Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभारतबिनाको आर्थिक समृद्धि आजको आवश्यकता

भारतबिनाको आर्थिक समृद्धि आजको आवश्यकता


लक्ष्मण सिटौला
नेपाली समाजमा जबसम्म लाहुरे संस्कृति हट्दैन तबसम्म गुलामी र परनिर्भरताको खेती चलिरहन्छ । आज पनि हजारौं नेपाली युवा भारतीय सेनामा भर्ती भएर भारत भूमिको रक्षार्थ खटिरहेका छन् । कतिपय नेपालीहरू नेपाल भारत सीमा चौकीहरूमा भारतको पक्षमा खबरदारी गरिरहेका छन् । आफ्नै भुमिको सिमा अतिक्रमण भएको टुलुटुलु हेरिरहेका छन् । नेपालको इतिहासमा लाहुरे संस्कृतिको सुरुवात पृथ्वीनारायण शाहकालीन समयको अन्त्यपछि नै सुरुवात भैसकेको थियो । सिंगो भारतमाथि बेलायतीहरूले उपनिवेश स्थापना गरेपछि भारत नेपालको सिमानासम्म अग्रेज सरकारले हस्तक्षेप गरेको कयौं उदाहरणहरू छन् । नेपालका कयौ किल्ला र कागडाहरूलाई जोगाउन अग्रेजहरूसँग वीरताको साथ लडेका नेपालीहरूले देखाएको अदम्य साहसलाई परख गरी हेरिरहेका थिए फिरिंगीहरूले ।

विसं १८३१ माघ १ गते पृथ्वीनारायण शाहको देहावसानपछि राजगद्दीमा बसेका प्रतापसिंह शाह थोरै समय मात्रै बाँचे र उनले नेपाल राष्ट्र एकीकरण अभियानमा खासै बहादुरी प्रदर्शन गर्न नसक्नु र उनीपछि बहादुर शाह र राजेन्द्र लक्ष्मीले नेपालको सिमाना विस्तार गरे । अझै विस्तृतरूपमा भन्नुपर्दा राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई चार चार पटकसम्म नजरबन्द नगरेको भए र प्रतापसिंह शाहको देहावसानपछि तत्कालै बहादुर शाहलाई भारतको बेतीया निर्वासित नगरेको भए नेपाल आजको भन्दा अझै व्यापक र विस्तृत हुन्थ्यो । देवर भाउजूबीचको बैमनस्यता, अविश्वास र खिचातानीका कारण नेपाल जति फैलनु पर्ने थियो त्यति फैलन सकेन ।

शाहवंशीय इतिहासमा भाइभारादारबीचको लडाइँ झगडा त्यतिबेलादेखिकै रोग थियो । त्यतिबेलादेखि सुरु भएको रोग १८३१ देखि २०५८ सम्म दुई सय २७ वर्षमा राजा वीरेन्द्रको वंशनाशमा आएर टुंगियो । वास्तवमा नेपालीका छोराछोरीलाई विदेशी भूमिमा रोजिरोटीका लागि जानुपर्ने विवशताको पछाडि नेपाली शासकहरू नै जिम्मेवार छन् । खास गरेर भारतसँगको त्यतिबेलादेखिको छिमेकी सम्बन्धका कारण पनि यो क्रम रोकिएन । नेपालका भाइभारादारहरूले निर्वासित जीवन बिताउने स्थान भनेकै भारत थियो । राजालाई आफूले मन नपरेको भारदार देश निकाला गर्नी भनेको भारत पठाउने हो । भारतको निर्वासित जीवनमा पुगेका प्रायः सबै भारदारले नेपालका लागि उतैबाट राजनीति सुरुवात गर्दथे ।

इतिहासका गजराज मिश्रदेखि २०३६ सालमा मेलमिलापको राजनितीक सन्देश लिएर मुलुक फर्किने विश्वेश्वरप्रसाद कोइरालासम्मले यो भूमिका निर्वाह गरेका छन् । त्यतिबेलादेखि सुरु भएको हो हामी नेपालीको भारतसँगको आदीय गुलामी । गुलामी भन्नुस वा भारतसँगको हाम्रो प्राचीन सम्बन्ध । हाम्रो राजनीतिक आर्थिक सामाजिक भौगोलिक सांस्कृतिक लाहुरेपन भारतसँग यसरी प्रगाढ रह्यो कि भारतबिना नेपालीले केही सोच्न सकेकै छैन आजको दिनसम्म । अब त्यस्तो दिन आउँदै छ कि भारतबिना नै हामी बाच्न सक्नुपर्छ । चामल मात्रै वर्षको १६ अर्बको किनेर खान्छौं हामी भारतसँग । हामीले आफूलाई कृषिप्रधान देश नभनेको भए हुन्थ्यो बरु । हामी भारतबाट नुनदेखि चामलसम्म तरकारी पेट्रोलदेखि गाडीसम्म आयात गर्छौं ।

हाम्रो राजस्व आयातमुखी छ निर्यातमुखी होइन । त्यो दिन कहिले आउला कि हामीले भारतलाई चामल निर्यात गरेर राजस्व संकलन गर्ने । राजस्व उठाउने नाउँमा हाम्रो सरकारले भारतबाट जति पनि गाडी आयात गर्न दिन्छ नेपालका व्यापारीहरूलाई । आयातमुखी बजेट निर्माण गरेर कुनै पनि सरकारले मख्ख हुनुपर्ने कारण छैन । सरकारले कर उठाउँदा कुनै गर्व गर्नुपर्ने काम छैन । हाम्रो पैसा कति भारत गैरहेको छ र जति धेरै गाडी आयात त्यति धेरै पेट्रोलियम पदार्थको फेरि अर्को आयात र नेपालको वातावरण कति विनाश हुन्छ भन्ने कुरा सरकारले कहिले हिसाब राख्न सकेन ।

आयात करमा राज्यले कहिले गर्व नगर्नु किन भने हाम्रो सिंगो पुँजी विदेश पलायन भएको कुरा एउटा दुःखद पक्ष हो । पेट्रोल आयात हुन्छ यहाँ धुवाँ बनेर सकिन्छ । गाडी आउँछ थोत्रो कवाडी भएर सकिन्छ । चामल आउँछ भात खाएर सकिन्छ । जाँदा डलर जान्छ र आएका चिजहरू विधिवत नासहुन्छन् । हामीले भारतबाट चामल किन्न बन्देज लगाउने हो भने हाम्रो भूमिहरू आज बाँझो रहनबाट जोगिन्थे । तरकारी आयात गर्न बन्देज लगाउने हो भने नेपालीले आफ्नो लागि चाहिने तरकारी आफैँ उत्पादन गर्थे भारतबाट विषादी हालेको तरकारी खानुपर्ने बाध्यताको अन्त हुन्थ्यो । महंगो मूल्यका गाडीहरू आयातमा रोक लगाउने हो भने रेमिटान्सबाट भित्रीएको अमेरिकी डलर फेरि भारतलाई बुझाउनु पर्दैनथ्यो । ढिलो चाडो नेपाली आफैँले गाडी उत्पादनतर्फ सोच्थे ।

राज्यले नै नेपाली जनतालाई आत्मनिर्भर बन्न दिएन । निर्यातलाई प्रोत्साहन दिनुहोस् आयातलाई हतोत्साहित गर्नुस् सरकार अनि मात्र नेपाली जनता कृषि कर्ममा लाग्छन् । अहिलेको कोरोनाको महामारीले पनि हामीलाई त्यही सिकाइरहेको छ । कसैसँग नजिक नहुनुस् । आफ्नो लागि चाहिने सामान्य सामान कमसेकम आफैँ त उत्पादन गर । चामल दाल दूध फलफूलमा त कमसेकम आत्मनिर्भर हौँ । सियोदेखि दियोसम्म, भुटुनदेखि लुगाफाटोसम्म अरुबाट कत्ति किनेर खाने ? दुई सय ३० वर्षदेखि भारतकै गुलामी भए छौँ हामी ।

अब सोचौ कमसेकम चामल त भारतबाट आयातमा रोक लगाऔँ सरकार । केही दिन भोकै परे केही छैन । एक दिन त परनिर्भर हुनुपर्ने दिनको अन्त्य होला । हामीले कसैसँग केही लिइरहेका छौ वा कसैको केही खाइरहेका छौ भने हामीलाई दिइरहनेले अवस्य नै हेप्छ । उसको हेपाइलाई हामीले चुपचापले सहनुको विकल्प पनि छैन । यदि त्यो हेपाइबाट मुक्त हुने हो भने उसको हात माथि राख्न बन्द गर्ने । आयातकै करका भरमा खर्बका बजेट बढाइरहनुको औचित्य छैन । बजेट सानो आकारमा बनाउनुस् तर निर्यात बढाउनुस । आयात घटाउनुस् । निर्यात गर्दा उठेको करमाथि गर्व गर्नुस् अर्थमन्त्रीज्यू ।

१६ अर्बको चामल आयात गर्दा लाज मान्नुस् कि नेपालीहरू कति भात खाँदा रहेछन् भनेर । के भारतबिना हाम्रो आर्थिक समृद्धि सम्भव छैन र ? नेपाली कृषिकले तरकारीमाथि डोजर लाएको खबरले तपाईंको हृदय रोएको छैन ? फेरि भारतबाट तरकारी आउन प्रतिबन्ध किन लगाउनु हुन्न ? नेपाली कृषकले रुँदै दूध सडकमा पोखेको देख्नुहुन्न ? फेरि किन भारतबाट आउने दूध र दुग्धजन्य पदार्थमा रोक लाउनु हुन्न ? सबै कुरा भारतबाट किनेकै कारण हो भारतले हामीलाई हेपेका चेपेका । भारतबाट लिन छोडेको दिन नेपालीहरूको स्वाभिमानको शीर अवश्य उचो हुनेछ । हामी आफैँ बाँच्ने किन कोसिस गर्दैनौँ ? नेपाली नेताले मन्त्री खान पनि भारतलाई नै हारगुहार गरिरहेको आजको बिग्रेको परिवेशमा हाम्रा भूमिहरू हाम्रा सीमाहरू यही कारणले मिचिदै गएका छन् । भारतसँगको परनिर्भरताको अब अन्त्य हुनुपर्छ अनि मात्रै नेपालीको भाग्यमा आत्मनिर्भरता र आत्मनिर्णयको सुनौलो घाम लाग्नेछ । यो देशमा परिवर्तन आयो भनेर हाहाकार गरेर हल्ला गर्नेहरूले भारतसँग कति सहयोग थापे त्यस्को लेखाजोखा भोलि इतिहासले गर्ने नै छ ।

परिवर्तन तिनैलाई मात्रै आएको थियो जो यो देशमा परिवर्तन कहिल्यै चाहदैनथे ! रोल्पेलीको आगनमा खुसी छाडिएका छैनन् । जुम्लेलीको आँखामा उस्तै छ भोकको आँसु र निराशाको शोक गीत उही पाराले बजिरहेको छ । पाँचथर हाङपाङ हायुको ब्यथा उस्तै छ । ऋण गरेर मात्र चाड मनाउन पाउँछन् । केही कमाउन लाहुरे नै हुनुपर्ने । दरवानी नै हुनुपर्ने अवस्था आज पनि उस्तै छ । हिजो पञ्चायतकालमा इण्डियन आर्मीमा भर्ती हुन भनेर नेपाली युवाहरूलाई गल्लुवालले चक्रपथमा रगत छाफुन्जेल उफ्राएको दौडाएको यहीँ आखाले देखेको थिए र आज पनि त्यही दृश्य देखिरहन्छु । हिजो बृटिश आर्मीमा भर्ती हुन तछाडमछाड थियो आज त झन् लाहुरेको महत्व बढेर गएको छ । हाम्रो देशमा परिवर्तन आएको भए किन लाहुरेहरूको इज्जत यति धेरै दिनदिनै बढेर जान्थ्यो होला र ? लाहुरेमा भर्ती हुने प्रथा कायम नै छ ।

परिवर्तन यति भएको हो कि पहिला गाउँलेको परियार दाइले काधमा कल बोकेर आफूले कमाएका बिष्टहरूको घर घरमा गएर लुगा सिउँथे आज आफ्नै घरमा टेलर खोलेका छन् । हिजो लुगा सिउने आज पनि त्यही लुगा सिउँदै छन् । पेशा परिवर्तन भएको छैन मात्रै काम गर्ने शैली र ढंग परिवर्तन भएको छ । साना व्यवशाय गर्नेको बरु विचार परिवर्तन भए तर ठूलो नेता भन्नेहरूको दिमाग पुरातन ढंगमै चलिरहेको छ आजसम्म पनि । लोकतन्त्रको दियो सधैं बलिरहोस् । लोकतान्त्रिक शासन व्यवस्थाको अरु कुनै दोस्रो विकल्प छैन र नहोस् पनि । हामीले चाहेको हामीले रोजेको शासन पद्धति यही हो । तर, जनता खुसी रहे मात्रै हो कुनै पनि शासन व्यवस्थाले स्थायित्व पाउने । जनताको खुसीमा नै निर्भर छ सरकारको आयु र शासन व्यवस्थाको भविश्य । जनताका लागि सरकार नै अभिवावक हो ।

