Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाम उद्योग धराशायी : पाम आयल निर्यातमा भारतद्वारा फेरि प्रतिबन्ध

पाम उद्योग धराशायी : पाम आयल निर्यातमा भारतद्वारा फेरि प्रतिबन्ध


विराटनगर,जेठ २
भारत सरकारले नेपालबाट हुने पाम आयलको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनमा पनि अर्बौं रूपैयाँको पाम आयल निकासी गर्दै आएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरू भारत सरकारको उक्त निर्णयसँगै समस्यामा परेका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरबाट सञ्चालन हुँदै आएका पाम आयल उत्पादन गर्ने छवटा उद्योगहरू भारतले नेपालबाट निर्यात हुने पाम तेलमा पुनः प्रतिबन्ध लगाएपछि अब बन्द हुने अवस्थामा पुगेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन रहेका पाम आयल उद्योगहरूले साफ्टा सुविधाअन्तर्गत नेपालबाट आयात हुने ठूलो परिमाणको प्रशोधित पाम तेलमा भारत सरकारले रोक लगाएको क्वालीटी रिफाइनरी आयलका सञ्चालक एवं उद्योग संगठन मोरङका सदस्य विपिन कावराले जानकारी दिए ।

गत सोमबार मे ११ तारिकका दिन भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी)ले एक सूचना प्रकाशित गर्दै नेपालबाट पैठारी गरिने पाम तेलमा रोक लगाइएको जनाएको छ । विभिन्न मुलुकबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइने गरिएको थियो । गत माघ २४ पछि भारतमा पाम तेल पैठारीका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन भारतको वैदेशिक व्यापार महानिर्देशनालयले खारेज गरेको उद्योगी कावराले बताए ।

नेपालबाट सन् २०१८ मा एक लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै २०१९ मा पैठारी हिस्सा अघिल्लो वर्षभन्दा तीन सय १४ प्रतिशतले बढेको उनले कावराले जानकारी दिए । गत पुस २२ गते भारत सरकारले नेपालमा हुने प्रशोधित पाम तेलको निर्यात रोक्ने निर्णय गरेको थियो । तर, त्यसबेला भारत सरकारको व्यापक आलोचना भएपछि एक महिना पनि नपुग्दै भारतले नेपालबाट आम आयलको निर्यात पुनः खुल्ला गरेको थियो । अहिले नेपाललगायत विश्वका सवै देश कोरोना भाइरसका कारण लकडाउनमा भएको मौका छोपी भारत सरकारले एकपक्षीय ढंगबाट पाम आयल निकासीमा रोक लगाएको हो । भारतीय बजारमा पाम आयल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नुपरेको भारत सरकारले जनाएको छ ।

भारतको प्रतिबन्धका कारण अर्बौँ रूपैयाँबराबरको लगानी जोखिममा परेको पाम उद्योगी एवं व्यवसायीको गुनासो रहेको छ । भारतले पछिल्लो पटक निकासी खुला गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगहरूले कच्चा पदार्थको आयात हुत्तै बढाएका थिए । तर, एक्कासी पुनः प्रतिबन्ध लगाएपछि यो लकडाउनका कारण धरासायी बनेका उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । चालू आर्थिक वर्षको गत फागुनसम्ममा कुल १५ अर्ब ३५ करोड रूपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x