के देश युवाविहीन गर्ने हो ?
काठमाडौं । फोटोहरू हेर्ने सिलसिलामा आफू १२ महिना त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय विकास सेवा (राविसे)अन्तर्गत ‘स्वयम्सेवी’ कार्यक्रममा भाग लिएको, दुर्गम गाउँमा ११ महिना कार्यरत रहेको, गाउँ जाने तयारीको क्रममा समुदायमा आधारित विकासका गर्नुपर्ने काम एवम् जिम्मेवारीसम्बन्धी तालिममा सहभागी हुँदाका फोटोहरू हेर्न पुगेछु ।
हेर्दाहेर्दै सो कार्यक्रमका भएका अविस्मरणीय रोमाञ्चक, चुनौतीपूर्ण अवस्थाको सम्झना दिलायो । गाउँ घरको बसाइँ र गाउँका तत्कालीन साथीभाइ, विद्यार्थी, शिक्षक, जिल्लाका कर्मचारी हाकिमहरू, नेताहरूको याद दिलायो । आफूले गरेका काम र उपलब्धि, रमाइलो गरेका क्षण साथै भोग्नुपरेका अप्ट्याराहरू आँखा अगाडि झलझल्ती देखा पर्न थाल्यो । आज देशको कठिन अवस्थाले गर्दा अधिकांश युवावर्गमा असन्तुष्टि बढेको देखिराखेको छु, जसले यो आलेख लेख्न बाध्य बनायो । राष्ट्रिय विकास सेवा, त्रिविको तीनवर्षे स्नातकोत्तर (मास्टर) पढ्ने प्रत्येक विद्यार्थी अनिवार्यरूपमा एक वर्ष भाग लिनुपर्ने र देशका कुनै एउटा गाउँमा बसेर जनसेवा गर्नुपर्ने कार्यक्रम हो । स्नातकोत्तर पढ्ने हजारौँ युवाहरू यस कार्यक्रममा भाग लिई देश विकासमा खासगरी जनताका अति आवश्यक सेवाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत सामुदायिक विकासमा सहभागी हुनु, जनजागरण ल्याई जनचेतना वृद्धि गर्न ठूलो र महत्वपूर्ण योगदान पु-याउने कार्यक्रम मानिन्थ्यो ।
सहभागी सबै युवाहरू देश र गाउँघरको यथास्थिति र वास्तविकता बुझ्न सुनौलो अवसर प्राप्त हुन्थ्यो र सो प्रक्रियाबाट आफ्नो व्यक्तित्व विकास गर्न लाभान्वित हुन पाउँथ्यो । अनिवार्य सहभागी हुनुपर्ने भएबाट चाहे पनि, नचाहे पनि प्रत्येक युवालाई काम गर्न अवसर दिनु, जिम्मेवार बनाउनु र अनुभव बटुल्न ठूलो मौका मिल्थ्यो । युवाहरूले पनि देश विकासमा सक्दो योगदान गरेको थियो र प्रतिफल पनि धेरै राम्रो प्राप्त भएकै हो ।
आफ्नो राविसे कर्म ठूलो प्युठान जिल्लाको सदरमुकाम खलंगा परेको थियो । यहाँ स्थित महेन्द्र माध्यमिक विद्यालयमा गणित र विज्ञान विषयको शिक्षकको रूपमा कार्यरत रहेको थिएँ । पढाइका अलावा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गराउने गरिन्थ्यो । विद्यालयहरू पर्याप्त मात्रामा थिएनन्, निजी त छँदै थिएन । भएका विद्यालयहरूको अवस्था त्यति राम्रो थिएन । मुख्यतः या गणित, अंग्रेजी, विज्ञान विषयमा पढाउने शिक्षकको ठूलो अभाव थियो । राविसे कार्यक्रमबाट धेरै हदसम्मको कमी पूर्ति गर्न सघाएको र सफलता हासिल गरेको थियो । तेसैले गाउँलेहरू स्वयम्सेवकहरूलाई ‘विकासे मास्टर’ भन्न रुचाउँथे ।
गाउँघरको रहनसहन, कसले र कसरी जनतालाई थिचोमिचो गर्ने, अन्याय अत्याचार गर्ने, कुरीति र अन्धविश्वास आदि छर्लङ्ग देखेको, महिलाहरूमाथि गरिने भेदभाव, पिछडिएका जनजातिले भोग्नुपरेका अपमानविरुद्ध आफूले गरेका प्रयास सम्झन पुगेँ ।
नेता भनाउँदाहरूले गर्ने घिनलाग्दो खेल, सरकारी कर्मचारी र जनप्रतिनिधि मिलेर गरेका कुकर्म, भ्रष्टाचार र अख्तियारको दुरुपयोग कसरी गर्दा रहेछन् ? देश विकासका समर्थक र विरोधी कसरी भूमिका खेल्दारहेछन् भन्ने सम्झना भयो । राविसेको कार्यकालमा आफूले धेरै सिक्ने अवसर पाइयो । आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा भएका उपलब्धि र विसंगतिको सूक्ष्मरूपमा अवलोकन गर्ने, अध्ययन गर्ने अवसर पनि प्राप्त भयो । यी अमूल्य अनुभव हालसम्म पनि उपयोगी भएको पाउँछु । ११ महिनाको सफल कार्यकाल सकेर फर्किँदै गर्दा आत्मविश्वास बढेको, कुरा ढुक्कसँग राख्न सकेको मात्र नभएर आफूमा गौरवको अनुभूति महसुस समेत भयो । देश, राष्ट्र र राष्ट्रियताको भाव झन् मन मस्तिष्कले बुझ्ने अवसर मिल्यो । राष्ट्रप्रति सबै नागरिकको जिम्मेवारी छ भन्ने निष्कर्षमा पुग्यौँ ।
काठमाडौंको रैथाने, खासै दुःखको अनुभव नभएको, परिवारमा पुल्पुल्याएको आफूले यो कार्यक्रममा सहभागी हुने अवसर नहुँदो हो त व्यावहारिक ‘जीवन उपयोगी शिक्षा’ प्राप्त गर्न असम्भवजस्तै हुने थियो होला । मैले भन्नै पर्छ ‘पढाई त ज्ञान बढाउनका लागि मात्र हो, जिन्दगी जिउन त परिस्थिति र भोगाइले मात्र सिकाउँछ ।’
राविसे कार्यक्रमपछि बाँकी रहेको एक वर्षे स्नातकोत्तर पढाइ रमाइलोसँग बित्यो । जागिरको हिसाबले आफूले मेहनत गर्नु नै परेन । पढाइ सकिनासाथ त्रिविको सेडाबाट डेमोग्राफर र राविसेबाट सुपरीवेक्षण अधिकृत पदमा काम गर्न प्रस्ताव आयो । मैले राविसे नै जाने निधो गरेँ । यसको प्रमुख श्रेय राविसेलाई दिन चाहन्छु ।
कामको सिलसिलामा देशका विभिन्न जिल्ला, गाउँ–गाउँ गई स्वयम्सेवी युवाहरूसँग अन्तक्र्रिया गर्ने ठूलो अवसर प्राप्त हुनुका साथै उनीहरूले गरेका उल्लेखनीय कामहरू हेर्ने मौका पाइयो । कोही छिटपुटबाहेक अधिकांश युवाहरूले शिक्षणका अलावा अभियन्ता, सहजकर्ता, सामाजिक परिचालनकर्ता, परिवर्तन अभिकर्ताको रूपमा कार्यरत रहेको देखियो । यसबाट सामाजिक र राजनीतिक रूपान्तरणमा ठूलो सफलता हासिल गरेको मान्न सकिन्छ । साथै, यो कार्यक्रमले युवाहरूको आफ्नै व्यक्तित्व विकासमा प्रशस्त प्रभाव पारेको देखियो । व्यक्तिगत कुरा गर्दा राष्ट्रिय विकास सेवा र पछि युनिसेफमा कार्यरत हुँदा नेपालको तत्कालीन ७५ जिल्ला घुम्न सफल भयौँ । मेरा लागि गौरवको अनुभूति हुन्छ ।
राष्ट्रिय विकास सेवामा कार्यरत रहँदै गर्दा युएनको एसिया तथा प्रशान्त क्षेत्रको ‘स्वयम्सेवी’ परियोजनामा कार्य गर्न प्रस्ताव आयो जसलाई सहर्ष स्वीकार्दै चार वर्ष श्रीलंकामा रही काम सिकाउने र सिक्ने काम गरियो । यसै सिलसिलामा एसियाकै ठूलो गैरसरकारी संस्था ‘सर्वोदय सँगमय’सँग पनि काम गर्ने अवसर मिल्यो । जसले गर्दा देशमा मात्र होइन विदेशमा समेत सिक्ने र सिकाउने अवसर मिल्यो ।
संसारका विभिन्न देशहरू घुमियो, युवाहरूका विभिन्न कार्यक्रमहरू पनि हेरियो । शिक्षित युवाहरूलाई परिचालन गरी देश विकासको साझेदारी गर्न सफल राष्ट्रिय विकास सेवाजस्तो उत्कृष्ट र गौरव गर्न लायकको कार्यक्रम सायदै अरू देशमा होला । यो कार्यक्रम विश्वका धेरै मुलुकले अवलोकन गरी अनुशरण गरेको सुनेको हो । संयुक्त राष्ट्र संघ युएनडीपी, युनिसेफबाट ठूलो समर्थन प्राप्त कार्यक्रम थियो यो ।
यस्तो भन्दै गर्दा विडम्बना सरकारले यो कार्यक्रम विनाकारण स्थगन गरियो र युवाहरूको देश सेवा गर्ने अवसरबाट बञ्चित हुन पुग्यो । श्रीलंकाबाट फर्केर आउँदा लौह पुरुष गणेशमान सिंहको भेटमा ‘श्रीलंकाबाट के ल्यायौ’ भन्नुभाको सम्झना ताजै छ । म त कुनै उपहारको कुरा गर्नुभएको जस्तो लागेको थियो । तर उहाँले ‘के सिकेर आएको’ भन्नुभयो । आफूले पनि ‘देश विकासमा युवा परिचालन’को कुरा राखेँ । ध्यानपूर्वक सुन्नुभयो र राम्रो छ यो लागू गर्नुपर्छ, म किसुनजी (तत्कालीन प्रधानमन्त्री)सँग कुरा गर्छु भन्नुभयो’ तर विभिन्न कारणवश त्यो अगाडि बढ्न सकेन ।
विश्वको जुनसुकै ठाउँको राष्ट्र निर्माणमा युवाशक्ति अमूल्य स्रोत हो । युवाहरू समुदायको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको अग्रगामी, सकारात्मक परिवर्तनका प्रेरक शक्ति र अन्ततः राष्ट्रको छवि निर्माण गर्ने पनि हुन् । तिनीहरू आफ्नो साहस, नवीनता, जिज्ञासा र उच्चस्तरको आत्म–विश्वासको कारणले पनि महत्वपूर्ण सम्पत्तिको रूपमा हेरिनुपर्छ । नेपालमा झण्डै ४० प्रतिशत युवा रहेको छ । अतः युवाशक्तिलाई सही ढंगले बुझ्नुपर्छ, कदर गर्नुपर्छ र समग्र राष्ट्र निर्माणका लागि परिचालन गरिनुपर्छ । यसको गलत बुझाइ, गलत अर्थ र दुरुपयोग भएमा यो उत्तिकै खतरनाक हुन सक्छ । यस्तो भन्दै गर्दा नेपाली युवाहरूले खासै अवसर पाउन सकेको देखिँदैन ।
हाल देशबाट विभिन्न कारण देखाई प्रत्येक वर्ष लाखौँको संख्यामा युवा विदेश पलायन भइरहेको अवस्था छ । अति गम्भीर र चिन्ता लाग्ने नयाँ लहर सुरु भएको छ । पढे लेखेका बुद्धिजीवीहरू समेत पनि पलायन हुने क्रम दिन प्रतिदिन बढेको अवस्था छ । यस्तै, लहर चल्ने हो भने ‘युवाविहीन’ देशको रूपमा देख्नु, सुन्नुपर्ने हुन्छ ।
सरकारसँग पलायन रोकथाम कम गर्न खासै योजना तयार गरेको देखिएको छैन । सबै राजनीतिक दलका नेताहरू यही मुद्दामा प्रत्येक दिन मात्र ठूलाठूला भाषण दिने र चिन्ता पोख्नेबाहेक ठोस कार्यक्रमको छलफल गरेको समेत सुनिएको छैन । आज हामी गौरवको आयोजना भन्दै धेरै खर्चालु, ऋण लिँदै आफूले धान्नै नसक्ने कामहरूजस्तै मेलम्ची, फास्ट ट्र्याक सडक निर्माण, दुईवटा अन्तर राष्ट्रिय विमानस्थलमा नराम्ररी फसिसकेको छ । हिजो मात्र १० हजार मेघावाट बिजुलीको भारतसँग सम्झौता भएको छ । अरू ठूला मेघा परियोजनाजस्तै निजगढ विमानस्थल आदिको परिकल्पना गरी राखेको अवस्था छ । यस्तो परियोजना नचाहिने होइन तर किन समयमा काम हुँदैन ? घाँटी हेरी हाड निल्नुपर्ने हुन्छ, नभए अर्काको निर्भरता र ऋणको बोझमा बस्न बाध्य हुनुपर्नेछ । युवाहरूलाई बिर्सिराखेको त होइन ? त्यो मेघा परियोजना कसका लागि ? यदि भएका युवाहरू नै देशबाट पलायन हुने हो भने ? ‘स्मल इज ब्युटिफुल’को अवधारणा पनि अपनाउनुपर्ने हुन्छ । देशमा धेरै अनुभव प्राप्त बुद्धिजीवीहरू नभएको होइन । राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रममा भाग लिएका धेरै व्यक्तिहरू हाल नेता भई सरकार चलाउने पदमा आसीन समेत भएको देख्छु । तर नेता र सरकारको इच्छाशक्ति खोई त ? ढिला गर्ने अब छुट छैन । आह्वान हुनुपर्यो, छलफल हुनुपर्यो र राष्ट्रिय विकास सेवाजस्ता युवा केन्द्रित कार्यक्रम लागू हुनैपथ्र्यो र युवाहरूलाई अवसर दिनुपर्यो ताकि देशबाहिर नभई देशभित्रै काम गर्नुपर्छ भन्ने सोचाइमा परिणत हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया