Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरिब ३५ करोडको खानेपानी आयोजना सञ्चालनमा

करिब ३५ करोडको खानेपानी आयोजना सञ्चालनमा


पोखरा । पोखरा महानगरपालिका वडा नं.३३ स्थित निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो ।

उक्त अवसरमा प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताए । आयोजनाले तत्कालका लागि एक हजार नौ सय ८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै तीन हजार दुई सय बढी घरमा धारा जोडिने उनले बताए ।

‘खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ’, प्रमुख आचार्यले भने, नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।’ चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजनाहरू सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उनले बताए ।

हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषण पश्चात् गरिबीको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले नि:शुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गरे ।

उनीहरूलाई खानेपानीसँगै नि:शुल्क स्वास्थ्य बीमा पनि गरिदिने योजनामा आफूहरू रहेको उनले बताए । ‘हामी गरिबीको रेखामुनि रहेको परिवारलाई प्रतिपरिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको नि:शुल्क स्वास्थ्य बीमा पनि गरिदिन्छौँ’, प्रमुख आचार्यले भने ।

आयोजनाको कूल लागत ३४ करोड ९१ लाख ७२ हजार दुई सय रुपैयाँ रहेको उपभोक्ता समितिका अध्यक्ष केशर प्रसाद निर्दोषीले जानकारी दिए । उनका अनुसार उक्त रकमको पाँच प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ । आयोजना अन्तरगत तीन हजार दुई सय धारामध्ये एक हजार नौ सय ८० धाराहरू जडान गरिएका छन् ।

कलेक्टर वेल दुई वटा, सम्पवेल दुई वटा, स्लो सेन्ड फिल्टर चार वटा, रफिङ फिल्टर छ वटा, क्लियर वाटर ट्याङ्क एक वटा, आरभिटि चार वटा, सेड हाउस सात वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० किमि र वितरण लाइन १८ किमि विस्तार गरिएको छ ।

खानेपानी आयोजनालाई प्रविधिमैत्री बनाउनका लागि सक्दा सिस्टम जडान कार्य अन्तिम चरणमा पुगेको र त्यसका माध्यमबाट पानीको भल्व खोल्ने बन्द गर्ने कार्य हुनेछ । सक्दा सिस्टम जडान कार्यका लागि थप एक करोड ५७ लाख ४० हजार रुपैयाँ थप खर्च हुनेछ ।

आयोजनाको सरसफाइतर्फ सात वटा कीरियापुत्री भवन निर्माण गरिएको छ भने, दुई वटा सार्वजनिक शौचालय निर्माण गरिएको आयोजनाका उपाध्यक्ष मुक्तिनाथ पौडेलले जानकारी दिए । उनका अनुसार हाल बिहान ५ र साँझ ५ गरी दैनिक १० घण्टा पानी उपभोक्ताकामा पानी जाने गरेको छ ।

समितिको हालै सम्पन्न पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पुन: निर्दोषीको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरूलाई निरन्तर स्वच्छ खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको अध्यक्ष निर्दोर्षीले प्रतिबद्धता जनाए ।

हाल प्रतिमहिना छ युनिट पानीको महसुल दुई सय ५० तोकिएकामा आयोजनाको ऋण चुक्ता पश्चात् उपभोक्ताहरूलाई सहुलियत मूल्यमा पानी वितरण गरिने उनले बताए । आयोजनाले पोखरा महानगरपालिका वडा नं.१७, २१ र ३३ का विभिन्न वस्तिहरूमा पानी वितरण गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया