Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय सहमति

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय सहमति


काठमाडौं, जेठ १
कालापानी क्षेत्रमा भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दलहरुले सहमति गर्दै त्यसका लागि सरकारलाई कूटनीतिक पहल गर्न सुझाव दिएका छन् । वक्तव्य, नारा र जुलुसले नेपाली भूमि फिर्ता ल्याउन सम्भव नभएको भन्दै उनीहरुले कूटनीतिक पहल नै मुख्य विषय भन्दै सरकारलाई पनि वक्तव्यबाजीमा नउत्रिन आग्रह गरेका छन् । कालापानी क्षेत्रका जमिन भारतले मिचेको भन्दै विभिन्न दल र संघ/संगठनले विरोध जुलुस निकालिरहेका छन् । उक्त प्रदर्शनप्रति दलका मुख्य नेताहरुले असहमति व्यक्त गरेका हुन् ।

नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताको बैठक बोलाएका थिए । उनीहरुले कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका हुन् । सरकारले सो क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा भारत सरकारलाई कूटनीतिक नोटमार्फत असहमति जनाई वार्ताबाट चाँडो समस्याको समाधान गर्न आग्रह गरिसकेको छ भने बुधबार नै दार्चुलाको सीमा क्षेत्र व्यास गाउँपालिका–१ मा सशस्त्र प्रहरीको क्याम्प खडा गरेको छ ।

भारतीय पक्षले कोरोना सङ्कटपछि वार्ता गर्ने जनाउ दिएकामा नेपालले यो गम्भीर विषय भएकाले तत्काल कूटनीतिक वार्तामा आउन आग्रह गर्दै आएको छ । सरकारको यो पहल र कदमलाई सहभागी सबै दलका शीर्ष नेताले समर्थन गर्दै परिणाममुखी संवादबाट सीमा विवाद हल गर्न सुझाव दिएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, पूर्वप्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई आमन्त्रण गरिएको सो बैठकमा छिमेकी भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना गतिविधि गरेको र नेपाली भूमि मिचेको विषयमा केन्द्रित भएर छलफल भएको थियो । यसअघि गत कात्तिकमा भारतले नेपाली भूमिसमेतलाई समावेश गरी आफ्नो नक्सा सार्वजनिक गरेपछि पनि यस्तै प्रकारको सर्वदलीय बैठक आयोजना हुँदा राष्ट्रियताका पक्षमा समान मत व्यक्त भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x