सुन तस्करी छानबिनका प्रतिवेदन पनि चोरिएको हो ?
काठमाडौं । आयोगले नै नपाएको सुन तस्करी छानबिन आयोगको प्रतिवेदन कुनै नागरिकले खोज्दा कसरी पाउला ? पछिल्लो समय गठन भएको सुन तस्करी छानबिन आयोगले यसअघि गठित आयोगको प्रतिवेदन विगत तीन हप्तादेखि खोजिरहेको छ । तर अहिलेसम्म फेला पार्न नसकेका विवरणहरू सार्वजनिक भइरहेका छन् । यो ३३ केजी सुन तस्करीको कुरा हो । करिब पाँच वर्षअघि ३३ केजी सुन तस्करी भएर आएको तर त्यो बाटैमा गायब भएको भन्ने चर्चा व्यापक भएको थियो । जसका कारण एक व्यक्तिको हत्या नै भएको र एकजनाले आत्महत्या गरेका घटना प्रकट भएका थिए ।
त्यसको छानबिन गर्न गठन भएको छानबिन समितिले दिएका प्रतिवेदन त्यस बेलादेखि नै सरकारले गुपचुप राखेको थियो । गृह मन्त्रालयका उपसचिवको संयोजनमा गठन भएको समितिले चार महिना लगाएर अध्ययन गरेको थियो । त्यो अध्ययनमा केही समयको अन्तरमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी भएर आएको देखाएको थियो । करिब आठ सय पृष्ठको त्यो प्रतिवेदनमा दुई सय ९२ जनाको नाम यो तस्करीमा संलग्न भएको भनी किटानी भएका थिए । यसमा राजनीतिक तहका पनि थिए भन्ने चर्चा त्यसैबेला पनि भएको थियो । पछिल्लो समय गठन भएको आयोगले त्यो प्रतिवेदन अध्ययनका लागि खोजी गर्दा प्रधानमन्त्री र गृहमन्त्रीको कार्यालयमा कतै पनि फेला परेन ।
पछिल्लो समय विद्युतीय चुरोट (भेप) र सवारीसाधनको ब्रेक सुलगायतमा लुकाएर भित्राइएका सुन तस्करी प्रकरणमा छानबिन सुरु भएको हो । यस्तो छानबिन आयोग बनाउन त्यसबेला विपक्षीले पूरै महिना दिन संसद् अवरोध गरेको थियो । त्यसपछि पनि विमानस्थलबाट निरन्तररूपमा तस्करी भएर आएका सुन पक्राउ परिहेका छन् । छानबिन आयोग बनिसकेपछि मात्रै २०/३० केजीमै हिसाब आउने गरी सुन पक्राउ परे । त्यसमध्ये सबैभन्दा बढी मात्रामा सुन ल्याउने व्यक्ति एक आधा वर्षकै समयमा २०/३० पटक नै सुन आयात हुने ठाउँ दुबई आउजाउ गरेको विवरणहरूले देखायो । यसअघि भएको तस्करी प्रकरणका २९ जना अभियुक्तहरू यतिबेला पुर्पक्षका क्रममा कारागारमा छन् । फरार भनिएकाहरू फेला परेका छैनन् । यी सुन कसका हुन् भन्ने मालिक पनि भेटिएका छैनन् । अहिले भरियाहरूमात्र फेला परेका छन् । यसै सन्दर्भमा नयाँ आयोगले पुराना छानविनका सूत्रहरू खोज्न ती प्रतिवेदन मागेको बुझ्न सकिन्छ । अहिले फेला नपरेको भनिएको यो प्रतिवेदन त्यसबेला पनि सार्वजनिक गर्न व्यापक माग भएको थियो । त्यसमा उच्च तहका राजनीतिक व्यक्तिको पनि संलग्नता रहेको भन्ने यो छानबिनमा देखिएको भनिएको थियो । त्यही तहको दबाबका कारण त्यसबेला प्रतिवेदन सार्वजनिक नभएको मानियो । अहिले त त्यो प्रतिवेदन नै गायब पारिएको अवस्था प्रकट भएको छ ।
पछिल्लो समयको सुन तस्करीमा पनि कतिपय विवरणहरूले उच्चस्तरकै राजनीतिक संलग्नता रहेको देखाएका छन् । तीन/चार जना नेतापुत्रको नामै आयो । एकजना त अहिले जेलमा नै छन् । सुन तस्करी भएर आएका वस्तुहरू छुटाउन नेताले दुई दर्जन पटक विमानस्थलका अधिकृतहरूलाई गरेका टेलिफोनका रेकर्ड नै पनि सार्वजनिक भए । प्रहरीकै प्रतिवेदनमा पनि लेखियो । तर उच्च सम्मानका साथ उनलाई छाडियो । तस्करहरूको पहुँच कुन हदसम्म पुगिसकेकोछ भन्ने बताउन यी केही विवरण नै पर्याप्त हुनुपर्छ । कतिपयका बुझाइमा फाइल गायब पार्ने काम पनि तस्करहरूकै हो । अहिले छानबिनको दायरामा परेको भेप र ब्रेक सुमा लुकाएर तस्करी भएको सन्दर्भमा ११ महिनामा करिब चार सय केजी सुन भित्रिएको भन्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । यसले तस्करीको जालो देखाउँछ । सरकारले यसलाई तोड्नुपर्छ । त्यसका लागि छानबिनलाई पूर्णरूपले सहयोग आवश्यक पर्छ । खोजिएका कागजपत्रहरू भेटिएनन् भनेर धर पाइँदैन ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया