काठमाडौं । गत १३ गते बालकुमारी ग्वार्कोमा प्रहरीले कोरिया जान चाहने दुई युवा विरेन्द्र शाह र सुजन रावतलाई गोली हानी हत्या गर्यो । त्यो जघन्य हत्यालाई ढाकछोप गर्न राज्यका जिम्मेवार अधिकारीहरू नै निर्लज्ज पाराले सफेद झुट बकबकाइरहेका छन् । उक्त हत्याकाण्डका सूत्राधार ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी हुन् ।
कोरियामा उत्पादनमूलक क्षेत्रमा भाषापरीक्षा दिन फर्म भर्न गएका युवाहरूको इ–आवेदन लिन सुवेदीले अस्वीकार गरे । उनको एक बेइमानीविरुद्ध युवाहरू सडकसंघर्ष र कानुनी संघर्ष लड्दै थिए । अदालतले पनि समयमै न्याय दिएन । दुई युवाको हत्यापछि मात्रै आवेदन भर्न नरोक्न आदेश दियो । त्यो आदेश ‘लगनपछिको पोते’जस्तो बन्न पुग्यो । आन्दोलित युवाहरूमाथि डीएसपी उमेश लम्सालको राम्रो दृष्टिकोण थिएन । उनीहरूमाथि लाठीचार्ज गर्न उनले प्रहरीलाई पटक–पटक निर्देशन दिएका थिए, तर उनले चाहेजस्तो दमन गर्न प्रहरीले टेरेको थिएन ।
त्यसदिन पनि अघिल्ला दिनमा जस्तै सडक प्रदर्शन भइरहेको थियो । प्रदर्शनमा प्रहरीले गोली हानेर विरेन्द्र शाह र सुजन रावतको हत्या गर्यो । गोली प्रहरीले हानेको होइन, भिडबाट चलेको भन्ने प्रचार पनि गराइएको छ । गोली लागेर रावतको मृत्यु भएको लगभग आधा घण्टापछि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश बुढाथोकी त्यहाँ पुगेको प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा बताएका छन् । नामका पछाडि ‘ज्वाला’ पुच्छर झुण्डाएका मन्त्री बुढाथोकी आन्दोलन भइरहेको ठाउँमा झण्डा हल्लाउँदै केको दम्भ देखाउन पुगेका हुन्, उनै जानून् । तर, पीएसओले बाटो ‘क्लियर छ’ नभनी मन्त्री सवारीको रुट तय हुँदैन ।
त्यो पनि उनी मान्दैनन् र प्रहरीले झुक्यायो भन्छन् । त्यसो त उक्त घटनामा जिउँदै जल्नबाट जोगिएका मन्त्री बुढाथोकीले पटकैपिच्छे बोली फेर्ने गरेका छन् । पहिला आफूलाई निकालेर आन्दोलनकारीले गाडीमा आगो लगाएको बताएका थिए पछि कुरा फेरेर आफू त्यहाँबाट हिँडिसकेपछि आगो लगाएको बताएका छन् ।
द्वन्द्वकालमा माओवादीको प्यादा बनेर सुरक्षा निकायको सुराकी गर्ने आरोप लागेका बुढाथोकीलाई सेनाले बाटो रोकेर ‘तिमी को हौ ?’ भनी सोध्दा उनले ‘म प्रकाश ज्वाला’ भनेपछि ‘केको ज्वाला, तिम्रो थर छैन ?’ भनी गरेको सवालजवाफ अहिले पनि सल्यानतिर जनस्तरमा निकै चर्चा हुनेगरेको छ । उनी राजनीतिको नाममा खेतीपाती गर्न सिपालु नेता मानिन्छन् र अहिले पूर्वाधार तथा यातायात मन्त्री भएपछि उनको फाइँफुइँ र घमण्ड झनै बढेको छ र उनलाई त्यही घमण्डले मैमत्त बनाएर आन्दोलनकारीका बीचमा पुर्याएको थियो । त्यहाँबाट सौभाग्वश सकुशल निस्किएपछि बिस्तारै होस खुल्दै गए पनि उनको बोली अस्थिर हुन पुगेको हो ।
सरकारले उक्त घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । त्यसअघि तुलनात्मकरूपमा इमान्दार मानिएका डीआईजी लालमणि आर्चायको नेतृत्वमा छुट्टै छानबिन समिति गठन भइसकेको छ । छानबिन समितिलाई प्रत्यक्ष प्रभाव पार्ने गरी आईजीपी बसन्त कुँवरले उक्त घटनाका बारेमा सफेद झुट बोलेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार उनले गोली कतिखेर चल्यो भन्ने यकिन छैन भनेका छन् तर उनले मन्त्री बुढाथोकी त्यहाँ गएपछि घटना भएको झुटो विवरण पेस गरेका छन् । जब कि मन्त्री बुढाथोकी त्यहाँ पुग्नुअघि नै रावतमाथि गोली हानी हत्या भएको प्रत्यक्षदर्शीहरूले बताइसकेका छन् । आईजीपी कुँवरले झुटो अभिव्याक्ति दिएका हुन् । मन्त्री त्यहाँ पुग्नुअघि नै गोली हानेर युवाहरूको हत्या भइसकेको थियो । त्यो गोली कसको आदेशमा कसले चलाएको थियो भन्ने कुरा अहिलेको महत्वपूर्ण प्रश्न हो । अहिलेसम्म त्यो गोलीकाण्डको कसैले नि जिम्मा लिएका छैनन् र सबै उम्कने दाउ खोज्दै आएका छन् ।
महत्वपूर्ण प्रश्न यो हो, आफैँ एम्बुसबाट जोगिएर दोस्रो जीवन पाएका आईजीपी कुँवरले अहिले कुन स्वार्थले यतिसारो सफेद झुट बोलेका हुन् । यकिनसाथ भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले यो घटनालाई असामान्य घटना भनेका छन् र मृतकका परिवारसँग चारबँुदे सम्झौता गराएका छन् । जनतालाई झुक्याउने बानी परिसकेकाले पीडितपक्षलाई फस्ल्याक–फुस्लुक बनाउन मात्रै घटनालाई असामान्य नभनेका होलान् भन्न पनि सकिँदैन । तर, बालकुमारी घटना यी सबैको अनभिज्ञतामै भएको हो भन्न सकिँदैन ।
उक्त हत्याकाण्डका विरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश बुढाथोकी र श्रममन्त्री सरतसिंह भण्डारीको जताततै पुत्ला दहन भएका छन् । सिंगो सत्ताचाहिँ झुटमुटका कुरा गरेर जनतालाई गुमराहमा पार्ने प्रयासमा छ । त्यसदिन एक्कासि गोली किन हानियो ? गोली कतिखेर चल्यो ? गोली कसले चलायो ? यी यस्ता प्रश्न हुन्, जसको जवाफ न गृहमन्त्री श्रेष्ठसँग छ, न त आईजीपी कुँवरसँग नै । प्रधानमन्त्री दाहालले भनेजस्तै यसका पछाडि अर्कै तत्वको घुसपैठ हुन पनि सक्दछ । तर, त्यसको सम्पूर्ण जानकारी हुनुपर्ने नेपाल प्रहरीका महानिरीक्षक कुँवर नै त्यसबारे अनभिज्ञ छन् । उनकै ‘रिपोर्टिङ’मा बोल्ने गृहमन्त्रीको जवाफ ठोस रूपमा नआउनु कुनै अनौठो कुरा होइन ।
यस्तो घटनामा पूर्ण जानकार हुनुपर्ने र भावी छानबिनलाई सही दिशा दिनुपर्ने प्रमुख व्यक्ति आईजीपी नै हो तर आईजीपी कुँवरले छानबिन नहँुदै निष्कर्ष सुनाइदिएका छन् कि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश बुढाथोकी त्यहाँ पुगेपछि त्यस्तो घटना भएको हो भनेर । जब कि प्रत्यक्षदर्शीहरू उनको त्यो कुरा मान्दैनन्, मन्त्री पुग्नुअघि नै गोली हानेर युवाको हत्या भएको भन्छन् । आईजीपी कुँवरले गृहमन्त्री श्रेष्ठविरुद्ध बदला लिन खोजेर यस्तो झुट बोलेका हुन् कि त्यसको पछाडि अर्कै कारण छ, त्यो झनै रहस्यमय छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया