Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘ट्रेसिङलाई प्रभावकारी बनाउँदै लाखौँको परीक्षण गरौँ’

‘ट्रेसिङलाई प्रभावकारी बनाउँदै लाखौँको परीक्षण गरौँ’


काठमाडौं,जेठ २
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ट्रेसिङलाई प्रभावकारी बनाउँदै लाखौँको परीक्षण गर्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । मंगलबार एकैदिन ८३ जनालाई कोरोना संक्रमण देखिएपछि केही सामान्य हुन खोजिरहेको जनजीवन फेरि सन्त्रासमा रुमल्लिएको छ । स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई समेत संक्रमण देखिएपछि अझ सचेत हुनुपर्ने अवस्था आएको छ । अहिले दैनिकरूपमा संक्रमित बढिरहेका छन । भारतमा दैनिक सयौँ मानिसहरूको निधन भइरहेको र तीन हजारबढी संक्रमित भइरहेको अवस्थामा तयारी नपुगे नेपालको स्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै सरकारलाई सचेत गराएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा परिक्षण एकदमै कम भइरहेको र यही अवस्थामा रहे नेपालमा कोरोना संक्रमण थाहै नपाई व्यापकरूपमा फैलनसक्ने बताए । पछिल्लो समय भारतबाट नेपाल छिरेका सबै नागरिकको व्यापकरूपमा परीक्षण गर्नुपर्ने, दूरदराजमा रहेका नागरिकलाई समेत परिक्षणको दायरामा ल्याउनुपर्ने डा. सुवेदीले बताए । उनले भने, ‘पहँुच भएका र क्वारेन्टाइनमा भएकालाई मात्र हैन, भारतबाट नेपाल छिरेका अधिकांश व्यक्ति र उनीहरूको ट्रेसिङ गरी सबैलाई परीक्षणको दायरामा ल्याउनु पर्दछ ।’

यसैगरी त्रिवि शिक्षण अस्पताल इमर्जेन्सी विभागका डा. रमेश महर्जनले अहिले ट्रेसिङको काम सुस्त गतिमा भएको र यसलाई तुरुन्त बढाउनुपर्ने बताए । सजिलै एकबाट दर्जनौमा सर्ने भएकोले व्यक्तिगतरूपमा पनि सचेत हुनुपर्ने डा. महर्जनको भनाइ छ । सर्वसाधारणको लागि सर्भिलेन्स र टे«सिङ एपहरूको प्रयोग बढाउनुपर्नेमा महर्जनले जोड दिए । डा. उदय कोइरालाले अहिले सबै मिलेर, सहकार्य गरेर कोरोनालाई लकडाउन गर्नुपर्ने बताए । कोरोनालाई लकडाउन गर्नसकेमा मात्र देशलाई धेरै समय लकडाउन गर्नुनपर्ने उनको भनाइ छ । अहिलेसम्म देशमा २२ हजारको हाराहारीमा पीसीआरमार्फत परीक्षण गरिएको छ । आरडीटी टेस्ट गरिएको संख्या ६० हजार बढिरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । लकडाउनसँगै नेपाल भित्रिएका व्यक्तिहरू नै ४० हजारबढी रहको अनुमान गरिएको छ । भित्रिएका व्यत्तिहरूको पूर्ण विवरण र डिजिटल डाटा तयार गरिएको छैन । पछिल्लो समय पनि भारतबाट लुकिछिपी नेपाल भित्रने व्यक्तिहरू बढिरहेको अवस्था छ । काठमांडौमा लकडाउन खुकुलो भएको केही दिनमा नै तीन व्यक्तिहरू संक्रमित भेटिएपछि सरकारले परीक्षण बढाउने बताएको छ । यस हप्ता चीन सरकारले उपलब्ध गराएको ४० हजार पीसीआर किट, स्विस सरकारले उपलब्ध गराएको किट उपलब्ध भएको कारण परीक्षण बढ्ने आशा गरिएको छ ।

सरकारले खरिद गर्ने भनिएको स्वास्थ्य सामग्री ल्याउने तयारी भइरेको स्वास्थ मन्त्रालयले जनाएको छ । लकडाउनको परिस्थितिले अब स्वास्थ्य क्षेत्रलाई सुधार गर्नुपर्ने सरोकारवालाहरूको जोड छ । हरेक जिल्ला र क्षेत्रमा प्रभावकारी मोनिटरिङ र डिजिटल डेटा म्यानेजमेन्टमा काम गर्नुपर्ने धेरैको बुझाइ छ । अहिले स्थानीय निकायले प्रभावकारी काम गर्नसक्ने भन्दै स्थानीय निकायलाई मनोबल बढाउदै, क्वारेन्टनइनको व्यवस्था गर्ने, ट्रेसिङ गर्ने र शंकास्पद सबैलाई परीक्षणको दायरमा ल्याउनुपर्ने कर्णाली प्रदेशका जनस्वास्थकर्मी रामहरी अधिकारीले बताए । डा. सुवास प्याकुरेलले प्रविधिलाई उच्च प्राथमिकतामा राखेर स्थानीय निकायलाइ परिचालन गर्नसके ट्रेसिङ सजिलो र प्रभावकारी हुने बताए । अहिले नेपालमा सरकारले केहि दिनअघि सार्वजनिक गरेको कोभिड एनपी ट्रेसिङ एप प्रयोगमा रहेको छ । यो एप प्रयोग गरेर स्वपरीक्षण गर्ने दुई सयको हाराहारीमा रहेका छन् । यसले ब्लुटुथमार्फत संक्रमितको ट्रेसिङ गर्न पनि सहयोग गर्नेछ । यसैगरी स्वास्थ मन्त्रालयले हाम्रो स्वास्थ नामक एप्लिकेशन र कल सेन्टर सञ्चालन गरिरहेको छ । हाम्रो स्वास्थमा अहिलेसम्म ३५ हजार सात सयले फारम भर्दै स्वपरीक्षणमा सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिका र अन्य काठमाडौं क्षेत्रका स्थानीय निकायले एनसेललगायतको सहकार्यमा तयार भएको कोभिड सर्भिलेन्स एपको प्रयोग गरिरहेका छन् । यसैगरी भरतपुर, वीरगञ्जलगायतका केही स्थानीय निकायले स्मार्टपालिकाले विकास गरेको क्वारेन्टाइन ट्रेसिङ एप प्रयोग गरिरहेका छन् । त्यसैगरी प्रदेश ५ ले डिजिटल डाटा म्यानेजमेन्ट, नेपाल ट्रेस नामक ट्रेसिङ एपको पनि प्रयोग गरिरहेको छ । यी विभिन्न एपहरूमा शंकास्पद बिरामीको विवरण लिएर परिक्षणको दायरमा ल्याउने काम भइरहेको सम्बन्धित निकायले जानकारी दिएका छन् । विभिन्न निकाय र सस्थाले सञ्चालन गरेका यस्ता दर्जनौँ स्वपरीक्षण र ट्रेसिङ एपलाई एकीकृतरूपमा डाटा एनालाइसिस र म्यानेजमेन्टमा ध्यान दिँदै प्रभावकारी बनाउन आवश्यक छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x