उपयोग गर्ने अनि फ्याँक्नेबाट सावधान !
सदाझैँ आज मङ्सिर शुक्ल पूर्णिमाको दिन नेवाः समुदायमा चामलको पिठो र चाकुबाट ‘यःमरी’ परिकार बनाउने र खाने प्रचलन रहेको छ । यस दिनलाई ‘यःमरी पुन्ही’ नामले चिनिन्छ र देशभर ठूलो पर्वको रूपमा मनाउने गरिन्छ । किसानहरूले धान भित्र्याएर भकारी भरिसक्ने समय भएकाले धनधान्यले पूर्ण हुने र अन्नको दुःख नहुने कामना गर्दै उक्त चार्ड मनाइने भएकाले आजको दिनलाई धान्यपूर्णिमा भन्ने पनि गरिएको हो । गाउँघरमा गाईवस्तुको रक्षाका लागि गोठमा गैडु देवताको पूजा गर्ने चलन पनि छ ।‘यःमरि’ खानाको आफ्नै महत्व रहिआएको छ । खासगरी कृषि तथा किसानसँग जोडिएको यो खाना नयाँ धान र चामलसँग सम्बन्ध रहेको छ । नयाँ चामलको आगमनसँगै ‘यःमरि’ बनाई पर्वको रूपमा खाने र खुवाउने चलन रहेको छ । हाल यो पर्व सम्पूर्ण देशवासीले ग्रहण गरेको पाइन्छ । ‘यःमरि’ नेपालको प्रमुख रैथाने र अधिकतम रुचाउने खानामा सुसूचित भइसकेको छ र विदेशमा समेत माग बढेको सुनिन्छ । प्रजातन्त्र स्थापनापश्चात नेपाल सरकारले ‘यःमरि पुन्हि’कै दिनलाई पारेर ‘ज्यापु दिवस’को रूपमा मनाउने मान्यता दिएको छ र काठमाडांैमा ‘ज्यापु दिवस’ भव्यरूपले मनाउने प्रचलन रहँदै आएको छ ।
यसै क्रममा आज २० औँ राष्ट्रिय ज्यापु दिवस देशभर हर्षोल्लासका साथ मनाइँदैछ । काठमाडौं महानगरका स्थानीय ६७ टोलका ज्यापु समुदायले आ–आफ्ना परम्परागत पहिरन, महिलाले ‘हाकु पतासी’ तथा पुरुषले ‘तःपालँ’, परमपरागत बाजागाजा, नाचगानसँगै सिंगारिएको ‘यःमरि’सहित सहर परिक्रमा गरी काठमाडौंको वसन्तपुरमा सरकार प्रमुख प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा अरू अतिथिहरूको सहभागितामा विशेष कार्यक्रमको आयोजना हुने गर्छ ।
ज्यापु समुदायका प्रतिनिधिहरू बाजागाजासहित प्रधानमन्त्रीलाई आमन्त्रण गर्न र सम्मान समेत गर्न प्रधानमन्त्री निवास बालुवाटार गई आमन्त्रण गरिसकेको अवस्था छ ।सदाझैं सो कार्यक्रममा प्रधानमन्त्रीलगायतका अथिति वक्ताहरूले ज्यापु समुदायका बारेमा गुणगान गरी धुमधामका साथ भाषण दिने छन् र ‘ज्यापु दिवसको उपादेयताबारे आ–आफ्नो धारणा राख्ने क्रममा ज्यापु समुदायले काठमाडौं उपत्यकाको सम्पदा, कला, संस्कृति, गीत, संगीत, गुठीको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्दै पर्यटन क्षेत्र विकासमा योगदान पु¥याएकोमा प्रकाश पार्ने छन् र नेपाललाई विश्वसामू चिनाउन पूर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई लोप हुन नदिन सजक हुन आग्रह पनि गर्ने छन् । यसरी प्रत्येक वर्ष यो समुदायप्रति लक्षित गरेर बोल्ने र लेख्ने परम्परा नै भइसकेको छ । तर व्यवहारमा यो समुदायलाई उत्थान गर्ने, विकास गर्ने खासै कुनै चासो राखेको हालसम्म देखिएको छैन र काठमाडौंवासी भएर पनि धेरै क्षेत्रमा पिछडिएको देखिन्छ ।ज्यापु समुदाय काठमाडौंको पुरानो रैथाने बासिन्दा हुन् । एकताका यी समुदायले काठमाडौं बासिन्दाहरूको खाने अन्न र तरकारीहरू आपूर्ति गर्ने गथ्र्याे । करिब चार लाखको संख्यामा रहेको यो समुदाय कृषि पेशामा आश्रित थिए भने सम्पदा, संस्कृति, कला, गुठी आदिको संवद्र्धन, प्रवद्र्धन र संरक्षणको अगुवाइ गर्दै आएको उल्लेख गर्नु नपर्ला । ज्यापु समुदायले स्थानीय एवम् राष्ट्रिय ठूला–ठूला पर्व, सभा, समारोहहरूमा भाग लिई पर्यटन विकासमा अन्त्यन्त ठूलो र महत्वपूर्ण भूमिका खेलेको यथार्थ नकार्न सकिँदैन । यदि यो समूहको सहभागिता नहुँदो हो त यी माथि उल्लेखितको स्थिति के हुने हो ? कल्पनासम्म पनि गर्न सकिँदैन ।
केही वर्षदेखि काठमाडौंमा बढ्दो सहरीकरण र जनसंख्याको चाप तथा कृषियोग्य जमिन अर्कै प्रयोजनमा प्रयोग भएको देख्न सक्छौँ र घरैघरको कंक्रिट जंगलको सहर बन्न पुगेको छ । जग्गाको व्यापक खरिदबिक्रीले गर्दा आफ्नै जग्गा जमिनको पनि सीमित मात्रामा उपभोग गर्नुपर्ने बाध्यता परेको छ । कृषि क्षेत्रबाट लगभग विस्थापित हुन पुगेका छन् यहाँका बासिन्दाहरू । यी पुराना खेतीमा आश्रित पुस्ता समूह हाल प्रायः बेरोजगार हुन पुगेको छ । ठूलो संख्यामा यो समुदायका परिवारहरू स्थानीय जन्मथलोबाट बसाइँसराई समेत गर्नुपरेको बुझिन्छ छ जुन सामाजिक विकासको लागि कदापि राम्रो मान्न सकिन्नँ । यसको नराम्रो असर समाजमा गुठी सञ्चालन, सम्पदा संरक्षण, भाषा, मौलिकता, खानपान आदिमा समेत अहिले नै देखा परिसकेको छ ।
दोस्रो पुस्ता कृषि कार्यबाट बञ्चित भए पनि क्रमशः राम्रो अध्ययन गरी विभिन्न अरू पेसा, स्वरोजगारमा आफ्नो योग्यता देखाउँदै आएको पाउँछौँ । तर योग्यताअनुसार राम्रो अवसर प्राप्त गर्न सकेको भने देखिँदैन र ओझेलमा परेको देखिन्छ ।
व्यावहारिकरूपमा केही नगन्यबाहेक यो समुदायबाट सरकारको उपल्लो निर्णय गर्ने तहमा ठाउँ पाउन सकेको देखिँदैन । धेरै राम्रो शैक्षिक योग्यता भएकाहरू पनि लोकसेवाको प्रतिस्पर्धामा सफल भएको देखिँदैन । ‘लोकसेवा हाम्रो लागि होइन’ भन्ने बुझाइ, छाप यो समुदायमा परेको छ, जसले गर्दा लोकसेवामा प्रतिस्पर्धा गर्नेहरूको संख्या नगण्य मात्र देखिन्छ । अहिले भर्खरको नयाँ पुस्तामा लोकसेवा दिनुपर्ने जागरण आएको पनि सुनिन्छ ।
निजी क्षेत्रजस्तै बैंक, स्कुल, आईटी, हस्पिटल, ट्राभल, होटल, संयुक्त राष्ट्र संघका निकाय, अन्तर्राष्ट्रिय संघसंस्था आदिमा भने यी समुदायले धेरै राम्रो प्रतिनिधित्व गरेको र ठूलो पदको नेतृत्व गरी उत्कृष्ट प्रदर्शन गरेको थुप्रै उदाहरणहरू देख्न सकिन्छ । लोकसेवामा प्रतिस्पर्धा के कारणले गर्न नसकेको सरकारले सोच्नुपर्ने विषय भएको छ ।
हुन त ‘नेपाली भाषा’ आफ्नो मातृभाषा नभएबाट पनि लोकसेवा एक चुनौतीको रूपमा देखिएको हुनु पर्छ ।राजनीतिको माथिल्लो, नेतृत्व लिने र दिने तहमा प्रतिनिधित्व गरेको अथवा गराइएको अवस्था पनि खासै देखिँदैन र धेरैपछि परेको पाइन्छ । तल्लो एकाइमा राम्रो सहभागिता भएको पाइए पनि माथिल्लो तह जाने क्रममा यस समुदायलाई विभिन्न कारण देखाई पाखा लगाएको पाइन्छ । देशका विभिन्न जिल्लाबाट बसाइँसराई गरी काठमाडौंमा नै बसोबस गरेबाट पनि यो समुदायलगायत सम्पूर्ण स्थानीय बासिन्दाले चुनौती भोग्नुपरेको छ र आफ्नै जन्मथलोमा नै अल्पसंख्या र अल्पमतमा पर्न पुगिसकेको छ ।
गएको स्थानीय निकायको निर्वाचनमा यो समुदायलाई केही अध्यक्षस्तरसम्म मौका दिइयो भने प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसरै दिइएन । चाहेको भए समानुपातिक र राष्ट्रियसभामा पनि प्रतिनिधित्व गर्न सकिन्थ्यो तर त्यो पनि आवश्यक ठानिएन, एकजना पनि पर्न सफल भएन । यो समुदायलाई खाली भोट बैंकको रूपमा प्रयोग गरी ठूलो भेदभाव र अन्याय गरेको देखिन्छ ।के यो समुदायमा प्रतिभाशाली, योग्य, अनुभवी व्यक्ति नभएर हो ? यो कदापि हुनै सक्दैन । कुनै पनि क्षेत्रमा नेतृत्व लिन सक्ने योग्य व्यक्तित्व नभएको पक्कै होइन । स्वभावतः यी समुदाय अनुशासित, लजालु र सरल हुने गर्छ । ठूला दल र नेताहरूले यही गुणको प्रचुर फाइदा लिएको र अवसरबाट बञ्चित गरेको देखिन्छ । खाली ‘झोले’ मात्र बनाउने काम भएको छ ? के नेताहरूले चाहेको यही नै हो ? के यो समुदायलाई ‘उपयोग गर्नु र फ्याँक्नु’को सिद्धान्त अपनाएको हो ? यदि अब पनि ध्यान पु¥याउन सकिएन भने यसको दूरगामी असर नराम्रो हुन सक्ने छ । खासगरी हाम्रा सम्पदा, संस्कृति, कला, गुठी आदि क्षेत्रमा अपूरणीय क्षति हुने पक्का छ । यसको जिम्मेवारी कसले लिने ? यो समुदायको सहभागिता खाली सभा, समारोहमा बाजागाजा, नाचगान, आदिमा मात्र सीमित हुने हो ? यस्तै हो भने यो समुदायका खासगरी युवा समूहले आफ्नो सहभागिताबाट हात झिक्न र बहिस्कार गर्ने दिन नआउला भन्न सकिन्नँ । नयाँ दल र स्वतन्त्र पार्टीमा युवाहरू आकर्षित हुनु र पुरानो ठूला दलहरूप्रति आकर्षण घट्नु, सहभागी नहुनु एक मुख्य कारण मान्न सकिन्छ ।
सरकार र राजनीतिक दलहरूबाट योग्यताको कदर नभएबाट यो समुदायका धेरै होनहार, प्रतिभाशाली एवम् योग्य युवाहरू विदेश पलायन भएको देखिन्छ जुन दुःखदायी, आपत्तिजनक र गम्भीर भएर सोच्ने बेला भइसकेको छ । यो क्रमलाई रोक्न सरकार र राजनीतिक दलले के–कस्तो कार्यक्रम ल्याएका छन् प्रश्न गर्न ढिलो पनि भइसकेको छ । आयोजक ज्यापू अगुवाहरूद्वारा प्रधानमन्त्रीसँग यो समुदायको विकासका लागि माग राख्न सक्नुपर्छ । नभए यो भव्य भनिएको कार्यक्रम, कार्यक्रममा मात्रै सीमित हुनेछ, सामाजिक सञ्जालमा प्रधानमन्त्रीसँग खिचिएका फोटाहरू सार्वजनिक हुने छन् । सीमित चलाख व्यक्तिले मात्र केही व्यक्तिगत फाइदा लिन सक्ने छन् ।ज्यापु दिवसको उपलक्ष्यमा बसन्तपुरमा हुने कार्यक्रममा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको बुझिन्छ । तर यो सम्मान केको लागि ? राम्रो काम गरेको हो भने जनता पटक्कै खुसी देखिँदैन । जताततै किरैकिरा ? देशमा सुशासन दिन सकेको छैन, युवाहरू बेरोजगार भई कामको खोजीमा विदेश पलायन भएको हुलका हुल विमानस्थलमा हृदयविधारक दृश्यहरू देख्न र सुन्न पाइन्छ । कर्मचारीसँगको मिलोमतोमा भ्रष्टाचारमाथिदेखि तलसम्म व्याप्त रहेको छ र कुनै पनि सरकारी सेवा लिन घुस नदिई लिन सक्ने अवस्था छैन । महँगी चरमसीमा नाघेको छ, सरकार मुकदर्शक भएको छ । धर्म र जातजातिका बीच वैमनस्यताका घटनाको सुरुवात भएको छ । व्यवस्थाविरोधी आवाज सुनिन थालेको छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन काण्ड आदिमा राम्रो व्यवस्थापनको कमीले गर्दा ठोस उपलब्धि हाँसिल गर्न सकेको देखिँदैन । काण्डहरू सेलाउन नपाउँदै हालै आएर एनसेल काण्डको पर्दाफास भएको मात्र नभई सो काण्डमा प्रधानमन्त्री र उनका परिवार समेतको मिलेमतो भएको कुरा बाहिरिएको छ । संसदीय समितिमा प्रधानमन्त्री स्वयम् उपस्थित भई केरकार समेत गरिसकेको छ । समिति र समितिका सदस्यहरूको उपस्थितमा प्रधानमन्त्रीले लाजमर्दो जवाफ दिनपरेको जनताको ठम्याइ छ ।
हालै प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले खासै उल्लेखनीय काम गर्न नसकेको प्रधानमन्त्री स्वयम्ले आत्मसाथ गरिसकेको देखिन्छ । यसको जिम्मा प्रधानमन्त्री स्वयम्ले लिनुपर्ने माग सार्वजनिक भएको छ । बोल्नमा अति सिपालु भए पनि आफूले गरेका बाचा समेत पूरा गर्न नसकेको जनगुनासो व्याप्त छ र जनता आजित भएका छन् । तसर्थ, सम्मान केको लागि ? आयोजकहरूले जनता समक्ष जवाफ दिनुपर्ने हुन्छ । आजसम्म यो ज्यापु समुदायलाई उपयोग गरेको मात्र देखिन्छ, बुझिन्छ । यो समुदायका गुठीहरू र यिनका ‘नायः–नेता’हरूले आफ्नो (समुदायको) शक्ति के हो बुझ्न सकेको देखिँदैन । आम समुदाय, गुठीका सबै सदस्यहरू सजग र होसियार भई संयुक्तरूपमा आफ्नो हकहितको लागि नेतृत्व गरी अगाडि बढ्न ढिला भइसकेको छ । हक, हित र अधिकारका लागि नेतृत्व गर्न अब पनि ढिला गर्ने हो भने भावी पुस्ताले नसोचेको चुनौती बेर्होनुपर्ने हुन सक्छ । यो काममा आम–समुदायले ढिला गर्नै हुन्न । देशमा धेरै परिवर्तन आइसकेको छ । आफू को हौँ ? भन्ने धेरैपछि परेका समुदायले पनि बुझिसकेका छन् । अब यो समुदायले पनि आफूलाई नबुझ्ने हो भने इतिहासले सराप्ने छ । यो समुदाय अरूको उपयोग हुनबाट जोगिऔँ र जोगाऔँ, ‘उपयोग गर्ने अनि काम सकिएपछि फ्याँक्ने’ तत्वबाट सावधान होऔँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया