हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन : वुहान ल्याब प्रमुख
न्युयोर्क, जेठ १२
कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णतः बनावटी र मनगढन्ते रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसञ्चालित सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले वुहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन् । धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाइ छ ।
पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ । दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ ।
‘यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए’, उपशीर्षकमा भनिएको छ । अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ ।
मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेलेका थिए । उनले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गरेका छन् । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ । क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरञ्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् ।
न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७ सय ९९ जनासम्मको ज्यान गएको थियो । करिब एक लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् ।
कोरोनाभाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ । दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो । ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो ।
ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ । भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ । केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया