Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल स्टक डिलरले पुँजीबजारसम्बन्धी सम्पूर्ण सेवा दिँदै

नबिल स्टक डिलरले पुँजीबजारसम्बन्धी सम्पूर्ण सेवा दिँदै


काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिकरूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याललगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो ।

पुँजीबजारसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजीबजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए । हमालले पुँजी बजारको विकासमा यो पहल एक उदाहरणीय डिलरको रूपमा साबित हुने विश्वास व्यक्त गरे । बैंकहरूको सहायक कम्पनीहरूलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजीबजार विकासमा नयाँ आयाम थपेको उनले बताए । नबिल बंैकले नेपालको पुँजीबजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको पौड्यालले बताए । अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासहरूलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्नेे धारणा उनको छ ।

कार्यक्रममा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजीबजारको विकासमा नबिल डिलरको उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे । नबिल स्टक डिलरका अध्यक्ष निरज गिरीले नबिल स्टक डिलरले नेपालको पुँजीबजारमा पृथक पहिचान कायम गर्ने बताए । नबिल स्टक डिलर एक विश्वासिलो एवम् दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरीको भनाइ छ ।

यसअघि नबिल सेक्युरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो । कम्पनीले गत भदौ २० गतेदेखि आफ्नो कारोबार सञ्चालन गरे पनि औपचारिक उद्घाटन शुक्रबार गरिएको हो । नबिल सेक्युरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । कम्पनीको अध्यक्ष गिरी धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन् । चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवाहरू प्रदान गरिरहेको छ । निकट भविष्यमा छिट्टै नै मार्जिन कर्जा सेवा, लगानी व्यवस्थापन सेवालगायतका सेवाहरू सञ्चालन गर्ने तयारीमा नबिल स्टक डिलर रहेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया