Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षात्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित


त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले सोमबार आयोजना गरेको ४९औँ दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहालबाट विद्यार्थीहरू दीक्षित भएका थिए । त्रिविको ६१औँ ग्रेसलिस्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्ने बताए । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको उनले बताए ।

विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुने उनको विश्वास थियो । यस्तै, उनले ज्ञान, सीप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष नीति अँगाल्नु जरुरी रहेको बताए ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वबजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र संकल्प जरुरी भएको बताए । विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।

‘विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?’ उनको प्रश्न थियो ।यस्तै, उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा गर्न हुँदैन पनि भन्ने र फेरि त्यसैका लागि दौडिने प्रवृत्ति रहेको बताए । ‘एकातर्फ हामी विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहँुदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कातर्फ हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ’, उनले भने ।

शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र सर्वसुलभरूपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्नेमा उनको जोड थियो । यस्तै, उनले संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा दिन विश्वविद्यालयको नेतृत्वलाई आग्रह गरे ।विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया