Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइजरायल–हमासबीचको युद्ध रोकिने, बन्धक छुटाउन हमाससँग युद्धविरामको सम्झौता

इजरायल–हमासबीचको युद्ध रोकिने, बन्धक छुटाउन हमाससँग युद्धविरामको सम्झौता


काठमाडौं । इजरायल र हमास केही समयका लागि युद्धविराम गर्ने भएका छन् । कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा युद्धविराम’ गर्न सहमत भएका हुन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ ।

हमासले नेपालका विपिन जोशीसहित करिब २४० जनालाई बन्धक बनाएको छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ । सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले इजरायली जेलमा रहेका महिला र बालबालिका छाड्ने सहमति भएको छ । कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।

इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि चार जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनः हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् । उनले बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ‘ठूलो लक्ष्य’ भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने बताएका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ भने इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । एजेन्सी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया