Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउन’मा ट्राफिकमैत्री बोर्ड निर्माण कार्य धमाधम हुँदै

‘लकडाउन’मा ट्राफिकमैत्री बोर्ड निर्माण कार्य धमाधम हुँदै


काठमाडौं, जेठ १
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मत कार्य धमाधम गरिरहेको छ । महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा पर्ख, हेर र जाऊ (स्टप, लुक एण्ड गो) लेखिएको संकेत बोर्डहरू दुई सय ५० स्थानमा राखेको जनाएको छ ।

महाशाखाले यस्ता बोर्डहरू शंखमुल, बानेश्वर, कोटेश्वर, थापागाउँ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखेको जानकारी दिएको छ । ट्राफिक प्रहरी र कामदारहरूबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्च सतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । एसएसपी ढकालले सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाऊ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनीकरण गर्न र चालकहरूलाई स्वअनुशासित बनाउन यस्ता संकेत बोर्डहरू राखेको जानकारी दिए ।

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैंकले २०० थान सामाजिक उत्तरदायित्वअन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन् । सडक मर्मत तथा निर्माणका काम पनि धमाधम लकडाउनको समयमा सडक खालि भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमितरूपमा सहकार्य र समन्वय गरेको जनाएको छ ।

हाल सितापाइला–रामकोट, स्वयम्भू अजिमा हलअगाडि, भैसेपाटी–छम्पी, लुभु–लामाटार, चावहिल उकालो, जोरपाटी–वाग्मती कोरिडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

त्यस्तै थलीबाट साँखु, नाम्गेल, जोरपाटी–गुहेश्वरी, खानी विभाग–गल्कोपाखा, चुच्चेपाटी, पुतलीसडक, अष्ट्रेलियन एम्बेसीअगाडि, चावहिल–मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला–तिलगंगा, सेतोपुल–डिल्लीबजार र सेतोपुल–पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, इमाडोल–टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक–देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी–चावहिल सडकखण्डमा मेलम्ची र विद्युत्को कामसमेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी दिए । उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए । ट्राफिक महाशाखा र सडक विभागले काठमाडौँ उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पिच र रोड मार्किङको काम सम्पन्न गरिसकेको जनाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x