सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना
बारा। बारास्थित सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले रिफ्युलिङ सेन्टरको स्थापना गरेको हो । रिफ्युलिङ सेन्टरको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन । रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलकारूपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । काठमाडौंमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाको अन्त्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
काठमाडौंबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ । रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ । रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका दुईवटा रिफ्युलर तथा नौ किलोलिटरको ‘डिस्पेन्सर’को व्यवस्था गरेको छ । सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइने छ । निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाइ इन्धन ल्याउने गरेको छ ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थलमा सेवा सुरु गरिएको बताए । निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ । यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौंसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने बताइएको छ । सेवा विस्तारले जहाजको लोड क्षमता व्यवस्थापन गर्न तथा त्रिभुवन विमानस्थलको चाप घटाउन समेत सहयोग पुग्नेछ । अहिले दैनिक नौवटा उडान तथा अवतरण हुँदै आएको सिमरा विमानस्थलबाट करिब नौ सयदेखि एक हजार यात्रुले सेवा लिँदै आएका छन् ।
कार्यक्रममा मन्त्री रिजालले व्यावसायिक संस्थाका रूपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराएको बताए । यस्तै, उनले औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि पाँच सयदेखि एक हजार किलोग्राम क्षमताका सिलिन्डरको व्यवस्था गर्न प्रयास गरिरहेको जानकारी दिए । यसबाट व्यावसायिक प्रयोजनको ग्यासमा अनुदान घटाएर नोक्सानी कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया