Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिमेण्टमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन महासंघको माग

सिमेण्टमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन महासंघको माग


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेण्टमा कार्टेलिङ गरी मूल्यवृद्धि गरिएकाले तत्काल फिर्ता लिन माग गरेको छ । सिमेण्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको महासंघको आरोप छ ।

सीमित सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमार्फत् जनाएको छ । महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी खुला अर्थतन्त्रको नीति विपरीत गरिएको यस किसिमको अव्यावहारिक एवम् अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको उल्लेख गरेका छन् । विगतमा पनि कार्टेलिङ गरी पटकपटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अर्बौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन पनि महासंघले सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया