहरीले राखेका विभिन्न युनिटहरू छिचोल्दै ल्याउनुपर्ने अवस्था छ । तस्करहरूले दुवै प्रहरी संगठनलाई चक्मा दिँदै तस्करीका सामानहरू भित्र्याउँदै आएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया