Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगृहिणीको जीवनशैली सीपले बदलियो

गृहिणीको जीवनशैली सीपले बदलियो


ढोरपाटन (बागलुङ) । आर्थिक वर्ष २०७८/७९ मा गलकोट नगरपालिकाले गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले ४५ दिन २० जना गृहिणीलाई स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणीहरु बताउँछन् ।

अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । उनीहरुले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् ।

संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताइन् । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले बताइन् ।

गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गरी गुजारा चलाउने अहिले उनी आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छिन् । उनीसँगै नरेठाँटीका सातजना महिला उद्योग सञ्चालनमा आएपछि आफूहरुले अरुको काम गर्नु नपरेको बताउँछन् ।

कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनको भनाइ छ् ।

युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाए ।

व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पु-याउन नसकेको खड्काथोकीले जानकारी गराइन । यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरिन् ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो ।

प्रवक्ता भण्डारीले यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए । नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया