Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१४ केजी सुन तस्करीमा संलग्न पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी

१४ केजी सुन तस्करीमा संलग्न पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । गत मंसिर २१ गते राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुनका विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङले तस्करहरुसँग नियमित संवाद गर्ने गरेको पत्ता लगाएको छ । तस्कारीमा गुरुङ संलग्न हुनसक्ने आधार भेटिएपछि भन्सार कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी गरेको छ ।

भन्सार विभागका अधिकारीहरु पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग निकट रहेका गुरुङ लामो समयदेखि सुन तस्करीमा संलग्न भएको बताउछन् । पर्वत जिल्ला घर भएका ६२ वर्षीय गुरुङलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । हाल भन्सार कार्यालयले गुरुङको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचारसमेत गरेको छ ।

भन्सार कार्यालयले यही पुस ८ गते अध्यागमन विभागलाई लेखेको पत्रमा यस्तो उल्लेख छ, ‘मंसिर २१ गते फ्लाई दुबईको उडान नम्बर एफजेठ५७३ बाट विमानस्थलमा अवतरण गरेका गोरखाको बारपाक स्थायी ठेगाना भएका चन्द्र घलेको साथबाट बरामद भएको १४ केजी अवैध सुनका विषयमा अनुसन्धान हुँदा चोरी पैठारीमा संलग्न रहेको देखिएका व्यक्तिहरुले दिएको बयानबाट पर्वत जिल्ला साविक फलामखानी २ स्थायी ठेगाना तथा हाल काठमाडौ बसोवास गर्ने रामबहादुर गुरुङका छोरा वर्ष ६२ को नाप्रनं.८७ र राहदानी नम्बर ०९८३०९४१ रहेका जीवन कुमार गुरुङको खोजतलास गर्दा निज फरार रहेको र देशछोडि भागि जान सक्ने हुनाले तहाँ विभाग तथा मातहत कार्यालयहरु सबैमा जानकारी गराई निजको राहदानी र नागरिकता समेत कालोसूचीमा राखि पक्राउ गर्न सहयोग गरिदिनुहुन अनुरोध छ ।’

१४ केजी सुनसहित रंगेहात पक्राउ परेकै दिन चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले रातिनै मिन घलेलाई पनि पक्राउ गरेको थियो । मिन घले पक्राउ परेपछि गुरुङ फरार भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् । त्यसो त मिन घलेले बयानका क्रममा पूर्वउपराष्ट्रपति पुनको सल्लाहकार गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको बताएका थिए ।

कार्यालयको हिरासतमा रहेका मीन घले र जीवन गुरूङबीच नियमित संवाद भएको भेटिएपछि गुरुङको विषयमा अनुसन्धान गरिएको भन्सार विभागका एक अधिकारीले बताएका छन् । मिन घलेको कल डिटेल रेकर्ड हेर्दा जीवन कुमार गुरुङसँग नियमित संवाद हुने गरेको पत्ता लागेपछि थप अनुसन्धानका लागि जीवनलाई खोज्ने प्रयास गरेपनि उनी नभेटिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्सार कार्यालयले जनाएको छ ।

गुरुङ काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हुन् । यस्तै, उनले प्लाटिनम क्लब पनि सञ्चालन गर्ने गरेको विभागका अधिकारीहरु बताउँछन् । विभागको टोली कालिकास्थानमा रहेको प्लाटिनम कलेजमा समेत पुगेको थियो । कलेजका कर्मचारीले गुरुङ पर्वत जाने भन्दै बिदामा बसेको जानकारी दिएका थिए ।

गुरुङसहित विमल पोद्दार, अंकित अग्रवाल, राजेन्द्र बस्नेत र राज कामर भारतीमाथि थप अनुसन्धान गर्नु पर्ने भन्सार कार्यालयको निष्कर्ष छ ।कार्यालयले भविष्यमा सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएमा थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयबाट अनुमति माग गरेको थियो । सोमबार सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम अनुसन्धान गर्ने गरी विमानस्थल कार्यालयलाई अनुमति दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया