काठमाडौं । चालू वर्षको छ महिनाका आर्थिक गतिविधि झल्काउने विभिन्न प्रकारका विवरणहरूले कुनै पनि सन्तोष गर्ने ठाउँ देखाएको पाइएको छैन । त्यो व्यापार व्यवसायमा होस् कि विकास निर्माणमा, उद्योग कलकारखानाको पनि अवस्था उस्तै देखियो । व्यापारिक कारोबार घटेको भनेर देखाइएको समयमा व्यापार घाटा भने झनै बढेको अवस्था छ । सात खर्बको आयात हुँदा निर्यात एक खर्ब पनि नपुग्नु आफैँमा राम्रो होइन । पछिल्लो समय भन्सार विभागले बितेको छ महिनामा खाद्यान्नको अर्थात् कृषि उपजमध्येको एउटा वस्तु २२ अर्बको आयात भएकोमा यता निर्यात भने ६० लाखको मात्रै भयो । यो विषय खाद्यान्नकै हो । यही क्रममाले अरू बस्तुको आयात स्थिति कायम हुँदा नै व्यापार घाटा बढ्न गएको भन्ने यी कुराहरू सार्वजनिक भइरहँदा यसलाई सन्तुलनमा ल्याउने भन्ने सरकारको कुनै योजना आएको छैन । यहाँ उल्लेख भएका खाद्यान्न देशमा प्रचुरमात्रामा उत्पादन हुन सक्नेमध्येमा पर्छन् । त्यसका लागि सरकारले समयमा नै मलखाद र बीउविजन तथा केही सिँचाइको व्यवस्था गरिदिए पुग्छ । तर सरकारले जहिले पनि प्राथमिकतामा राख्ने गरेका यी कुरा कहिल्यै पूरा भएको अवस्था छैन ।
चालू आर्थिक वर्षको आधा समयमा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात भएका वस्तुमा गहुँ तथा गहुँजन्य वस्तु १२ करोड ३९ लाख ६८ हजार किलो छ । गहुँ भनेको नेपालका सबै भूभागमा उब्जनी हुने वस्तु हो । चालू वर्षको यो समयमा यो मात्राको गहुँ मेक्सिको र भारतबाट आयात गरिएको हो । भारत छिमेकी देश हो । आयात गर्न सजिलो हुन्छ तर मेक्सिको त निकै टाढाको देश हो । तर पनि आयात गर्न त्यहाँसम्म पुगियो । गहुँको आयातीत मात्रा पाँच अर्व (चार अर्ब ९९ करोड २८ लाख रुपैयाँको छ । विभागका अनुसार बासमती चामल मात्रैमा यो छ महिनामा तीन अर्ब २१ करोड २५ लाख रुपैयाँ बाहिर गयो । यो प्रकारको चामलको आयात चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डलगायतका देशबाट ल्याएको हो । पाखा मैदान जतात्यतै उत्पादन हुने मकै मात्रैमा यो छ महिनामा छ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च भएको छ । मकै आयातीत गरिएका देश हुन अर्जेन्टिना, भारत, थाइल्याण्ड, ब्राजिल, चीन, टर्कीलगायत । विभागका अनुसार यो छ महिनामा धान तथा पोलिस गरेको चामललगायतका खाद्यान्नमा सात अर्ब ३८ करोड ७६ लाख रुपैयाँ देशबाट बाहिर गयो ।
खाद्यान्न आयातको अवस्था यस्तो छ भने यो छ महिनामा नेपालले ४९ हजार चार सय ४९ किलो अर्थात् ४९ मेट्रिक टन खाद्यान्न वस्तु निर्यात गरेको देखिएको छ । विभागका अनुसार नेपालले निर्यात गरेका देशमा अस्ट्रेलिया, भारत, हङकङ, इटालीलगायत छन् । वस्तुमा भने मकै, बासमती चामल, कोदो, फापर आदि पर्छन् तर निर्यात गरेको परिणाम भने करोड पनि पुगेको छैन । २२ अर्बको आयात हँुदा यता निर्यातचाहिँ आधा करोड (६० लाख)को मात्र हुनु सामान्य अवस्था होइन । नेपाललाई कृषिप्रधान देश भनिन्छ । त्यही कृषिको उपज खाद्यान्नका आयात निर्यातमा यति ठूलो अन्तर परिरहेको छ भने कृषिमा आत्मनिर्भरताको कुरा त एकादेशको कथा हुने भयो नै । यसलाई सन्तुलनमा ल्याउन नसकिनेचाहिँ होइन । त्यसका लागि सर्त हो आफूले जनाउने गरेका प्रतिबद्धताहरू पूरा गरिनु । तर आजसम्म यी कुरा कहिल्यै पूरा भएनन् र प्रत्येक वर्ष यस्तै परिणाम आइरहेका छन् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया