Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकात्तिक २७ गतेदेखि कोरला नाका सञ्चालन हुने

कात्तिक २७ गतेदेखि कोरला नाका सञ्चालन हुने


म्याग्दी । आगामी हप्तादेखि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका सञ्चालन हुने भएको छ । चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो ।

उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया