रविन्द्र काफ्ले
फिदिम, जेठ १४
पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका एक सय ४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरूले पाँचथर उद्योग वाणिज्य संघ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरूको गुनासो छ । विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता केरुङले बताइन् । ‘व्यवसायी लकडाउन भन्न पाउनुभएको छैन ।
घरभाडा नबुझाइ नहुने, बैंकको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ’, केरुङले भनिन्, ‘धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ ।’ कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ । व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूहरू जानकार रहेपनि संघीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए । पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरेले बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताए । ‘घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गर्नुभएको छ’, उनले भने ।
पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताए । यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य संघका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले संघीय सरकारले स्पष्ट नीति बनाई व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । ‘अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ’, उनले भने । यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पुँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् । ‘भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्’, अध्यक्ष नेपालले भने, ‘सामान बिक्री भइसक्यो, संकलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पुँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।’ पाँचथरमा पाँचथर उद्योग वाणिज्य संघ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया