सुन्तलाको बढ्दो व्यावसायिक खेती र आम्दानी
काठमाडौं । पारिलो घाम तापेर सुन्तला तासेर खाएर आनन्द नलिने सायदै नेपाली होलान् । सुन्तला नेपालीहरूको प्रिय फलमा पर्छ । सुन्तला नेपालीहरूले पूजा आदिमा भगवान्लाई चढाउने फलको रूपमा पनि चिनिन्छ । सुन्तलाका केस्रा प्रसादको रूपमा ग्रहण गरेको धेरैलाई याद भएकै होला ।
मेरो सुन्तलासँगको साइनो सम्बन्ध बालक कालदेखिकै हो । म जहाँ जन्मिएँ हुर्किएँ बढे तेह्रथुमको साब्ला गाउँमा त्यहाँ सुन्तला नभएको घर नै छैनभन्दा पनि हुन्थ्यो । सबैका घरमा धेरथोर सुन्तलाका बोट लगाएकै हुन्थे । व्यावसायिक हिसाबले नभए पनि आफूलाई खानको लागि र घरबारीको शोभा बढाउन अन्य फलपूmलसँगै सुन्तला पनि बगैँचाबारी भनेर वा नभनी बारीको छेउ भित्तामा हुर्काउने गरिन्थ्यो । बोटभरि लटरम्म पहेँला सुन्तला देख्दा कसलाई रमाइलो लाग्दैन होला ?
हाम्रो ठूलो झिँगटी लगाएको घर थियो । त्यसैले सबैले ठूलाघर भन्थे । ठूला घरको तलतिर ठूलो टाहारबारी छ । टाहारबारीको भित्तामा अर्थात् घरको करेसा गारोको छेउमा लहरै सुन्तला लगाएका हामी पर्खालमाथि चढेर सुन्तला टिपेर झोलाभरि पारेर घामको न्यानोमा सामूहिक गफमा रमाउँदै खाएको स्वाद र आनन्दको वर्णन शब्दमा सकिँदैन ।
हाम्रो घर अगाडि अलिक पर माथ्लोघर, माझघर र छेउघर एकै ठाउँमा छन् । घर त छन् तर पहिलाजस्तो रहरलाग्लो सुन्तलाको रहरलाग्दा झपक्क बोट पनि छैन, मान्छेको चहलपहल पनि छैन, सुनसान मात्रै छ । त्यसबेला त सुन्तला पाकेको बेला त के रहरलाग्दो देखिन्थ्यो भने साँचै मनमोहक थियो त्यो परिवेश । माथ्लोघर आमा त थुन्सेभरि बोकाएर शुक्रबार लाग्ने म्याङ्लुङ्ग बजारमा लगेर बेचेर पनि आउनुहुन्थ्यो । ताजा सुन्तला बाटो हिँड्ने इस्टमित्र सबैले खाएका हुन्थे । अहिले मान्छेले छोडेर स्याहार मलपानी नभएर हो कि मौसम परिवर्तनको असर हो सबै सुन्तला मरेका छन् या मसिना मात्रै फलेका छन् । पहिला सुन्तला नफल्नेतिर फलेका छन् अलि माथितिर ।
अहिले म विवाह भएर गएको घर चुहान्डाँडामा पनि सुन्तलाको कथा साबलाको जस्तै छ । त्यहाँ पनि यति राम्रा स्वादिला ठूला सुन्तला फलेका हुन्थे । त्यहाँ पनि हामी गारोबाटै टिपेर खान्थ्यौँ । आज त्यहाँ पनि बोट मर्ने ठूला राम्रा नफल्ने कारण माथि सावलामा भनिएकै हो भन्दा फरक पर्दैन । मौसम फेरबदलको कारण होस् या बसाइसराइ या स्याहार या मलपानी आदि जे कारणले सुन्तलाको फल्न फूल्न तलमाथि भए पनि सुन्तलाको बजार बढ्दो छ । अब सुन्तलाको उत्पादन बजार र नगदतिर प्रवेश गरौँ ।
जुनबेला यातायातको सुविधा थिएन त्यसबेला सुन्तलाको व्यापार अर्थात् खरिद बिक्रीमा कठिनाइ थियो । ढाकरमा सुन्तला हालेर मानिसले पिठ्युमा बोकेर चार÷पाँच दिनको बाटो हिँडेर पहाडबाट तराईको हाट बजारमा लैजाने चलन थियो । यातायात अर्थात् मोटरबाटो नभएकाले मानिसले ढाकरमा बोकेर लैजादाँ मात्रामा थोरै जाने ढुवानी खर्चमा धेरै जाने हुनाले यस्तो व्यापार सीमित व्यक्तिले मात्र गर्थे । तराईको बजार नजिक भएका पहाडबाट अलि धेरै मात्रामा यस्तो व्यापार हुने गरेको थियो । प्रायःजसो सुन्तला बेचेर नुन, तेल, लुगाफाटोको जोहो गर्नेहरूले सानोतिनो व्यापार गरेका हुन्थे ।
पूर्वाञ्चलमा कोशी प्रदेशको धनकुटामा सबैभन्दा धेरै सुन्तलाको खेती भएको पाइन्छ । धनकुटाका सुन्तलाहरू धेरै ठूला रसिला र स्वादिला हुन्छन् । पहिला यातायात नभएको बेलामा पनि मानिसले डोका, ढाकर आदिमा बोकेर घनकुटाबाट धरानमा धेरै सुन्तला लैजान्थे । त्यहाँबाट इटहरी, विराटनगरमा लगिन्थे । उतैबाट धनकुटाका सुन्तला लिन इटहरी विराटनगरका व्यापारीहरू धरानमा आएका हुन्थे । कतिले सोझै उतै लैजाने व्यवस्था पनि मिलाएका हुन्थे । तर पनि व्यावसायिक हिसाबले सुन्तला खेती भएको थिएन ।
यता पछिल्ला केही दशकमा यातायातको पहुँच गाउँगाउँमा फैलिएपछि भने धेरै किसानहरूले अन्य बाली लगाउन छोडेर व्यावसायिक किसिमले सुन्तला खेती लगाउने क्रम बढेको छ । जति उत्पादन गरे पनि सुन्तला नबिक्ला भन्ने डर किसानलाई छैन । अहिले धनकुटाका मीठा सुन्तला नेपालका पूर्वी तराईका प्रमुख बजारमा मात्रै नभएर भारतको जोगबनी र सिलगढीमा पनि पुग्ने गरेका छन् । त्यहाँ धनकुटाका मीठा सुन्तलाको निकै ठूलो माग छ ।
पछिल्लो दशकयता व्यावसायिक किसिमले सुन्तलाको खेती गर्ने किसानहरूको संख्या बढेको छ । कतिपय त गाउँ नै सुन्तला गाउँ भएको छ । कतिपय गाउँले सुन्तला गाउँहरूको समूहको परिचय बनाएका छन् । त्यहाँ करोडौँको सुन्तला बिक्री भएर गाउँमा नगद भित्रिन थालेको समाचार पनि सार्वजनिक हुन थालेका छन्, जुन सकारात्मक समाचार भएको छ । केही प्रतिनिधिमूलक समाचारको सारले भन्छ कि नेपालमा सुन्तला खेतीको अझ व्यावसायिक सुन्तला खेतीको भविष्य छ ।
नेपालमा पूर्वी जिल्लामा धनकुटामा फलेका सुन्तलाको माग बढी भएजस्तै पश्चिम जिल्ला गोरखामा फलेका सुन्तलाको माग र रोझाइ बढी भएको पाइएको छ । गोरखाको पनि सबैभन्दा धेरै मनकामनाका सुन्तलाको माग धेरै छ । यसको कारण हो त्यहाँका सुन्तला धेरै रसिला र गुलिया छन् । रहरलाग्दा र स्वादिला पनि छन् । कतिपय व्यापारीले त मनकामनाका सुन्तला भनेर झुक्याएर पनि बेच्ने गरेको पाइन्छ । त्यसो त नेपालमा अन्य जिल्लामा उत्पादन भएका सुन्तला पनि स्वादिला नै छन् ।
विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका समाचारलाई केलाएर विश्लेषण गर्ने हो भने नेपालमा सुन्तला खेतीको भविष्य छ । व्यावसायिक सुन्तला खेतीको झन् भविष्य छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तनहुँका व्यावसायिक सुन्तला खेती गर्ने किसान भीमबहादुर रानाले अघिल्लो साल सुन्तला बेचेर ४९ लाख कमाएका रहेछन् । यो साल उनले ५३ लाखका सुन्तला बेचेका रहेछन् । अरूभन्दा फरक उनी बिचौलियालाई सुन्तला नबेचेर सोझै कालीमाटीमा आफैँ लिएर जाँदा रहेछन् । जसको कारणले उनलाई सुन्तलाबाट उचित आम्दानी हुन सकेको हो । उनले जम्मा उनले एक सय १३ रोपनी क्षेत्रफलमा एक हजारभन्दा बढी सुन्तलाका बोटबाट यति आम्दानी गर्न सकेका रहेछन् ।
भीमबहादुरले सुन्तला बेचेर नै सुन्तलाको आम्दानीबाट दमौलीमा घर र नारायणघाटमा घडेरी किनेका रहेछन् । साथै, उनले सुन्तला ढुवानी गर्न दुईवटा गाडी पनि खरिद गरेका रहेछन् । देवघाट विकास समितिका अध्यक्ष समेत रहेका सामजिक व्यक्तित्व भीमबहादुरको प्रेरणा र उनले सुन्तलाबाट गरेको आम्दानी देखेर उनका छरछिमेकी गाउँले किसानहरू पनि व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । यस्ता किसानको संख्या सयभन्दा बढी पुगेको छ । उनको गाउँ उनकै कारणले सुन्तलामय भइरहेको छ ।
यसरी नै स्याङ्जाको भीरकोट नगरपालिकामा वाड नं ७ मा मात्रै यसपालि सुन्तला बेचेर किसानहरूले ११ करोड कमाएका रहेछन् । ७ का वडाध्यक्ष एवम् सुन्तला सुपर जोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले यो कुरा विभिन्न मिडियामा सार्वजनिक गरेका थिए । यो वडामा लगभग सय परिवारले सुन्तलाको व्यावसायिक खेती गरेका रहेछन् । यीमध्ये थोरै आम्दानी गर्ने पचास हजार सबैभन्दा धेरै आम्दानी गर्ने तीस लाखका किसान रहेछन् । गत साल सुन्तलाबाट यस वडामा पन्ध्र करोड भित्रिएको रहेछ । तर यसपालि सुन्तला थोर फलेर आम्दानी घटेको रहेछ । यो उत्पादन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भीरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमना बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरेकाले सहज भएको रहेछ । गत वर्ष स्याङ्जा जिल्लाले पच्चीस करोडभन्दा धेरै नगद सुन्तला बेचेर कमाएको रहेछ ।
यी त भए सुन्तला खेतीका केही प्रतिनिधिमूलक उदाहरण । यसले जाहेर हुन्छ कि नेपालमा सुन्तला खेतीको व्यावसायिक खेती र आम्दानी पनि बढ्दो छ । तिनै तहका सरकारले सुन्तला खेतीलाई प्रोत्साहन गर्नुपर्छ । सुन्तलामा नेपाललाई आत्मनिर्भर बनाउने गुरुयोजना बनाउनुपर्छ । किसानलाई सबै किसिमले सहुलियत दिनुपर्छ । गुणस्तरीय चिस्यान केन्द्र पनि खोल्नुपर्छ । उनीहरूले उच्च मूल्य पाउने व्यवस्था मिलाउनु पर्छ । रोग किराबाट जोगाउन सबै किसिमले सरकारले सहयोग गर्नुपर्छ । किसानलाई बजारको समस्या हुनुहुँदैन ।
सुन्तला सबै किसिमले स्वास्थ्यको लागि फाइदाजनक छ । सबैले स्वास्थ्य बनाउन सुन्तला खाने बानी गरौँ । सुन्तलाले बेफाइदा गर्दैन । फाइदा मात्रै गर्छ । सुन्तला खाँदा बाहिरका सेता रेसा पनि खाएमा फाइदा हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया