Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पुस १७ गते मंगलबारदेखि १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्युरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । देशभर आयोेजित कार्यक्रममा नौ सय २७ रक्तदाताहरूबाट चार सय ३९ लिटर रगत दान गरिएको छ । यसैगरी निःशुल्करूपमा सात सय ८३ जनाको आँखा जाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरेको छ ।

यस्तै, बैंकले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नं ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं १३ जर्बुटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशमा दुई सय र कर्णाली प्रदेशमा एक सय ५० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् ।

अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बैंकले जनाएको छ । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरू निःशुल्करूपमा उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आमनागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया