पर्यटनको पर्खाइमा सुनछहरी
काठमाडौं । नेपालको संविधानले व्यवस्था गरेअनुसार लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा जिल्लाका १० स्थानीय तहमध्ये सुनछहरी गाउँपालिका एक हो । यो गाउँपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङदेखि ४८ किमि उत्तरपूर्वी भागमा अवस्थित छ । साविकका सेरम, गाम (भित्री÷बाहिरी गाम), स्युरी, जैमाकसला, फगाम र जेलवाङ गरी छ वटा गाविस मिलेर बनेको यो गाउँपालिका दुई सय ७७ दशमलव ६२ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । भौगोलिक तथा प्रशासनिकरूपमा सात वटा वडामा विभाजन गरिएको यस गाउँपालिका पूर्व–पश्चिम राजमार्गको भालुबाङदेखि करिब ७० किमि भालुबाङ–रोल्पा सडकको दूरी पार गरी सुलीचौर पुगेपछि सुलीचौर–फुलिवन सडकको करिब छ किमि कच्ची सडक यात्रापछि सुनछहरी गाउँपालिकाको सिमानामा पुग्न सकिन्छ । मध्य तथा उच्चपहाडी भौगोलिक बनोटको संयोजन, अग्ला पहाड र गहिरा खोल्सीले भरिएको सुनछहरी गाउँपालिकाको पूर्वमा बाग्लुङ र प्युठान, पश्चिममा रोल्पा नगरपालिका र सुनिलस्मृति गापा, उत्तरमा थबाङ गाउँपालिका र रुकुम जिल्ला रहेका छन् भने दक्षिण सिमाना लुङ्ग्री गाउँपालिकासँग जोडिएको छ ।
यस गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सुन्दरताको साथै पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण छ । यस गाउँपालिकाको सबै सात वटा वडाका आफ्नै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थान छन् । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थानमा सुनछहरी झरना, कोठीभिर, गोङबाङ युद्धस्थल, विबाङ दह, तिलाचन ताल, जेल्बाङको चौकी आक्रमण स्थल, जेल्बाङको फलाम, सुनखानी, जलजलालगायतका स्थानलाई धार्मिक, प्राकृतिक र युद्ध पर्यटनलाई अन्तरसम्बन्धित बनाई पर्यटन क्षेत्रलाई विकास गरेर लैजान सकिने अवस्था रहेका यस गाउँपालिकामा पर्यटन विकासको सम्भावना पनि प्रचुर मात्रामा रहेको छ । त्यस्तै, यस गाउँपालिकालाई मूल प्रवाह बनाएर अविरल बगिरहने लुङ्ग्री खोला, फगाम खोला, गजुल खोला तथा अन्य नदीले थप सौन्दर्यता प्रदान गरेको पाइन्छ ।
जैविक विविधताका हिसाबले उच्च पर्यटकीय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिमा क्रमशः घोरल, कस्तुरी, रतुवा, चिउरी, सल्लो, ओखर, गुराँस, सुन्तला, नास्पाती आदि पाइने गर्छ । जंगल क्षेत्रमा पाइने प्रमुख जडीबुटीका रूपमा टिमुर, तेजपात, भाङ्गो, दाल चिनी, चिराइँतो, रिठ्ठा, पदमचाल, सतुवा, वन लसुन, पाँचआँले, नीरमसी, जटामसी, भूतकेश, पाखनभेद, रथविरथ, हर्राे, बर्राे, जुर्गाे, लेमनग्रास, तिते, अलैँची, कुरिलो, बोजो, कम्मरी लहरा, हात्तीपाइले जस्ता अनगिन्ती जडीबुटी पाइन्छन् । पहाडको माथिल्लो भागका अधिकांश स्थानमा वन तथा खर्क छन् । यस गाउँपालिकाको पूर्वमा देखिने रमणीय हिमाली शृङ्खलाहरूले यहाँको सुन्दरता बढाएको छ । खनिजका रूपमा नदी किनारामा बालुवा र बालुवामा सुन समेत पाइने गर्छ ।
ऐतिहासिक महत्वका साथै सांस्कृतिक विशेषता बोकेको यस गाउँपालिका मगरात तथा खस सभ्यता तथा हिन्दु एवम् बौद्ध संस्कृतिको अनुपम संयोजन रहेको छ । आदिवासी मगर समुदायको ७० प्रतिशतभन्दा बढी बसोबास रहेको यस गाउँपालिकामा क्षेत्री, ब्राह्मण, दलित, सन्यासी जातिको समेत मिश्रित बसोवास रहेको छ । यस गाउँपालिकामा मुख्य कामकाजको भाषा नेपाली रहेको छ भने समुदायबीच आपसी बोलीचालीको भाषा मगर तथा स्थानीय खाम भाषा पनि उत्तिकै प्रचलनमा छ ।
धार्मिक तथा भाषिकरूपमा विविधतामा एकता रहेको यो गाउँपालिकामा चाडपर्वका समयमा गरिने विभिन्न क्रियाकलापहरूले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्छन् । यस गाउँपालिकाको जलजलामा ब्रह्मा पूजा वर्षको तीन पटक, भदौरे पूजा, जेठासी मेला, मङ्सिरे मेला, लुङमा मेला, माघे संक्रान्ति मेला, कुल बराह मेला, भूमे पूजा आदि सांस्कृतिक पूजा, पर्व मनाउने गरिन्छ । सम्पदामैत्री तथा १० वर्षे जनयुद्धसँग सम्बन्धित ऐतिहासिक पर्यटन प्रवर्द्धन गर्न यहाँको भौगोलिक विकटतालाई कम गर्नुपर्छ । यहाँ रहेका प्राचीन र ऐतिहासिक सम्पदाहरुको संरक्षण, स्तर वृद्धि तथा यहाँको भूमे पर्व तथा मेलाहरूलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिने अवस्था छ ।
विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौँ शताब्दीमा देखिएको द्रूत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवम् साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवम् भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ ।
देशको भविष्य निर्माण गर्ने आशा एवम् भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवम् सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।
तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवम् कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवम् सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
रोल्पा जिल्लामा रहेको सुनछहरी क्षेत्र प्राकृतिक तथा ऐतिहासिक पर्यटन केन्द्र हो । तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन । पर्यटन विकासका प्रचुर सम्भावना बोकेको सुनछहरी क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसाथ गर्नुपर्ने हो निर्क्यौल हुनुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकाले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावको आधारमा कार्यान्वयन गर्नु आवश्यक हुन सक्छ ।
नेपालको लुम्बिनी प्रदेशमा अवस्थित रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका भू–बनौट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक सम्वृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यस क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवम् जैविक विविधतासहित विभिन्न प्रजातिका जीव जन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका संगमस्थल हो । सुनछहरी क्षेत्र नेपालको ऐतिहासिक थलोको रूपमा समेत रहेको पाइन्छ । यहाँको परम्परागत जीवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर सुनछहरी हो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सुनछहरीले आन्तरिक एवम् बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।
यस गाउँपालिकाका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । पालिकाका पर्यटकीय सम्भावना बोकेको अधिकांशस्थलहरू यत्रतत्र छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था छैन ।
त्यस्तै, ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण एवम् प्रवर्द्धन प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवम् सम्भावनाका लागि कुनै योजना नहुनु, व्यवस्थितरूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलव्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, व्यवस्थित होटल नहुनु, पर्यटन प्रवर्द्धनको निम्ति आवश्यक नीति, नियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासको लागि आवश्यकीय सूचना, बाटो, धारा, पथ प्रदर्शकहरू होटल व्यवसाय, बैंक, वित्तीय संस्था आदिको अभाव प्रमुख समस्याको रूपमा रहेको छ । जसको फलस्वरूप यहाँका बासिन्दाले खासरूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, सुनछहरी क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।
अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । सुनछहरी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै, सो पालिकाको विकासका लागि व्यवस्थित खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटेल तथा होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, युद्ध संग्राहलयको स्थापना, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटन गाउँपालिका निर्माण गर्नु आजको आवश्यकता हो ।
हुन त गाउँपालिकाले विकासका लागि विभिन्न योजनाहरू बनाएको छ । यही मङ्सिर महिनामा ‘सुनछहरी समृद्धिको आधारः सुशासन, उत्पादनमुखी रोजगारी, पर्यटन र पूर्वाधार’ दीर्घकालीन सोचसहितको दोस्रो पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) निर्माण गरिसकेको पाइन्छ । त्यस्तै, पर्यटन गुरुयोजना पनि बन्ने क्रममा रहेको सम्बन्धित पक्षको भनाइ छ । त्यस्तै, मौलिक कला संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि प्रथम बृहत् सुनछहरी सांस्कृतिक महोत्सव तथा स्रष्टा सम्मान–२०८०, माघ २२ गतेदेखि २५ गतेसम्म आयोजना भएको पाइन्छ । यसले सुनछहरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा बन्न सक्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस सुनछहरी गाउँपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रिया अनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया