Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडाक्टरसहित थप २७ जनामा संक्रमण

डाक्टरसहित थप २७ जनामा संक्रमण


काठमाडौं, जेठ ७
नेपालमा कोरोना संक्रमितको संख्या धमाधम बढ्न थालेको छ । मंगलबार मात्र २७ जनामा कोभिड–१९ को सङ्क्रमण देखा परेको छ । ती २७ जना मध्ये एकजना ललितपुरको डाक्टर पनि रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिइको जानकारी अनुसार आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको बताए ।

देवकोटाका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो । २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या चार सय दुई जना पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको छ । मंगलबार देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् ।

प्रवक्ता डा. देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट ट्रेसिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ । मंगलबार कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किएका छन् । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।

प्रदेश नं २ मा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि : प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा भित्रिने प्रदेशवासीलाई क्वारेन्टिन गर्नका लागि थप क्वारेन्टिन निर्माण तथा क्षमतामा वृद्धि गर्नेतर्फ केन्द्रित भएको छ । यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको र भारतमा रहेका यस प्रदेशका मजदूर, अध्ययन गर्ने विद्यार्थी र व्यवसायी लगायतका व्यक्तिहरू ठूलो सङ्ख्यामा सीमावर्ती क्षेत्रमा आएको र अहिले पनि आउने क्रम जारी रहेकाले उनीहरूलाई व्यवस्थित ढङ्गले क्वारेन्टिन गर्नुपर्ने भएकाले क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएकाले केन्द्रित भएको हो ।

यस प्रदेशमा यतिखेर १८१ वटा क्वारेन्टिन छ । यसको क्षमता पाँच हजार ६९७ श्ययाको छ । ती क्वारेन्टिनमा अहिले तीन हजार ३६२ जना बसेका छन् । शुरुको अवधिमा चैतको दोस्रो सातामा मात्र ८६ वटा क्वारेन्टिइन थियो । समयको मागलाई ध्यानमा राखी प्रदेश सरकारको समन्वय तथा सहयोगमा स्थानीय तहरूमा क्वारेन्टिनको सङ्ख्याका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्दै सो सङ्ख्याको क्वारेन्टिन सञ्चालित अवस्थामा छन् ।

यस प्रदेशको १८१ वटा क्वारेन्टिनमध्ये सप्तरी जिल्लामा एक हजार ४५ श्ययाको ३६ वटा क्वारेन्टाइनमा ६९८, सिरहामा ८११ श्ययाको २४ वटा क्वारेन्टिनमा ४०३, धनुषामा ४३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ३०७ र महोत्तरीमा ६४८ श्ययाको १९ वटा क्वारेन्टाइनमा ४२१ जना बसेका छन् । त्यस्तै, सर्लाहीमा ६४१ श्ययाको ३७ वटा क्वारेन्टिनमा २७८ जना, रौतहटमा ७९५ श्ययाको १९ वटा क्वारेन्टिनमा ४९१, बारामा ६३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ४११ र पर्सामा ६८१ श्ययाको १९ वटा क्वारेन्टिनमा ३९३ जना बसेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार क्वारेन्टिनको निर्माण गरिरहेको भए पनि एक्कासि ठूलो सङ्ख्यामा भारतबाट भित्रिएको अवस्थामा व्यवस्थापन गर्नका लागि सीमावर्ती क्षेत्रमा गुणात्मक रूपमा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएको छ । गर्मी र वर्षाबाट राहत हुने खालको क्वारेन्टिन स्थल हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठनले क्वारेन्टिनका लागि निर्धारित गरेका मापदण्डका आधारमा निर्माण हुनुपर्ने सम्बन्धमा प्रदेशका कतिपय बुद्धिजीवीको सुझाव रहेको छ । समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पटक–पटक क्वारेन्टिनको सम्बन्धमा गुनासाहरू आइरहेको र क्वारेन्टिनको अनुगमन गर्न गठित समितिलाई आह्वानसमेत गर्नुभएको बताउनुहुन्छ ।

क्वारेन्टिनमा रहेका व्यक्ति वा कोरोनाबाट सङ्क्रमणको आशङ्का देखिएमा त्यस्ता व्यक्तिलाई आइसोलेशनमा राखिने गरिन्छ । यस प्रदेशमा अहिले ४३२ श्यया आइसोलेशन रहेको छ । सोमध्ये सप्तरीमा ६७ श्ययाको आइसोलेशनमा अहिले एक, सिरहामा ४८ श्ययाको आइसोलेशनमा एक र धनुषाको ४० श्ययामा आठजना बसेका छन् । महोत्तरीको ३७, सर्लाहीमा १५ र ४६ वटा आइसोलेशन श्यया छन् । यी तीनवटै जिल्लाको आइसोलेशनमा अहिले कोही रहेका छैनन् भने मन्त्रालयले जनाएको छ । रौतहटको ५० श्ययाको आइसोलेशनमा १० र पर्साको १२९ श्ययाको आइसोलेशनमा ९६ जना बसेका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुग्यो : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । यसअघि, यस प्रदेशमा कोरोना सङ्क्रमित १३१ रहेकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार राति कोरोनासम्बन्धी जारी गरिएको विज्ञप्तिमा धनुषामा दुईजना सङ्क्रमित पुष्टि गरेपछि सो सङ्ख्या पुगेको हो ।

प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले दुवै सङ्क्रमित धनुषाको नगराइन नगरपालिको गङ्गुलीस्थित प्रादेशिक क्वारेन्टिनमा रहेको जानकारी गराउनुभयो । दुवै जना जनकपुर उपमहानगरपालिकाका बासिन्दा हुन् । एकजना जनकपुर–६ बस्ने ४५ वर्षीय पुरुष र अर्को जनकपुर–२१ बस्ने २१ वर्षीय युवक हुन् । दुवै जना भारतको विहार राज्यबाट जेठ १ गते सो क्वारेन्टिइनमा आएको थियो । उनीहरूको जेठ २ गते स्वाबको नमूना सङ्कलन गरिएको राससले समाचारमा जनाएको छ ।

काठमाडौंका एक सय ९१ पत्रकारको पीसीआर परीक्षण : काठमाडौं, जेठ ६ । काठमाडौंमा कार्यरत पत्रकारहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । महासंघको केन्द्रीय कार्यालयमा मंगलबार एक सय ९१ जना पत्रकारको मंगलबार कोरोना परीक्षण गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको समन्वयमा राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न अनलाइनमा कार्यरत सञ्चारकर्मीमा परीक्षण गरिएको छ ।

महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईँका अनुसार स्वास्थ्य मन्त्रालय मातहतको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको स्वास्थ्य टोलीले पत्रकारको स्वाब सङ्कलन गरेको हो । टोलीले मङ्गलबार काउन्सिलका पदाधिकारी र कर्मचारीको परीक्षण गरेको थियो । स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले पत्रकारहरूको साझा संस्थाका माध्यमबाट पत्रकारहरूको परीक्षण गराइएको बताए ।

पीसीआर विधिबाट कोरोना परीक्षण गरिएपछि महासङ्घका महासचिव रमेश विष्टले कोरोना महामारीका समयमा अग्रमोर्चामा रहेर खटिरहेका सञ्चारकर्मीमध्ये पहिलो चरणमा परीक्षण गरिएको र आवश्यकतानुसार पछि पनि गरिने बताएका थिए । मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान)का अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाइरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अति नै संवेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । बुधबार वा बिहीबारसम्म सबैको रिपोर्ट आउने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x