Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा व्यापारघाटा १४ प्रतिशतले घट्यो

लकडाउनमा व्यापारघाटा १४ प्रतिशतले घट्यो


प्रवीण राउत
काठमाडौं, जेठ १९
लकडाउनको अवधिमा नेपालकोे व्यापारघाटा घटेको छ । आयातित परिमाणको मूल्य उच्च र निर्यात परिमाणको मूल्य न्यून हुँदा सदैव मुलुकको व्यापारघाटा उच्च रहँदै आए पनि लकडाउनका कारण हवाइ र सडक यातायात अवरुद्ध हुँदा सामग्री आयातमा कमी आएसँगै व्यापारघाटामा सुधार भएको हो । सवारीसाधन सञ्चालन नहुँदा अत्यधिक खपत हुने पेट्रोलियम पदार्थको आयातमा समेत कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयातमा कमी र निर्यातमा वृद्धि देखिएको छ ।

तथ्यांकअनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को दश महिना (साउनदेखि वैशाखसम्म)मा गत आव २०७५/०७६को सोही अवधिको तुलनामा भारतलगायत तेस्रो मुलुकसँग नेपालको व्यापारघाटामा सुधार आएको छ । सो अवधिमा नेपालको भारतलगायत तेस्रो मुलुकसँगको व्यापारघाटा १४ दशमलव २४ प्रतिशतले कमी आएको छ । चालू आवको दश महिनामा व्यापारघाटा नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख रहेकोमा गत आवको सोही समयमा १० खर्ब ९९ अर्ब ६० करोड ५५ लाख रहेको थियो । विभागका प्रवक्ता शिशिर घिमिरेले पछिल्लो समय आयातमा कमी र निर्यातमा वृद्धि भएकोले व्यापारघाटामा सुधार आएको बताए ।

‘हाल अतिआवश्यक अर्थात् स्वास्थ्य सामग्री मात्र आयात भएको छ’, उनले भने, ‘त्यसैले अन्य समयमा जस्तो आयातमा वृद्धि नहुँदा व्यापारमा सुधार देखिएको हो ।’ उनले आयातजस्तै निर्यातमा समेत समस्या भएको बताए । ‘केही समयदेखि नेपालबाट ठूलो परिमाणमा भारत निकासी हुने पाम आयलको निर्यात बन्द छ भने गलैँचा, कार्पेट, पस्मिनालगायतका सामग्रीसमेत निर्यात गर्न सकिएको छैन’, उनले भने, ‘उद्योगधन्दा समेत बन्द हुँदा निर्यातमा प्रभाव पर्ने देखिन्छ ।’

विभागका अनुसार सो अवधिमा नेपाली व्यवसायीहरुले १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख मूल्यबराबरको सामग्री छिमेकी मुलुक भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात गरेका छन् । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा १२ दशमलव ९९ प्रतिशतले कम हो । गत आवमा ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेका थिए ।

चालू आवको दश महिनाको अवधिमा निर्याततर्फ भने वृद्धि भएको छ । दश महिनाको अवधिमा व्यवसायीहरुले ८२ अर्ब छ करोड ४७ लाख रुपैयाँ मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । जुन गत आवको तुलनामा चालू आवमा साढे चार प्रतिशतले वृद्धि हो । गत आवको सोही समयमा ७८ अर्ब ५३ करोड ३९ लाख मूल्यबराबरको सामग्री निर्यात गरिएको थियो ।

सो अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब ७ अर्ब २० करोड २५ लाखमा सीमित रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा ११ दशमलव ८९ प्रतिशतले कमी हो । गत आवमा नेपालको भारतलगायत तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार १२ खर्ब ५६ अर्ब ६७ करोड ३४ लाख रहेको थियो । सोही अवधिमा आयातनिर्यातको सूचकांकलाई हेर्दा चालू आवमा १२ दशमलव ४९ प्रतिशत र गत आवमा १५ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा १६ दशमलव ७३ प्रतिशतले कमी हो ।

कुल व्यापारमा निर्यातको सूचकांक हेर्दा गत आवको दश महिनाको अवधिमा ६ दशमलव २५ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ७ दशमलव ४१ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा १८ दशमलव ६० प्रतिशतले वृद्धि भएको पाइन्छ । यस्तै गत आवको सोही समयमा आयातको सूचक ९३ दशमलव ७५ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ९२ दशमलव ५९ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा एक दशमलव २४ प्रतिशतले कमी हो ।

नेपाली व्यवसायीले खाद्यान्न, तरकारी, इलोक्ट्रोनिक सामग्रीलगायत मेसिनरी वस्तु तथा सवारीसाधनका पार्टपुर्जा आयात गर्ने गरेका थिए तर असामान्य परिस्थितिका कारण सो वस्तुहरु आयात हुनसकेको देखिँदैन भने अर्कोतर्फ मुलुकभित्र उत्पादित खाद्यान्न तथा तरकारीजन्य वस्तुहरुले बजार पाएको पाइन्छ जसले गर्दा व्यापारघाटामा कमी आएको सरोकारवालाहरु बताउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुलुकका विभिन्न स्थानमा उत्पादित सामग्रीहरु बिक्रीवितरण गर्दै आएको छ जसले गर्दा आन्तरिक उत्पादनले बजार पाएको पाउन सकिन्छ ।

पछिल्लो समयमा नेपालबाट चिया, अलैँची, भटमासको तेललगायतका सामग्री तथा केही समयअघि पाम आयलको निकासी भएको विभागले बताएको छ । यता नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्तराज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्तराज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख छन् भने लकडाउनका कारण हवाइ तथा यातायात सेवा बन्द हुँदा निकासी पैठारीमा समस्या भएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x