Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट प्राथमिकता नफेरिए अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन असम्भव

बजेट प्राथमिकता नफेरिए अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन असम्भव


काठमाडौं, जेठ १
अर्थविद्हरूले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र प्रभावित भएकोले बजेटका प्राथमिकता परिवर्तन नगरे अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन नसकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक संघ (एनईए)ले बुधबार आयोजना गरेको ‘अबको बजेटमा प्रदेश र स्थानीय सरकारको सम्बोधन’ विषयक भिडियो अन्तरक्रिया (वेबिनार)मा प्रादेशिक अर्थमन्त्रीहरू तथा सरोकारवालाले बजेटका परम्परागत प्राथमिकता परिवर्तन नगरी अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन नसक्ने बताएका हुन् ।

प्रदेश अर्थमन्त्रीहरूले आफ्नो प्रदेशको बजेटका प्राथमिकताहरू परिवर्तन हुने र संघीय बजेटले यसलाई दिशानिर्देश गर्नुपर्ने बताए । अर्थशास्त्रीहरूले भने विगतको जस्तो वितरणमुखीभन्दा परिणामुखी र उत्पादन तथा रोजगारी बढाउने बजेट आवश्यक भएकोमा जोड दिए । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कोभिडको प्रभाव कहिलेसम्म लम्बिने भन्ने एकिन नभएकोले अगामी वर्षको बजेट यसै महामारी लक्षित हुनुपर्ने बताए । संघीय सरकारको बजेटमा जनस्वास्थ्य पहिलो प्राथमिकतामा हुनुपर्ने भन्दै उनले प्रदेश सरकारले पनि सोहीअनुरूप काम अगाडि बढाएको बताए ।

यतिबेला भवन बनाउने तथा महंगा गाडी खरिद गर्नेभन्दा पनि अत्यावश्यकबाहेकका अन्य खर्च कटौती गरेर स्वास्थ्यमै बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले रोजगारी सिर्जनालाई ध्यान दिएर संघ, प्रदेश र स्थानीय सरकारलाई जोड्नुपर्ने बताए । उनले पैसा अनुदान दिन रोकेर सहुलियत ऋणमा जोड दिनुपर्ने बताए । आपूर्ति व्यवस्था सुदृढ गर्दै रोग र भोकबाट बचाउने गरी बजेट निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले अबको बजेट प्रतिफल देखिने मेगा परियोजनामा केन्द्रित हुनुपर्ने बताए । उनका अनुसार कृषि, सिँचाइले रोजगारी दिने र विकास पनि हुने भएकाले यसमा जोड दिइनुपर्छ । यस्तै, साना परियोजना पनि रोजगारी सिर्जना गर्न उपयुक्त हुने उनको तर्क छ । अबका परियोजना छनोटमा प्रदेश र स्थानीय सरकार दुवैले अपनत्व लिनुपर्ने उल्लेख गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशमा विदेशी दाताहरू सहयोग गर्न तयार रहे पनि संघले रोकिदिएका कारण आफूहरूले त्यो अवसर नपाएको गुनासो गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले कोभिडले चुनौती थपे पनि अवसर पनि ल्याएको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । कुनकुन क्षेत्रमा कति असर भयो भन्नेमा संघले नेतृत्व गर्ने प्रदेश र स्थानीय सरकारले त्यसमा समन्वय गनुपर्ने उनको भनाइ छ । रिलिफ, रेसिस्टेन्स र रिह्याबिटेसन गर्ने खालको कार्यक्रम आउनुपर्ने उल्लेख गरे । बोहोराले भारतबाट आयात हुने मेसिनरी, कच्चा पदार्थ, पाटपुर्जालाई भन्सारदर र भ्याटमा छटु दिनुपर्ने बताए । भारतले जस्तै रिह्याबिटेसन प्याकेज नल्याएमा अर्थतन्त्र रिकभर हुन नसक्ने बताए ।

आगामी वर्षको बजेटमा कर्पाेरेट कर, भन्सार, आयकरलगायतमा केही छुट दिएर अर्थतन्त्र चयालमान बनाउने, रोजगारी सिर्जना गर्ने, उत्पादकत्वसँग अन्तरआबद्धता गराउने बजेट ल्याउनुपर्ने बताए । अहिलेको अवस्थामा विशिष्टीकृत बैंकको अवधारणा बजेटले ल्याउनुपर्ने उल्लेख गर्दै उनले कृषिमा मात्रै लागनी गर्ने, उत्पादनमा मात्रै लगानी गर्ने, पूर्वाधारमा मात्रै जस्तो खालको बैंक अवको आवश्यकता भएकोे औंल्याए । आगामी वर्षको बजेटमार्फत केन्द्र सरकार र नेपाल राष्ट्र बैंकले रिफाइनान्सिङ गरी मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशमा जोड दिन पनि आग्रह गरे । सुदूरपश्चिम प्रदेशले कृषि, सामाजिक क्षेत्र, उद्योग र पर्यटनलाई रेस्क्यु गरेर अगाडि जाने बजेटको प्राथमिकता निर्धारण गरेको उनले जानकारी दिए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले चालू वर्षमा पनि पुँजीगत खर्चको अवस्था निकै नाजुक रहेकोले अब आयोजनाहरूको पुनः वर्गीकरण गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘एकातर्फ स्रोत व्यवस्थापनको चाप छ भने अर्काेतर्फ बजेट अनुपात्पदक क्षेत्रमा खर्च हुँदै आएको छ । यसलाई कटौती गरेर कोभिडका प्रभाव कम गर्नमा खर्च गर्नुपर्छ ।’ मन्त्री आङ्बोले संघीय सरकारमा बढी समस्या रहेको भन्दै समानान्तर खालका परियोजना बनाएर केन्द्रदेखि स्थानीय तहसम्म संघले नै काम गरेको आरोप समेत लगाए । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्नुपर्ने भन्दै तत्कालीन समयमा स्थानीय तहमा जनप्रनिधि नभएको बेला उक्त व्यवस्था ठीक भए पनि अहिले आवश्यक नभएको बताए ।

नेपाल आर्थिक संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकु-यालले समग्र अर्थतन्त्रको अवस्था चित्रण गर्दै यस महामारीमा अर्थतन्त्रले भोगेको कष्टलाई कसरी मिलाएर लैजाने भन्ने चुनौती रहेको बताए । हरेक जटिल अवस्थाले नयाँ कुरा सिकाउने बताउँदै अब अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । अहिलेको अवस्थामा अर्थतन्त्रलाई माथि उकास्न भी–सेपको मोडालिटीमा जानुपर्नेमा जोड दिए । साना तथा मझौता उद्योगमा झण्डै १७ लाख रोजगारी रहेको अर्थतन्त्रमा २२ प्रतिशत योगदान दिए पनि चार खर्बभन्दा धेरै ऋणमा परेको यस क्षेत्रलाई माथि उकास्ने प्याकेज सरकारले ल्याउनुपर्ने उनले बताए । उनले स्वाथ्य, रोजगारी, आयोजनाको पुन:प्राथमिकीकरण, कृषिमा व्यवसायीकरणजस्ता कुरामा ध्यान दिन सुझाए ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले विलासिताका सामान आयातमा रोक लगाउनुपर्ने बताए । पर्यटन, उद्योग र व्यापार तथा सेवा क्षेत्रमा ध्यान दिएर आन्तरिक आम्दानी बढाउन तथा कृषिमा जोड दिन आग्रह गरे । समन्वयको कमीले गर्दा संघ प्रदेश र स्थानीय सरकारको समन्वयम हुन नसक्दा प्रशासनिक खर्च बढेको उनले बताए । निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज नभएसम्म विकासमा पारदर्शिता नहुने र व्यक्तिका माध्यमबाट विकास गर्न खोज्ने हो भने तीन तहको सरकार बलियो नहुने उनले बताए । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले कामको आधारमा बजेट वितरण गरिनुपर्नेमा जोड दिए । संघ, प्रदेश र स्थानीय सरकाले आफ्नो भूमिका चिन्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन सुझाए । बेरोजगार घटाउने, उत्पादन बढाउने र जे कुरामा सम्भावना छ त्यसमा ध्यान दिएर आदेशात्मकभन्दा उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

अर्थशास्त्री प्रा.डा. गोविन्द नेपालले लकडाउनका कारण सामाजिक तथा आर्थिकरूपमा नकारात्मक असर परेकोले डायनामिक योजना ल्याउनुपर्ने बताए । रोजगारी सिर्जना तथा नयाँ तरिकाको वैकल्पिक शिक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारको वजेटमा प्राथमकिता एउटै दिशातर्फ जानुपर्ने तथा आगामी वर्षको बजेटले दीर्घकालीन योजनाभन्दा पनि तत्काल रिकभर कसरी गर्ने भन्नेमा जोड दिनुपर्ने उनले बताए ।

अर्थशास्त्री केशव आचार्यले तीन तहको सरकार आएपछि पुँजीगत खर्चमा सुधार होला भन्ने अनुमान गरिए पनि सुधार हुन नसकेको बताए । उनले भने, ‘जसले कर तिरेको छ उसलाई मात्र भार बढाउने काम भएको छ, भएका व्यवसायीलाई भारतको भन्दा केही कम करको दर निर्धारण हुनुपपर्छ । सहजीकरण नभएमा बैदेशिक मात्रै होइन आन्तरिक लगानी पनि आउँदैन ।’ अर्थशास्त्री डा. पोषराज पाण्डेले अहिलेको स्थिति समान्य नभएकोले बजेटका प्राथिमकता फरक हुनुपर्ने बताए ।

अहिले परम्परागत बजेटभन्दा स्मार्ट बजेट ल्याउनुपर्ने बताए । उनले भने, ‘कोभिडलाई पहिलो प्राथमिकता दिनुपर्छ । अहिले हामी पज बटम थिचेको अवस्थामा छौँ, भोलि अवस्था अर्कै हुन्छ । हेल्थ सिस्टम सुधार हुनपर्छ । त्यसका लागि पूर्वाधार निर्माण हुनपर्छ । अहिले तत्काल बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने बजेट व्यवस्था गर्नुपर्छ । मेडिकल उपकरण, मास्कजस्ता कुरामा विशेष ध्यान दिनुपर्छ ।’ उनले लगानी भित्र्याउनका लागि प्रदेश र स्थानीय तहले उचित वातावरण बनाउनुपर्ने बताए । जेठ १५ मा संघीय बजेट आएसँगै असार पहिलो साता प्रदेश सरकारहरूले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x