मुग्लिन (चितवन) । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । ०७२ साल पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् ।
इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानोे घरलाई भने भूकम्पले क्षति पुर्याएनन् । उनले अहिले उक्त घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए । पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन् । राससका अनुसार फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मतसम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन् ।
घरधनी गुरुङले भने, “भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।” यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ ।
स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । फिस्लिङ–शक्तिखोरको कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ । एकपटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं– २ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन् । घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् ।
यहाँ पर्यटकको चहलपहल हुन थालेकोे धेरै भएको छैन । स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पर्थ्यो । तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो । केही वर्षयता फिस्लिङ– शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो ।
उनले भने, “यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् ।” “घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो । तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थालेका छन् ।”
वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानियको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन् । अध्यक्ष चेपाङले भने, “सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छनै स्थानीयले उतपादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ ।”
काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन् । यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् । यो बाटो पृथ्वीराजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया