Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफर्निचर तथा फर्निसिङ व्यवसायलाई धराशायी हुनबाट जोगाउन आग्रह

फर्निचर तथा फर्निसिङ व्यवसायलाई धराशायी हुनबाट जोगाउन आग्रह


काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायमा आबद्ध व्यवसायीहरूले यस क्षेत्रलाई धराशायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औँ वार्षिक साधारणसभामा सहभागीहरूले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धराशायी अवस्थामा पुगेको बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ–काठ तथा काठजन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गरे । काठजन्य वस्तुको लिलामी प्रक्रियामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माण गर्न उनले माग गरे । व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटकपटक आह्वान गर्दा समेत सरकारले नीतिनिर्माणमा ध्यान नदिएको उनको गुनासो छ ।

प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामाग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा पुगे पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले बताए । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन सरकारलाई आग्रह गरे । काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध भए पनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भरपर्ने अवस्था बनेको उनले बताए ।

यस्तै, उनले हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्न आग्रह गरे । पछिल्लो समयमा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने क्रम बढेको उनले बताए । उनले यसको नियमन गर्नुपर्नेमा जोड दिए । हाल देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र फर्निचर तथा फर्निसिङ व्यवसाय समेत घट्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ । फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया