Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनगर प्रमुखहरूलाई एक महत्वपूर्ण सुझाव

नगर प्रमुखहरूलाई एक महत्वपूर्ण सुझाव


काठमाडौं । देशमा सहरीकरण र बजारीकरणले तीव्रता लिएसँगै विभिन्न व्यावसायिक गतिविधिहरू चलिरहनु स्वाभाविक हो । ती धेरै व्यवसायहरूमध्येमा पर्छन् खाजा पसल, रेस्टुरेन्ट, क्याफे, फास्टफुड, बेकरी, कफी–चिया पसल, मिठाइ पसल, चटपटे–पानीपुरी पसल र लस्सी पसल आदि । बजारका सडकहरूमा गुड्ने गाडीले फ्याँक्ने कार्बन र साथसाथै गाडीले उडाउने गरेको धुलो मिश्रित वायु हामीहरूले नजानिँदो किसिमबाट फोक्सोमा पुर्याइरहेका हुन्छौँ । जसले गर्दा श्वासप्रश्वासलगायतका विभिन्न रोगका कारण अस्पताल धाइरहनुपरेको समस्या धेरैमा छ । त्यस्तो प्रदूषित वायुमा रहेका अस्वस्थकर तत्वहरू सडक छेउमा रहेका माथि उल्लेखित खाद्य पसलहरूमा पनि नदेखिने गरी मडारिने गरेको छ ।

हामी कुनै बेकरी पसलमा आकर्षक ढंगले सजाइराखेको पेस्ट्री देख्नेबित्तिकै खाउँखाउँझैँ लाग्छ तर सडकमा गाडीले पैदा गरेको धुलो र धुवाँका अंशहरू ती पेस्ट्रीमा परेको छ र यो खानलायक छैन भनेर विचार गर्दैनौँ । यस्तै, माथि उल्लेखित खाद्यवस्तुहरूमा धुवाँधुलोको अंश परिरहेको हुन्छ । तर हामी त्यतातिर ध्यान दिँदैनौँ । विकसित मुलुकभन्दा हाम्रो मुलुकमा धेरै लापरबाही भएको पाइन्छ । सरकारी निकाय वा संयन्त्रले मात्र होइन संघ–संस्थाहरूलगायत कसैले केही मतलब गरेको देखिँदैन । जसरी हुन्छ जीवन बिताउन पाए हुन्छ भन्ने आभाष पाइन्छ नगरवासीहरूमा । गम्भीरतापूर्वक दूरदृष्टि राख्ने चलन हाम्रो मुलुकमा देखिँदैन ।

हामी आफैँ संघर्ष गरेर कमाएको धन सचेत नबन्दा स्वास्थ्यमा समस्या आएपछि अस्पताल जान्छौँ र खर्च गर्छौँ । त्यस्तो धनले नपुगेमा साहुमहाजनबाट मिटरब्याजमा पनि सापटी माग्छौँ । बग्रेल्ती खुलेका राम्रा–नराम्रा अस्पताल, क्लिनिक, हेल्थसेन्टर, औषधी पसलको शरणमा परेर हजारौँ लाखौँ खर्चन्छौँ । आफ्नो स्वास्थ्यप्रति सचेत र गम्भीर हुने मनस्थिति हामीहरूमा खासै भएको पाइँदैन । बजारका खाद्यवस्तुहरू खानयोग्य छन् कि छैनन् भनेर निक्र्यौल गर्ने चलन छैन हामीमा, खान पाए पुग्यो ।

सहर बजार र राजमार्गमा गुड्ने सवारी साधनहरूले पैदा गर्ने कार्बन र धुलो पसलमा खुलारूपमा राखिने गरेको खाद्यवस्तुमा बस्छ । माटोको धुलोले खासै असर नगरे पनि कार्बनले पेटमा अवश्य पनि असर गर्छ । पोलेको मकै, पोलेको मासु नखान विज्ञहरूले सुझाव दिँदै पनि आएका छन् । कार्बन पेटमा पुग्दा पेट र आन्द्राको क्यान्सर हुने सम्भावना ज्यादै हुने विज्ञहरूको भनाइ पनि छ । बाटो हिँड्ने बटुवाले ¥याल, सिँगान, खकार, पान सुर्ती खाएर थुक्ने थुक जथाभावी फ्याँक्ने हुँदा त्यस्ता फोहर सुकेर धुलोमा मिसिने र सो धुलो पसलहरूमा सहजै प्रवेशगरी खाद्य वस्तुहरूमा पर्ने गर्छ ।

मेयरसा’बहरूलाई सुझाव : सहर व्यवस्थित तथा पद्धतियुक्त गराउने जिम्मा सम्बन्धित पालिकाको हुन्छ । त्यसका लागि मेयरले मातहतका पदाधिकारी तथा अधिकृतलाई अख्तियारी सुम्पिएका पनि हुन्छन् । सहर बजारका बाटो छेउमा सञ्चालनमा आइरहेकामाथि उल्लेखित पसलहरू सडकभन्दा २५/३० मिटरभित्र सञ्चालन गर्ने नीति अवलम्बन गरेमा उपभोक्ताहरूको स्वास्थ्यमा कम असर पर्नेमा दुईमत छैन । जब सवारी साधन स्टार्ट गरिन्छ तब सुरु हुन्छ धुवाँ फ्याँक्ने काम अर्थात् वायुमण्डल नै प्रदूषित हुने गतिविधि । सवारीसाधनबाट फ्याँकिने धुवाँबाट कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, नाइट्रोजन अक्साइड, नबलेको हाइड्रोकार्बन, सिसा, विषाक्त पदार्थ निस्कन्छ । जसबाट मानिस मात्र होइन कुनै पनि प्राणी त्यस धुवाँबाट प्रभावित हुन्छन् । सहर बजारमा परेवा, काग, कुकुर, बिरालोलगायतका प्राणीहरू पनि हुन्छन् । यी विषाक्त पदार्थले मानिसलगायतका अरू प्राणीहरूको समेत श्वासप्रश्वासमा समस्या, एलर्जी, दम, क्यान्सर, मृगौलामा खराबी, रगतमा कमी, ब्रेन ह्यामरेजलगायतका समस्या आउन सक्ने स्वास्थ्यविद्हरू बताउँछन् ।

चिकित्सकहरूले डिजेलबाट चल्ने पुराना गाडीहरू सञ्चालन गर्न दिन नहुने तर्क गर्छन् । डिजेलबाट चल्ने थोत्रा सवारी साधनबाट निस्कने धुवाँमा कार्बनमोनोअक्साइड अत्यधिक हुने र त्यसले मानिसको रगत, मुटु र फोक्सोमा असर गर्ने भएकाले बन्दै गर्नुपर्ने बताउँछन् । चिकित्सकहरूका अनुसार कार्बनमोनोअक्साइड त विष नै हो पुराना, थोत्रा सवारीसाधनहरूले धेरै मात्रामा प्रदूषण गरिरहेका छन् । हाम्रो देशमा वातावरण मन्त्रालय पनि छ । तर त्यसले वातावरण सम्बन्धमा अध्ययन गर्ने उपाय निकाल्ने र अवलम्बन गर्नेतर्फ ध्यान दिएको देखिँदैन । काठमाडौं उपत्यकाका सडकहरूमा लाखौँको संख्यामा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनहरू गुड्छन् । सबैभन्दा बढी मोटरसाइकल र स्कुटरको संख्या छ । विद्युत्बाट चल्ने सवारी साधनहरूको संख्या ज्यादै न्यून छ । कताकतै विद्युतीय सवारी साधनहरू गुड्ने गरेका देखिन्छन् । यस्ता वातावरणमैत्री साधनहरू सञ्चालनका लागि सरकार गम्भीर भएको पनि पाइँदैन ।

सहर बजारका सडकहरू र छेउछाउमा धुलो पनि रहेको पाइन्छ । जसमा माटो मात्र नभएर प्लास्टिकका र काठका मसिना कणहरू पनि हुन्छन् । मान्छेहरूको भिडभाड हुने स्थानहरूमा मान्छेले जथाभावी थुक्ने, सिंगान फाल्ने, खकार फाल्ने, सुर्तीजन्य पदार्थ सेवन गरेर घरिघरि थुक्दै असभ्यता प्रदर्शन गर्ने बानीले गर्दा सहरमा त्यसरी फालिएका अस्वस्थकर पदार्थहरूले सरुवा रोग सार्ने मात्र होइन कि सुकेका खकार र सिँगान पनि धुलोमा परिणत हुने र त्यस्ता धुलो गाडीको टायरको घर्षणबाट वायुमा उड्ने र पसलपसलमा छिर्ने गर्छन् । हामीले खाने पिउने गरेका खाद्यवस्तुहरूमा ती घिनलाग्दा धुलोको मात्रा परेको हुन्छ ।

सडकको छेउमा बसेर मोबाइल चलाउँदा हामीले एकैछिनमा मोबाइलको स्क्रिनमा तुरुन्तै धुलोको मात्रा बढ्दै गरेको र स्क्रिन पूरै ढाकेको देखेकै छौँ । यसबाट थाहा हुन्छ कि वायुमण्डलमा कति धुलो र धुवाँ मिसिएको छ भनेर । यसरी गाडीले फ्याँकेको धुलो र फोहरका कणहरू मिसिएको माटोको धुलो उडेर होटर, रेस्टुरेन्ट, खाजा घर, भोजनालय, मिठाई पसललगायत पसलहरूमा सहजै प्रवेश गर्ने गर्छ ।

संघीय राजधानी काठमाडौँमा पहिलेदेखि नै स्ट्रिट फुडको चलन चलिआएकोमा हाल आएर मेयर बालेन साहले त्यस्ता व्यवसायीलाई हटाएपछि सहरको मुहार नफेरिएको भने होइन । सडक छेउ र गल्ली–गल्लीमा बनाइने पिज्जा, बर्गर, पकौडा, पानीपुरी, चटपटेलगायतका कैयन खाद्यवस्तुहरू सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर परिरहे पनि ग्राहकहरूले सस्तो खोज्ने हुँदा त्यतातिर आकर्षित हुने गरेको पाइन्छ । माछा तार्ने र सेकुवा बनाउने प्रचलन पनि बढ्दै आएको थियो । उपभोक्ताहरूमा चेतना अझै पनि आएको छैन । यस्ता अस्वस्थ वस्तु सेवन गरेमा स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने कुरा । स्ट्रिट फुडमा प्रयोग हुने तेलमा एकदमै शंका गर्नुपर्ने अवस्था पनि छ । धेरैपटक अर्थात् दोहो¥याई–दोहो¥याई प्रयोग गरिएका त्यस्ता तेलमा ट्रान्सफ्याटको मात्रा ज्यादै हुने र त्यसले जनस्वास्थ्यमा नराम्रो प्रभाव पर्ने हुन्छ । नाम कहलिएका पसलहरूमा पनि त्यस्ता गुणस्तरहीन तेल प्रयोग हुने गरेको छ । यस्ता विषयमा अनुगमन गर्ने संयन्त्र सक्रिय हुनु आवश्यक छ ।

सहर बजारमा रहेका यस्ता खालका पसलहरू सडकभन्दा २५÷३० मिटरभित्र सञ्चालन गर्नुपर्ने आवश्यक छ । त्यसका लागि नगरपालिकाका पदाधिकारीहरूको ध्यानाकर्षण हुनु अत्यन्त जरूरी भइसकेको छ । जनस्वास्थ्यलाई विचार गरेर आवश्यक निर्णय गरेर सहर बजारमा बसोबास गर्नेहरूको स्वास्थ्यप्रति जवाफदेही हुनु नित्तान्त आवश्यक छ । सडक नियमितरूपमा सरसफाइ गर्ने, पानी छर्कने, ब्रुमरको प्रयोग गर्ने, खाल्डाखुल्डी पुर्ने, बिग्रिएको बाटो मर्मत गर्ने काम तदारुकताका साथ गर्नुपर्छ । हाल विभिन्न अस्पतालहरूमा धाउनेहरूमा श्वासप्रश्वासका बिरामीहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । त्यसको कारण हो वायुमा हुने अत्यधिक प्रदूषण । नेपाली बजारमा असभ्य तरिकाबाट मासु राखिने गरेको पाइन्छ । पसलछेउमा मासुका टुक्रा, हड्डी, छाला, रगत जथाभाबी फ्याँकिनाले नगरको शोभा घट्ने हुँदा त्यस्ता कार्य नगर्न कडाई गर्नु पनि जरुरी छ । यस्ता दृश्यहरूले अहिंसावादीहरूलाई पनि अप्ठेरो पर्छ ।

नेपालमा नगरपालिका संघ पनि छ । संघले यस्ता वायु प्रदूषण नियन्त्रणका कुराहरूमा गहन विचार गरेर सेमिनार, गोष्ठीमार्फत् नीतिनियम बनाउनेतिर अग्रसर हुनुपर्ने हुन्छ । जनताहरूले सफा सुग्घर भएको खाद्यवस्तु मात्र खानपिन गर्न पाउने, बाँच्न पाउने वातावरणको सिर्जना गर्नु जरुरी भइसकेको छ । संघीय निकायहरू, प्रादेशिक निकायहरू र स्थानीय निकायहरूको यसतर्फ ध्यान जाने गरेको खण्डमा उपभोक्ताहरूले सकारात्मक अनुभूति पाउने थिए ।

अन्त्यमा, यस लेखक बाह्र वर्षअघि भारतको पश्चिम बंगालको राजधानी कोलकाताको भ्रमण गर्दा त्यहाँको पद्धति देख्दा काठमाडौंले कोलकाताबाट मात्र भए पनि केही सिकेमा काठमाडौं धेरै नै सभ्य हुने ठानेको थियो । कोलकातामा डिजेलबाट सवारी साधनहरू चले पनि प्रदूषण खासै देखिँदैन । तर काठमाडौंमा डिजेल पेट्रोलबाट सवारी साधन चलेको भए पनि कोलकाताको भन्दा बढी नै वायु प्रदूषण भएको पाइन्छ । कारण एउटै छ, सवारी धनी र सवारी चालकहरूले सरकारी मापदण्ड पालना नगर्नु । हाम्रो मुलुकमा धेरै कुराहरूमा मापदण्ड त छन् तर तिनको पालना गर्ने कमै मात्र होलान् । कोलकातामा तोकिएको स्थानमा मात्र थुक्ने व्यवस्था गरिएको छ । जहाँतहीँ थुक्दा कारबाहीको भागिदार भइने हुँदा नगरवासीहरू सचेत छन् र सभ्य पनि छन् । फराकिला सडक छन्, तरकारी बजार अलग्गै स्थानमा छन्, कपडा पसल अलग्गै स्थानमा छन् । नेपालमा जस्तो छ्यासमिस बजार छैन कोलकातामा । सडकका दायाँबायाँ रहेका वृक्षहरूले गर्मीयाममा शितलता प्रदान गरेका हुन्छन् र सहरको शोभा बढाएको पनि पाइन्छ । नेपालमा भने नगरपालिकाले आज रोपेको बोट आवाराहरूले भोलि उखेलेर असभ्यता प्रदर्शन गरेको पाइन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया