Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमेलम्चीको पानी कस्तो बेइमानी ?

मेलम्चीको पानी कस्तो बेइमानी ?


काठमाडौं । पछिल्लो समयमा ‘नेताहरू गाडीमा, युवाहरू खाडीमा’ भन्ने भास्य स्थापित भइरहेका छन् । भविष्यका कर्णधार भन्ने युवाहरू धमाधम विदेशिएका छन् । सातामा आधा घण्टा धारामा पानी आउने देशमा तीन दशक भइसक्दा पनि मेलम्चीको पानी काठमाडौंमा नआउने देशमा किन बस्ने भन्ने युवाहरूको भनाइ रहेका छन् ।

आजका युवा जमातहरूले यो देश भनेको ठग फटाहा नेताहरूको लागि मात्र हो भन्ने गरेका छन् । यस कारणले पनि पछिल्लो समयमा दिनहुँजस्तो हजारौँको संख्यामा नेपालीहरू विदेशिएका छन् भनेर सरोकारवालाहरूले भन्ने गरिरहेका छन् । कतिपय रोजगारको लागि त कतिपय अध्ययनका लागि विदेशिएका छन् त कतिपय भने सुखसयलको लागि पनि विदेशमा पलायन भएका छन् । नेपालमा रोजगार छैन, नेपालमा अवसर छैन, नेपालमा राम्रो स्तरीय कलेजहरू छैन, त्यसो त नेपालमा अवसर अनुशासन सुशासन छैन भनेर पनि भन्ने गरेका छन् । नेपालमा घुसखोर कमिसन खोर भ्रष्टाचार अनियमितता नातावाद, कृपावाद, अवसरवाद, फरियावाद, झोलेवाद मात्र छन् भनेर पनि भन्ने गरेका छन् । नेपालको राजनीति कुनीति हुँदै गइरहेका छन् भनेर पनि कतिपय सरोकारवालाहरूले भन्ने गरेका छन् । त्यसो त देशमा धेरै राजनीतिक दलहरू छन् तर ती दलहरूमा नेताहरूमा नैतिकता छन् न इमान्दारिता नै त्यसो त नेपालमा पुराना–पुराना राजनीतिक दलहरूका नेताहरू मात्र होइन नयाँ–नयाँ राजनीतिक दलका नेताहरू र सांसदहरू पनि गफाडी भएका छन् । नेपालको राजनीतिमा सुशासन छैन, न नेपालको सिस्टम नै राम्रो छ । सायद यस कारणले पनि होला नेपालका युवाहरू धमाधम विदेशिएका हुन् कि ? त्यसो त कतिपय भद्रभलाद्मीहरू पनि विदेश पलायन भइसकेका छन् । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९३ लाख जति रहेको छन् भने लगभग ८० लाख जति त विदेशमा रहेको बताउँछन् जानकारहरू । लगभग तीन करोड जनसंख्यामा ८० लाख विदेशमा रहनु गम्भीर विषय होइन र ? तर पनि नेपाल सरकार सांसद र राजनीतिक दलहरू आफ्नै धुनमा बाँसुरी बजाइरहेका छन् ।

सरकार र सरकारमा रहेकाहरू देश र जनाताका लागि भन्दा पनि आफ्नो सत्ता कसरी बचाउने र कसरी सत्तामा टाँसी रहने भन्नेमा नै आफ्ना खुरापाती दिमाग चलाइरहेका छन् भने विपक्षमा रहेका दलहरू भने कसरी सरकारलाई ढाल्ने र आफूहरू सरकारमा जानेमा नै आ–आफ्नो दिमाग खियाइरहेका छन् । त्यसैगरी केही नयाँ दलहरू भने ‘मिसन ८४, मिसन ८४’ भन्दै कुर्लिरहेका छन् त केही सांसदहरू भने अवस्था र व्यवस्था परिवर्तन गर्ने र राजसंस्था पुनस्र्थापना गर्ने र देशलाई हिन्दुराष्ट्र घोषणा गर्ने भनेर भाषणबाजी गरिरहेका छन् । यो ‘काम कुरो एकातिर कुम्लो बाँकी ठिमीतिर’ भनेजस्तै भएको छ । देश र जनताको लागि काममा समर्पित हुन मिसन ८४ चाहिँदैन । मिसन ८४ भनेको त अझ चार वर्ष बाँकी छ । यो भनेको मरेपछि उपचार भने जस्तै भएको छ । वर्तमानमा देश र जनताको लागि काम गरे मिसन ८४ सफल हुन्छ भन्ने ती दलहरूले बुझ्नु जरुरी छ । जहाँ गए पनि मिसन ८४, मिसन ८४ भनेर कराउने अनि जनताहरूको समस्यालाई थाँती राख्ने अनि के ८४ को आम चुनावमा मतदाताहरूले विश्वास गर्लान् त ? खोई अमेरिकाबाट फर्किएका नेताको बुद्धि ? देशलाई समस्याले घेरिरहेका छन्, देशमा भ्रष्टाचार र कमिसनले जरा गाडिसकेका छन्, महँगीले आकाश छोइसकेको छ । चिनी एक किलोको एक सय पचास तिर्दा पनि सजिलै पाइँदैन प्याज किलोको दुई सय तिर्न परिरहेको छ । राजधानीजस्तो ठाउँमा नागरिकहरूले पानीको समस्या भोग्नुपरेको छ । घर–घरमा धारा छन् तर धाराबाट पानी आउँदैन मेलम्चीको पानीको अत्तोपत्तो छैन । तर नेताहरू मिसन ८४ भनेर कराइरहेका छन् त केही सांसदहरू राजसंस्था फर्काउने भनेर अवस्था र व्यवस्थालाई र सरकारलाइ गाली गरिरहेका छन् ।

युवा विद्यार्थीहरू अध्ययनका लागि भनेर विदेशिएका छन् । के नेपालमा स्तरीय कलेजहरू छैनन् र विद्यार्थीहरू प्लस २ पास गरेपछि विदेश जानका लागि तयारी गर्छन् । त्यसैगरी नेपालमा रोजगारी नै छैनन् त त्यसो हो भने ? नेपालमा थुप्रै विदेशीहरू छिमेकी देशका नागरिकहरूले नेपालमा काम गरिरहेका छन्, फुटपाथ व्यापारदेखि सुन पसलसम्ममा विदेशीले काम पाइरहेका छन् । ढलको जाम खोल्नेदेखि प्लम्बर सिकर्मी डकर्मी इलेक्ट्रिसियन पेन्टरदेखि ज्यामी काम समेत विदेशीहरूले गरिरहेका छन् । भारतमा रेमिट्यान्स लैजानेमा तेस्रो नम्बरमा नेपाल रहेको सरोकारवालाहरू बताइरहेका छन् । अनि विदेशीहरूले काम पाउने नेपालीहरूले मात्र नपाउने त ? कि विदेशीहरूले गर्ने काम नेपालीहरूले गर्नुहुँदैन । त्यसो त पछिल्लो समयमा हामीले हाम्रा पुर्खाले गर्ने काम पेशाहरू छाड्दै आइरहेका छन् । अनि युवाहरू विदेशिने गरिरहेका छन् । कामको खोजीमा अधिकांश विदेशिने युवाहरू आफ्नो गाउँठाउँको जग्गा जमिन बाँझो राखेर घर खेत बन्धकमा राखेर बेचेर विदेशमा गइरहेका छन् । हाम्रो देश कृषिप्रधान देश तर पछिल्लो समयमा आयात प्रधान देश भइरहेका छन् । देशका हामी नागरिकहरूले विदेशबाट अनुपात नआएमा खान पनि नपाउने हो कि भनेर चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ । तर सरकार नयाँ पुराना राजनीतिक दलहरू नेताहरू सांसदहरू आ–आफ्नो स्वार्थमा अलमलिरहेका छन् । आ–आफ्नो स्वार्थको लागि काम गरिरहेका छन् । देशमा कृषि उत्पादन बढाउने खेतमा अन्न उब्जाउनको लागि आवश्यक पहल गर्न बन्द उद्योगहरू सञ्चालन गर्नको लागि पहल नगर्ने अनि मिसन ८४ भनेर कुर्लिरहने राजसंस्था फर्काउने भनेर बहुलाले जस्तो भाषणबाजी गरिरहने । देश र जनताको लागि न सरकारले ध्यान दिएका छन् न विपक्षीहरूले नै । प्रचण्ड नेतृत्वको सरकार गठन भएको पनि एक वर्ष भइसक्यो तर परिणाम भने शून्य यो देशमा सरकार पनि छ र भन्न लागि सकेका छन् आमनागरिकहरूले । यो सरकारले आमनागरिकहरूको लागि पिउने पानीसम्म दिनसकिरहेको छैन । देशको राजधानीजस्तो ठाउँमा पानीको सहज आपूर्ति हुन सकिरहेका छैन पानीको हाहाकार छ, मेलम्चीको पानी पनि किस्ताबन्दीमा दिने गरेका छन् । मेलम्ची खानेपानी परियोजना सम्बन्धित सरोकारवालाहरूको लागि मागिखाने भाँडो भइरहेका छन् । राजधानीजस्तो सहरमा पानीको समस्या भइरहँदा पनि सरकार काठमाडौंका जनप्रतिनिधिहरू सांसदहरू चुक्क बोलेका छैनन् र यो विडम्बनाको अन्त्य हुनु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया