Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवैदेशिक लगानी प्रतिबद्धता घट्यो

वैदेशिक लगानी प्रतिबद्धता घट्यो

माघमा साढे ३४ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत


काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनको तयारी गरिरहँदा वैदेशिक लगानी प्रतिबद्धता भने घटेको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा चालू आर्थिक वर्षको सबैभन्दा कम वैदेशिक लगानी प्रतिबद्धता आएको छ । कुल १५ वटा उद्योगका लागि ३४ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ ।

पुस महिनामा उद्योग विभागमार्फत एक अर्ब ७२ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । माघमा पुसमा भन्दा एक अर्ब ३८ करोड रुपैयाँ कम लगानी प्रतिबद्धता आएको छ । पुसमा २७ वटा उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । पुसमा पाँच वटा मझौला र २२ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको थियो । माघ महिनामा मध्यम र ठूला कुनै पनि उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छैन ।

सरकारले आगामी वैशाख महिनामा लगानी सम्मेलनको तयारी गरिरहेको छ । यहीबेला वैदेशिक लगानीको निराशाजनक तथ्यांकले चुनौती बढेको सरोकारवालाहरू बताउँछन् । निजी क्षेत्रले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न र वैदेशिक लगानी आकर्षित गर्न संशोधन गर्नुपर्ने कानुन संशोधन गर्न नसक्दा विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको बताएका छन् ।

साउनदेखि माघ मसान्तसम्म दुई सय ४१ उद्योगका लागि २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता १२ हजार छ सय ९२ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित आएको छ । दुई सय २६ वटा साना, १२ वटा मझौला र तीनवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै ६० वटा उद्योगका लागि ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

भदौमा दुई अर्ब ६९ करोड २४ लाख रुपैयाँ, असोजमा एक अर्ब ९८ करोड ७३ हजार रुपैयाँ, कात्तिकमा एक अर्ब ७५ करोड रुपैयाँ, मंसिरमा दुई अर्ब २५ करोड ६२ लाख ७५ हजार रुपैयाँ, पुसमा एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँँ र माघमा सबैभन्दा कम ३४ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएकोे छ ।

विभागले माघसम्म ३१ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ । जसबाट चार अर्ब ८५ करकोड ७३ लाख नौ हजार नौ सय ६९ रुपैयाँँ विदेशी लगानी भित्रिने विभागले जनाएको छ । माघ महिनामा मात्रै तीनवटा सेयर खरिद सम्झौतालाई स्वीकृति दिएको छ । यसबाट ८४ करोड ७० लाख रुपैयाँबराबरको लगानी भित्रिनेछ । साउनदेखि माघसम्म ३१ वटा प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतालाई स्वीकृति दिएको छ । माघ महिनामा मात्रै दुईवटा सम्झौता प्रविधि हस्तान्तरणसम्बन्धी भएका छन् ।

नेपालमा लगानी सुविधा अभाव, कानुन अभाव, राजनीतिक अस्थिरता, उद्योग दर्ता, जग्गा प्राप्ति, सडक, बिजुलीलगायत औद्योगिक पूर्वाधारको कमीका कारण लगानीकर्ताको आकर्षण देखिँदैन । सरकारले उद्योगका सम्पूर्ण काम प्रविधिमैत्री बनाउने तथा विदेशी लगानीलाई थप सुविधा दिने बताए पनि त्यसो गर्न नसक्दा लगानीकर्ताको आकर्षण नदेखिएको स्वयम् विभागका अधिकारीहरू बताउँछन् । विदेशी लगानीको लागि नेपालभन्दा भियतनाम, लाओसलगायतका मुलुक राम्रो भएको भन्दै लगानीकर्ताको आकर्षण त्यतातिर रहेको उनीहरूको भनाइ छ ।

क्षेत्रगत हिसाबमा लगानी प्रतिबद्धता पर्यटन, सेवा, उत्पादन, सूचना प्रविधि, पूर्वाधार, खानीजन्य, कृषि र ऊर्जा क्षेत्रमा आउने गरेको छ । सात महिनामा पर्यटनमा ४५ प्रतिशत, सेवातर्फ ३६ प्रतिशत, उत्पादनतर्फ ११ प्रतिशत, सूचना प्रविधितर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ दुई प्रतिशत, कृषिमा दुई प्रतिशत, खनिजमा एक प्रतिशत र ऊर्जामा शून्य प्रतिशत लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा बढी लगानी प्रतिबद्धता भारत र चीनका साथै अमेरिका, दक्षिण कोरिया, जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया, रसियालगायतका मुलुकबाट आएको देखिन्छ ।

चालू आर्थिक वर्षको सात महिनामा विदेशी लगानीकर्ताले १३ अर्ब ८४ ककरोड ४८ लाख २२ हजार दुई सय १५ रुपैयाँ लाभांश लगेका छन् । यसवर्ष सात महिनामा गत आर्थिक वर्षमा बाहिरिएको लाभांशभन्दा बढी पैसा विदेशी लगानीकर्ताले लगेका छन् । गत आर्थिक वर्षमा १३ अर्ब १७ करोड १७ लाख ७० हजार २० रुपैयाँ लाभांश लगेका थिए । सरकारले यस आर्थिक वर्षको साउनदेखि माघसम्म एक अर्ब ३७ करोड ३९ लाख ८२ हजार १९ रुपैयाँ रोयल्टीबापत प्राप्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया