Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा चार करोड लगानीमा खुल्यो सिल्भर प्लेट पार्टी प्यालेस

पोखरामा चार करोड लगानीमा खुल्यो सिल्भर प्लेट पार्टी प्यालेस


पोखरा । गण्डकी प्रदेशका पूर्व सांसद दीपा रोका र युवा व्यवसायी विकास श्रेष्ठको संयुक्त लगानीमा पोखरा महानगरपालिका वडा नं.९ बास्तोलाथरमा सिल्भर प्लेट पार्टी प्यालेस सञ्चालनमा आएको छ । सञ्चालकहरुका अनुसार उक्त पार्टी प्यालेस करिब चार करोड लगानीमा खोलिएको हो ।

सातरोपनी क्षेत्रफलमा निर्माण भएको पार्टी प्यालेस एक हजार जना क्षमताको छ । प्यालेसमा फोटो सेसनकै लागि पानीको झरनासहितको वाल पेन्टिङ, हात्ती र त्यसको छाउराको मूर्ति बनाएर राखिएको छ । पार्टीप्यालेसको दक्षिणी क्षेत्रमा फराकिलो पार्किङ छ । पार्टी प्यालेसमा अन्यत्र भन्दा फरकपन दिन खोजिएको छ । ग्राहकलाई चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने व्यवस्था गरिएको छ । ‘विवाह भोज हुँदा बेहुला, बेहुली, बेहुलाका बुबा, मामा, दाजुभाई, दिदीबहिनीसहितका नजिकका आफन्तलाई चाँदीको थालमा खाना खुवाउँछौं’, सञ्चालक रोकाले बताइन् ।

ब्रतबन्ध तथा पास्नीको भोजमा पनि सोही अनुसार चाँदीको थालमा भोजन गराइने उनले बताइन् । चाँदीको थालमा खाना खानेका लागि भोजनालय छुट्टै छ । उक्त भोजनालयलाई फूल र बत्तीले सजाइएको छ । शुभ कार्य गर्दा चोखो खाना खुवाउने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित चाँदीको थालमा चाँदीकै चम्चाले खाना खुवाउने व्यवस्था गर्न लागेको अर्का सञ्चालक श्रेष्ठले बताए । उनले भने, ‘यसले भोज आयोजना गर्नेलाईपनि आफ्नो विवाह, ब्रतबन्ध, जन्मदिन अविष्मरणीय हुनेछ ।’

यसका अलावा पोखरामा पहिलो पटक पार्टी प्यालेसमै भोज आयोजना गर्दा कालिज, लोकल कुखुरा र खसीको मासुको समेत स्वाद पस्किने श्रेष्ठको भनाइ छ । सञ्चालिका रोकाका अनुसार पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, पास्नी, बर्थडे, सभा, सेमिनारसहित ईन्डुअर तथा आउटडोर क्याटरिङ सेवा प्रदान गरिनेछ । ‘आफ्नै च्वाइसमा फूल डेकोरेसनका साथ स्वादिष्ट परिकार हामी दिन्छौं’, उनले भनिन् ।

‘सिल्भर प्लेट, सबैभन्दा बेष्ट’ भन्ने नारासहित सञ्चालित पार्टी प्यालेस पोखरेलीको रोजाई बन्ने सञ्चालकहरुको दावी छ । खुल्ला तथा पर्याप्त क्षेत्रफलसहित पार्किङ सुविधाका कारणले पनि पार्टी प्यालेस सबैको रोजाई बन्ने सञ्चालकको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया