Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ का कारण कुुल गार्हस्थ्य उत्पादन एक खर्ब ६८ अर्ब नोक्सानी हुनसक्ने

कोभिड–१९ का कारण कुुल गार्हस्थ्य उत्पादन एक खर्ब ६८ अर्ब नोक्सानी हुनसक्ने


सुरेश राउत
काठमाडौं, जेठ १९
विश्व महामारी कोरोना भाइरस (कोभिड १९)का कारण नेपालको कुुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक खर्ब ६८ अर्ब नोक्सानी हुुने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकका अनुसार विगत तीन वर्षमा औसत सात दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालू आर्थिक वर्षसमेत सोही प्रवृत्ति कायम रहने प्रक्षेपण रहेको थियो । कोभिडपूर्वको अवस्थामा चालू आर्थिक वर्षका लागि राष्ट्र बैंकले गरेको सात प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको दुुई दशमलव २८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा कोभिड–१९ महामारीका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा एक खर्ब ६८ अर्ब नोक्सानी हुने प्रारम्भिक अनुमान गरिएको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैतदेखि २०७७ वैशाखसम्ममा सात अर्ब १६ करोडको निर्यात र एक खर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोडको निर्यात र दुुई खर्ब २९ अर्ब तीन करोडको आयात भएको थियो । २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा करिब ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ । गत वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । २०७६ फागुनमा पाँच अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा एक अर्ब ६० करोड प्राप्त भएको छ । २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन र २२ अर्ब कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुुसार २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंकिङ प्रणालीमा सुविधाजनक तरलता रहेको छ । २०७७ वैशाख महिनामा बैंकिङ प्रणालीमा औसत ४९ अर्ब दुुई करोड अधिक तरलता रहेको छ । यस अवधिमा ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ । २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच एक खर्ब ५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच अर्थात् वाणिज्य बैंकहरुबीच बाहेक आठ अर्ब तीन करोड अन्तरबैंक कारोबार भएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर २०७६ चैतमा दुुई दशमलव १३ प्रतिशत रहेकोमा २०७७ वैशाखमा चार दशमलव छ प्रतिशत कायम भएको छ । चालू आर्थिक वर्षमा सरकारले एक खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा २०७७ जेठ ९ सम्ममा ४५ अर्बबराबरको ट्रेजरी बिल, एक खर्बबराबरको विकास ऋणपत्र, १३ करोड ५० लाखबराबरको नागरिक बचतपत्र र ५० लाख २० हजारबराबरको वैदेशिक रोजगार बचतपत्र समेत गरी कुल एक खर्ब ४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन भएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x