Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा पनि आर्थिक क्रियाकलाप सुचारु हुने

लकडाउनमा पनि आर्थिक क्रियाकलाप सुचारु हुने


काठमाडौं, जेठ १
कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेको भन्दै सबै आर्थिक गतिविधि बन्द गर्न माग भएको बेला सरकारले भने न्यूनतम आर्थिक क्रियापकलाप सुचारु राख्ने बताएको छ । न्यूनतम आर्थिक क्रियापकलाप सुचारु राखिएन भने रोगबाट त बचिएला तर भोकबाट बच्न सकिँदैन भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विकास निर्माण÷उत्पादनलगायतका क्षेत्रलाई सुचारु राखिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘अहिले रोगसँग लड्नुपर्नेछ अर्कातर्फ भोकसँग पनि लड्नुपर्नेछ, उत्पादनसँग जोडिएको क्षेत्रलाई चलायमान बनाउनुपर्नेछ’, सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘काम र रोजगारीसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएनौँ भने अर्थतन्त्र चल्दैन ।’ न्यूनतम आर्थिक क्रियापकलाप सुचारु राखिएन भने रोगबाट त बचिएला तर भोकबाट बचिँदैन ।’

संसद्मा अर्थमन्त्री डा. खतिवडाले आर्थिक पुनरुत्थान, स्वास्थ्य पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने समेत सांसदहरुलाई जानकारी गराएका छन् । आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले स्वास्थ्य पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारे ।

अर्थमन्त्रीले कोरोनाका कारण आर्थिक क्रियाकलापमा केही शिथिलता आए पनि व्यापारघाटा कम हुँदै गएको, भुक्तानी सन्तुलनको स्थिति सुधार हुँदै गएको बताए । देशभित्र विद्युत् उत्पादन बढ्दै गएको, विद्युत् आयात निरन्तर घट्दै गएको, पछिल्ला अवधिमा एक अर्बको विद्युत् निर्यात गरिएको जानकारी गराए । कोरोना नेपालको मात्र नभएर विश्वकै साझा समस्या भएको उल्लेख गर्दै उनले विश्वकै अधिकतम सहयोग र सहकार्यका खाँचो औँल्याए ।

विदेशमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सम्बन्धित मुलुकका समकक्षीसँग संवाद गरी कुनै पनि नागरिकलाई समस्या पर्न नदिन पहल गरिरहेको बताए । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई कोभिड–१९ को जोखिम न्यूनीकरण भएपछि स्वदेश फर्काउने विषयमा छलफल भइरहेको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले जोखिमको अवस्थामा धेरै अवातजावत गर्न नहुने र सङ्क्रमणको जोखिमको सन्दर्भमा पनि सबैले ख्याल गर्नुपर्ने बताए ।

सरकारले यथार्थपरक ढङ्गबाट पूर्ण बजेट ल्याउने र आंशिक बजेटको विषयमा सोचसमेत नराखेको बताए । कांग्रेसका केही सांसदहरुले अहिले आंशिक बजेट ल्याएर साउनमा पूर्ण बजेट ल्याउन माग गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री खतिवडाले सरकारी अडान राखेका हुन् । ‘आर्थिक वर्षको सुरुमा आउने बजेट पूरक हुँदैन’, अर्थमन्त्री खतिवडाले भने । सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुरानै भयो भनेर भन्नु पुरानै सोच भएको पनि उनको टिप्पणी थियो ।

सीमा सुरक्षा, सीमामा तरबार लगाउनेजस्ता विषय सर्वदलीय छलफलमार्फत अगाडि बढ्ने भएकाले सीमा व्यवस्थापन गर्न राष्ट्रिय धारणा बनाएर अगाडि बढ्नुपर्ने बताए । सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको सुरक्षा, बसोबास र प्रोत्साहनको व्यवस्था बजेटमार्फत सुनिश्चित गरिने उनको भनाइ थियो । बजेटको प्राथमिकता के–के हुनुपर्छ भन्नेमा राष्ट्रियसभा र प्रतिनिधिसभामा आफूले एकै मत पाएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले छलफलबाट प्राप्त सुझावलाई यथोचित ग्रहण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने बताए ।

भोलि जेठ २ गते शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ २ गते साँझ ६ बजे बस्नेछ ।

यसैबीच, प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि ‘आर्थिक वर्ष २०७७/०७८को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै सांसदहरुले कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्किन चाहेकाले उनीहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए । खाडी मुलुक तथा मलेसियामा रहेका कामदार फर्किन तयार रहेको सन्दर्भलाई विशेष ध्यानमा राखेर उनीहरूलार्ई कृषि क्षेत्रमा लगाउने र आत्मनिर्भरताको मार्गमा अगाडि बढाउने गरी कार्यक्रम जरुरी रहेको भन्दै उनीहरूले सीप, क्षमता तथा आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रम जरुरी रहेको सांसदको भनाइ छ ।

विदेशमा सिकेको सीपले देशभित्रै स्वरोजगार बनाउने, आत्मनिर्भरताका लागि थप प्रेरित गर्ने भएकाले मुलुकलाई थप सबल बनाउने स्पष्ट पार्दै सांसदहरूले साना तथा मझौला उद्योगको विकास र विस्तार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । यस्तै केही सांसदले नेपाल–भारत सीमा क्षेत्रमा लगातार हस्तक्षेप भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि खुट्टा नकमाउनसमेत अनुरोध गरे । छलफलमा भाग लिँदै सांसद लक्ष्मी परियारले कोभिड–१९ को बहुपक्षीय प्रभावलाई ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिइन् ।

सांसद प्रमिला राईले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवालाई स्वदेश फर्केपछि कृषि उत्पादनलगायत क्षेत्रमा रोजगारी आकर्षित गर्नेजस्ता कार्यक्रमलाई आगामी बजेटले सम्बोधन गरिनुपर्ने बताइन् । सांसद नवराज सिलवालले आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन र रोजगार प्रवर्द्धनका साथै मुलुकको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि प्राथमिकता दिन जरुरी भएको बताए । सांसद मीना सुब्बा, समिना हुसेन, चाँदतारा कुमारी, हीरा गुरुङ, पुष्पाकुमारी कर्ण कायस्थ, लालप्रसाद साँवा लिम्बु, देवप्रसाद तिमिल्सिना, मैनाकुमारी भण्डारी, प्रकाश रसाइली ‘स्नेही’, तुल्सी थापा, दीपकप्रकाश भट्टले आगामी बजेटले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x