Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले भन्यो– मूल्यवृद्धि बढ्यो

राष्ट्र बैंकले भन्यो– मूल्यवृद्धि बढ्यो


काठमाडौं, जेठ ५
लकडाउनको कारण अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको चैतमा खाद्य तथा पेय पदार्थ तथा सेवामा मूल्यवृद्धि भएको छ भने निर्माण सामग्रीको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ साल चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७४ प्रतिशत पुगेको छ । उक्त मुद्रास्फीति अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा धेरै बढी हो ।

लकडाउनको कारण विश्वभर मूल्यवृद्धि भएको कारण नेपालमा पनि त्यसको असर देखिएको हो । अघिल्लो आर्थिक वर्षको चैत महिनामा मूल्यवृद्धि चार दशमलव ४४ प्रतिशत मात्र थियो । चैत महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ९ दशमलव ६८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि चार दशमलव ४८ प्रतिशत रहेको छ ।

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । राष्ट्र बैंकका अनुसार चैतमा काठमाडौं उपत्यकामा ७ दशमलव १९ प्रतिशत, तराईमा ७ दशमलव शून्य चार प्रतिशत, पहाडमा ५ दशमलव ८४ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मूल्यवृद्धि छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४ दशमलव ७४ प्रतिशत, ३ दशमलव ९५ प्रतिशत, ४ दशमलव ८० प्रतिशत र ६ दशमलव २० प्रतिशत मूल्यवृद्धि रहेको छ ।

२०७६ चैतमा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ७ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि चार दशमलव ३८ प्रतिशत रहेको थियो । चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८ दशमलव २० प्रतिशत, ८ दशमलव ४७ प्रतिशत र २ दशमलव ७५ प्रतिशत रहेको छ । चैत महिनामा निर्माण सामग्रीको थोक मूल्य ३ दशमलव ७६ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि रहनेछ । केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान पनि त्यही छ । कोभिड–१९ को प्रभावका कारण समीक्षा वर्षमा आर्थिक वृद्धि न्यून रहने देखिएको हो । कोभिड–१९ को प्रभावका कारण खानी तथा उत्खनन, उत्पादन, निर्माण, होटेल तथा रेष्टुरेन्ट एवम् यातायात उपक्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धि २.६ प्रतिशत, उद्योग क्षेत्रको ३.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि २.० प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६ प्रतिशत, १४.३ प्रतिशत र ५८.१ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०७६/०७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत रहने अनुमान छ । यसैगरी कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८.१ प्रतिशत, कुल पुँजी निर्माण ५०.२ प्रतिशत र कुल राष्ट्रिय बचत ४६ प्रतिशत रहने अनुमान छ । प्रदेशगत रुपमा हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी ४.१ प्रतिशत र वाग्मती प्रदेशको सबैभन्दा कम १.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३५.८ प्रतिशत एवम् कर्णाली प्रदेशको सबैभन्दा न्यून ४.३ प्रतिशत रहने अनुमान छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x