Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअसई विक हत्या प्रकरण: सांसद महतोलाई सफाइ, सात जनालाई जन्मकैद

असई विक हत्या प्रकरण: सांसद महतोलाई सफाइ, सात जनालाई जन्मकैद


महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या गरेको आरोप लागेका प्रतिनिधिसभामा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बिहीबार सफाइ दिएको हो ।

अदालतले विकको हत्याको आरोपमा मुद्दा दायर गरिएका २८ जनामध्ये सांसद कोइरीसहित पवन कापरले पनि सफाइ पाएका छन् । यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ । यसअघि २०७४ मा पनि शर्मा मधेस प्रदेशसभामा थिए ।

मुद्दाका २८ प्रतिवादीमध्ये सांसद महतोसँगै पवन ठाकुरलाई सफाइ दिइएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला भएको छ । बाँकी १६ जना भने अझै फरार रहेका छन् ।

जन्मकैदको सजाय पाउनेमा शर्मासहित सञ्जयकुमार साह, प्रदिप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र भन्ने शंकर शाही र सुरेश पाण्डे छन् ।

०७२ भदौ २५ गते विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सोही वर्ष फागुन २७ गते कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको कसुरमा महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । हेटौँडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए । ०७४ साल मंसिर ४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट सांसदमा चुनाव जितेका कोइरी ०७२ सालको मधेस आन्दोलनका बेलामा मधेसवादी दलमा आबद्ध थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया