Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगएसियाली खेलकुदको प्रभाव

एसियाली खेलकुदको प्रभाव


काठमाडौं । गत असोज ६ गतेदेखि असोज २१ गतेसम्म चीनमा भएको एसियाली खेलकुदलाई अन्तर्राष्ट्रिय सहकार्यको रूपमा हेर्ने हो भने विश्वमा एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिनिएको छ । यसमा विभिन्न किसिमका खेलकुदहरू दुई हप्ताभन्दा लामो समयसम्म चलेको थियो । यो मेगा–इभेन्टले एसियाभरका खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने खालको थियो । उनीहरूले विभिन्न किसिमका सांस्कृतिक विविधतालाई उजागर गरेको थियो । यस खेलकुदको माध्यमबाट एसियाभरका राष्ट्रहरूको एकतालाई बढावा दिएको थियो । सोही एसियाका ४५ राष्ट्रहरूका १० हजारभन्दा बढी खेलाडीहरूले ४२ वटा खेलकुदहरूमा भाग लिएका थिए । उनीहरूले विभिन्न खेलकुद क्षेत्रमा भाग लिई अनुशासन ढंगले खेलेका थिए । जुन १९ औँ एसियाली खेलकुद मानव उपलब्धि र विश्वव्यापी सद्भावको एक शानदार प्रदर्शन पनि थियो । यस १९औँ एसियाली खेलकुदका मुख्य विशेषताहरू, आयोजक राष्ट्रमा यसको प्रभाव र खेलकुद र कूटनीतिको सन्दर्भमा पनि महत्वपूर्ण भूमिका एकातिर खेलेको छ भने अर्कोतिर कार्यक्रमको बृहत्तर महत्वबारे चर्चा तथा परिचर्चा पनि गरेको छ ।

एसियाको ऐतिहासिक पृष्ठभूमि अवलोकन गर्ने हो भने सन् १९५१ मा भारतको नयाँ दिल्लीमा सुरु भएको एसियाली खेलकुद विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिताको रूपमा विकसित भएको छ । यसर्थ ओलम्पिक खेलपछि मोडेल गरिएको, तिनीहरू खेलकुदमार्फत एसियाली राष्ट्रहरूबीच मित्रता र समझदारी बढाउन स्थापना गरिएको हो । यसरी विगतका वर्षहरूमा, एसियाली खेलकुदले एसियाली समाजहरूको द्रूत विकास र रूपान्तरणलाई प्रतिविम्बित गर्दै स्तर र प्रमुखतामा वृद्धि गरेको छ । तत्कालीन समयमा खेलकुदमा ओलम्पिक खेलबाट प्रेरित भएर एसियाली देशहरूबीच मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयास गरिएको थियो । यो एसियाली खेलकुद प्रत्येक चार/चार वर्षको अन्तरालमा एसियाका विभिन्न देशहरूका बीचमा आयोजना हुने गर्छ । यसरी खेलकुदलाई सरसर्ती हेर्ने हो भने ओलम्पिक खेलपछि विश्वको दोस्रो ठूलो खेलकुद भनेकै एसियाली खेलकुद प्रतियोगिता नै हो । यसरी चार वर्षपछि जापानमा भेट्ने बाचासँगै गत असोज २१ गते चीनको पूर्वी सहर हाङझाउमा आयोजना भएको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) सम्पन्न भएको थियो । जुन प्रतियोगिता २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चलेको थियो । जो चीनले निर्धारित समयभन्दा एक वर्षपछि प्रतियोगिता आयोजना गरिएको थियो ।

सन् २०१८ मा इन्डोनेसियाको जाकार्ताबाट हाङझाउले १९औँ संस्करणको झन्डा बोकेको थियो । यसबीचमा विश्वमै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण चीनले गत वर्ष नै गर्नुपर्ने एसियाड गर्न सकेको थिएन । जसमा आयोजक चीनले कोभिड–१९ पूर्णरूपले निर्मुल नभएको कारण देखाउँदै एक वर्षपछि गर्न ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)सँग आग्रह गरेको थियो । ओसिएले सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गरी हाङझाउलाई २०२३ मा प्रतियोगिता आयोजना गर्न अनुमति दियो । उक्त खेल आयोजना चीनले १९औँ एसियाड आयोजना गर्न थप पाँच वर्ष पाउँदा भव्य आयोजना गर्न सफल भयो । यहाँ सहभागी भएका विदेशी पत्रकार, खेलाडी तथा अफिसियलहरूले १९औँ संस्करणको आयोजना भव्य भएको बताएका छन् । विशेष गरी उद्घाटन र समापन समारोहमा आयोजक चीनले विशेष बनाएको थियो । जुन समापनले चीनले पूरै अत्याधुनिक डिजिटल लाइटको प्रयोग गरेको थियो । यसरी ८० हजार दर्शक क्षमता भएको रंगशालामा कडा सुरक्षा व्यवस्था देखिन्थ्यो । जसमा सर्वसाधारणदेखि विदेशी पत्रकारहरूलाई विभिन्न चरण पार गरी रंगशालामा प्रवेश गराइएको थियो । यस समापनमा आयोजकले स्थानीय संस्कृतिदेखि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरेको थियो ।

चीनको हाङझाउको ओलम्पिक स्टेडियममा आयोजक चीनले १९औँ एसियाली खेलकुदको पदक तालिकामा वर्चश्व कायम गरेको छ । जुन प्रतियोगिताको कुल चार सय ८३ स्वर्णमध्ये चीनले कीर्तिमानी २०१ स्वर्णपदक जितेको छ । जसमा चीनले एकै संस्करणमा सर्वाधिक स्वर्णपदक जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैँले आयोजना गरेको ग्वाङझाव एसियाली खेलकुदमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । अतः गत असोज २१ गते करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हाङचाओमा भएको १९औँ एसियाली खेलकुदको सबै खेलको प्रतिस्पर्धा सम्पन्न भएको थियो । सो खेलमा चीनले २०१ स्वर्णसँगै १११ रजत र ७१ कास्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । त्यस्तैगरी जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रो स्थानमा रह्यो । यसैगरी भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । जसमा ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । हाम्रो देशको कुरा गर्ने हो भने राष्ट्रले सन् २००६ पछि पहिलोपटक दुई पदक जितेको हो ।

फलतः पछिल्ला तीन संस्करणमा नेपाल एक–एक पदकमा सीमित बनेको थियो । हाम्रो देशबाट गएकी कराँते खेलाडी एरिका गुरुङले भने रजत पदक दिलाएकी थिइन । उनले रजत जित्नुअघि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । महिला टोलीले डेब्युमै ऐतिहासिक पदक जितेको थियो । नेपाल पदक तालिकाको ३३औँ स्थानमा रह्यो । सन् २०१८ मा इन्डोनेसियामा भएको १८औँ एसियाडमा पनि नेपाल ३३औँ स्थानमा थियो । यसपटक एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको थियो । जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी थिए । यद्यपि देशले एसियाडमा रजत पदक जित्नुलाई ठूलो उपलब्धिका रूपमा लिइन्छ । यसरी मुलुकले अहिलेसम्म एसियाली खेलकुदमा स्वर्ण पदक जितेको छैन । जुन देश ओलम्पिकमा छनोट हुनु नै ठूलो कुरा बन्ने गर्छ । यसर्थ, देशले एसियाली खेलकुदमा पदक ल्याउने गरी योजना बनाउने कार्य भएको देखिँदैन । यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । जसमा भन्ने हो भने दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्ससँगै यमन र इस्ट टिमोरले भने कुनै पदक जित्न सकेन । त्यसरी नै प्रतियोगितामा चीनकी पौडीवाज युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । जसमा झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औँ एसियाली खेलकुदको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भएका थिए ।

निष्कर्षमा भन्ने नै हो भने एसियाली खेलकुद सुरुमा सन् २०२२ मा हुने भनिएको थियो । तर विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षपछि सारिएको थियो । जुन आयोजकले स्वास्थ्य संकटको बीचमा कार्यक्रमको तयारीमा धेरै कठिनाइ र अनिश्चितताहरूको सामना गर्नुपरेको थियो । यसरी एसियाली खेलकुद चिनियाँ खेलकुद क्यालेन्डरमा एक प्रमुख घटना हुने अपेक्षा गरिएको छ । यसले चिनियाँ खेलाडीहरूलाई आफ्नो प्रतिभा विश्वसामु देखाउन ललयित भएको थियो । यस एसियाडमा कीर्तिमानीरूपमा चीनले सबैभन्दा बढी २०१ स्वर्ण पदक जितेको छ । यो खेल चीनका लागि आफ्नो संस्कृति र सम्पदालाई विश्वसामु प्रवद्र्धन गर्ने अवसर पनि भएको थियो । यसको मुख्य एकता भनेको एसियाली खेलहरूसँग गाँसिएको प्रतिस्पर्धा मात्र होइन, तिनीहरू बीचमा रहेको विविध राष्ट्रहरू बीच एकता र खेलकुदलाई बढावा दिने मञ्च पनि हो । मूलतः एसियाका सबै कुनाका बस्ने खेलाडीहरू प्रतिस्पर्धा गर्न, मित्रता गाँस्न र सांस्कृतिक अवरोधहरू तोड्न एकसाथ हुने अवसर पनि हो । जुन खेलहरूले राजनीतिक, आर्थिक, संस्कृति, धार्मिक र सामाजिक भिन्नताहरू पार गर्न खेलकुदले शक्ति प्रदान गर्ने हुन्छ । जसमा यस खेलकुलको प्रभावले गर्दा पर्यटनमा बढोत्तरी, पूर्वाधार विकास र बढेको अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो भएको छ । जुन विभिन्न देशबाट आउने आगन्तुकहरूको आगमनले स्थानीय अर्थतन्त्रमा योगदान पु-याउने, रोजगारी र व्यापारका अवसरहरू सिर्जना गर्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसरी सन् २०२६ मा हुने २०औँ संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तान्तरण गर्दै १९औं एसियाड समापन भएको थियो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया