Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्गा प्रसाईंविरुद्ध बन्दी प्रत्यक्षीकरणको दायर रिट पुन: फिर्ताको माग

दुर्गा प्रसाईंविरुद्ध बन्दी प्रत्यक्षीकरणको दायर रिट पुन: फिर्ताको माग


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै रिट दायर गरेका उनकै समर्थक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त रिट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा पुन:निवेदन दर्ता गराएका छन् । प्रहरीले नजरबन्धमा राखेको भन्दै दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता भण्डारीले पुन:रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए । रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ । सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।

गणतन्त्र उट्याउने दाबी गर्दै दुर्गा प्रसाईंले मंसिर ७ मा बल्खुमा ठूला दलहरूलाई नै चुनौती दिनेगरी थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ अहिले सेलाएको छ । तीनकुनेमा एमालेनिकट युवा संघको जनप्रदर्शनलाई समेत ओझेलमा पार्ने गरी प्रसाईंले बल्खुमा आन्दोलनको सुरुआत गरेका थिए । उनले अब दिनहुँ काठमाडौंमा जनप्रदर्शन हुने घोषणा गरेका थिए ।

पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुनेमा गर्ने भनिएको जनप्रदर्शन सफल भएन । त्यसदिन भक्तपुरस्थित प्रसाईंको घर वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सोही विषयलाई लिएर सुरक्षाकर्मीले प्रसाईंलाई भक्तपुरस्थित निवासमा नजरबन्द गरेको भन्दै प्रसाईंको तर्फबाट अधिवक्ता भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलाई विपक्षी बनाइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया