Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली प्रवेश पत्र बनाएर लाइसेन्सको ट्रायल दिने पक्राउ

नक्कली प्रवेश पत्र बनाएर लाइसेन्सको ट्रायल दिने पक्राउ


काठमाडौं । नक्कली प्रवेश पत्र बनाएर दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एकजना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरबाट ट्रायल दिने क्रममा तीन वटा प्रवेश पत्रसहित प्रहरीले ईलामका सिजन पुरीलाई नियन्त्रणमा लिएको हो ।

इलामको चुलाचुली ४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रवेश पत्रमा ९६७२९४७ एप्लिकेसन आईडी नम्बर उल्लेख भएका पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भएपछि पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएका थिए । दोस्रो पटक पनि परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा आएका पुरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया