Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनीति तथा कार्यक्रममा कांग्रेसले संशोधन हाल्ने

नीति तथा कार्यक्रममा कांग्रेसले संशोधन हाल्ने


काठमाडौं, जेठ ४
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत २०७७/७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोसा पनि दिलाउन नसकेको निष्कर्ष निकाल्दै संशोधन पेश गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको बैठकले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथाम, न्यूनीकरण र सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्नुपर्ने निर्णय गरेको छ । यसैबीच, विपक्षी दलहरुले सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको बताएका छन् । साथै उनीहरुले कार्यक्रमलाई सङ्घीयता विपरीत रहेको तथा कोभिड–१९ बाट उत्पन्न सङ्कट र चुनौतीको सम्बोधन गर्ने ठोस योजना केन्द्रित नभएको पनि बताएका छन् ।

नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै ढङ्गबाट खण्डकाव्यका रुपमा आएको नीति तथा कार्यक्रमले मुलुकको अहिलेको चुनौतीको सामना गर्न नसक्ने जिकिर गरे । ‘यो खण्डकाव्यका रुपमा रह्यो, यति लामो कहिल्यै आएको थिएन, पुरानै ढङ्गबाट आयो, नयाँ कुरा केही छैन’, सभापति देउवाले भने ।

समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोनाले विश्वव्यापीरुपमै आर्थिक सङ्कट ल्याएको अहिलेको विशिष्ट परिस्थितिमा नेपालको अर्थतन्त्र करिब तहसनहस नै हुने अवस्था रहेका बेला आउने कार्यक्रम विशिष्ट प्रकृतिको हुनुपर्नेमा त्यस्तो नभएकामा विरोध गरे । “परम्परावादी ढङ्गले यो पनि, त्यो पनि गर्छु भनेर कार्यक्रम ल्याइएको छ, सुन्दा राम्रो लागे पनि विशिष्ट अवस्थामा त्यो असम्भव छ, सङ्घीयतको मर्म विपरीत छ, झुठको पुलिन्दाजस्तो आएको छ, यो निराशाजनक छ’, डा. भट्टराईले भने । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपालको इतिहासमा लामो कर्मकाण्डी नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए । ‘सङ्कट एकतातिर छ, कुरा अर्काेतिर छ, नयाँ पन केही छैन’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x