सरकार नै दुःख बिसाउने स्थान हो । सरकारसँगै हो जनताले असन्तुष्टि पोख्ने पनि तर असन्तुष्टि पोख्यो भनेर उसलाई थुन्ने धम्क्याउने हतकडी लगाउने हिंड्न् डुल्न र उसको आवाज समेतलाई बन्देज लगाउने काम लोकतान्त्रिक सरकारले गरेको सुहाउँदैन । हिजो लोकतान्त्रिक पक्षधरलाई मारेको थियो निर्दयी पञ्चायत शासन व्यवस्थाले फेरि त्यही सिको आजको सरकारले पनि गरिरहने हो भने नेपाली जनताले परिवर्तनको अनुभुति कहिले गर्ने त ? सबैलाई श्रीपेच लगाउने रहर रहेछ भन्ने कुरा आजका नेताका आनिबानीले देखाइसकेको छ ।

सबैसँग सबैको बिचार मिल्दैन । मिल्नु पर्छ भन्ने जरुरी पनि छैन । विचार आ–आफ्नै हुन्छन् । सोच भिन्न हुनुपर्छ । भिन्न सोच र चिन्तनको उपज नै हो आजको विकसित एक्काइसौं सताब्दीको सघन यो रूप । एकै सोचको ऐजेरुमा फूल्ने फूलहरू राम्ररी फक्रदैनन । सोच जसले जस्तो राखेपनी देशको समृद्धिका लागि सबै नेपाली एक हुनुको विकल्प छैन अब । लोकतान्त्रिक विचारधारा भन्दा अर्को धारणा राख्नेलाई पनि सम्मान दिन सक्नु वा सम्मान गर्नु त्यो चै सबैभन्दा विकसित लोकतन्त्रको रूप हो ।

एउटा कुरा हामीले हेक्का राख्नु जरुरी छ कि सबै समान कोही कहिले हुन्नन् । कुनै पनि युगमा अपार समानताको परिव्याख्या हुन सकेको छैन । पाँच हजार वर्ष अगाडि धर्मको नाश भयो भनेर अवतार लिने श्रीकृष्ण युगमा पनि सबै प्राणीमा समभाव थिएन । कृष्णले समानताको राज्य सस्थापन गर्नकै लागि महाभारत युद्ध रचना गरे । हिजो रामराज्यमा पनि समानताको कुरा छेउ लागेकै हो । लोक के चाहन्छ भन्ने कुरालाई गौण मानियो र शासकहरू आफ्नो इच्छाअनुसार चल्न थाले भने तिनले आफ्नो इतिहास बिगार्छन् ।

तिनै राम हुन् जसले आफ्नो भक्त सबरीको जुठो बयर पनि खाए अनि तिनै राम हुन आफ्नै सीताको पतिब्रतामा शंका लागेर आगोमा होमिन पनि बाध्य बनाए । यो लोकको लाज राखिदिनाका लागि थियो । त्यसैले हामीले इतिहासदेखि नै भन्दै आयौ कि लोक सम्मत्तिको आधार नै प्रजातन्त्रको मुटु हो । संविधान मात्रै त केवल कोरा दस्ताबेज हो जतिबेला जनता दुःखी हुन्छन् । जनता सुखी र खुशी हुने संविधानका अनेक धारा र उपधाराले होइन । जनता खुसी हुने आधार त सरकारले प्रत्याभूत गरेको जनप्रिय कामले हो । जबसम्म सरकारले जनप्रिय काम गरिरहन्छ तबसम्म लोकतान्त्रीकरणको नुतन धाराहरू अवलम्बन भैरहन्छ ।

समाजमा सम्मानित भएर बाँच्न चाहन्छन् आजको हरेक मान्छे । त्यो सम्मान सहरमा सेयरमूल्य बढेर होइन जुम्लेलीले हुम्लेलीले भरपेट भात खान पाउँदामा मिल्छ । सहरमा मात्र सम्पन्नताको दियो बालेर लोकतन्त्रको स्थायित्वको सम्भावना नहोला । भूमिहिन कृषकसम्म राज्यको आँखा पुगेको खण्डमा लोकतन्त्रको दियो सदाझैँ बलिरहने छ । सेयर दलालको पुँजी डुबानको चिन्तामा होइन गरिब गाउँलेका घर डुबानमा चिन्तित हुनुपर्छ अबका दिनमा यो देशका नेताहरूले र भारतबिनाको आर्थिक समृद्धि वा आयातविना उठेको राज्यको कर अर्थात् निर्यातमा उठेको राजस्व जति छ त्यस्मा राज्यले गर्भ गर्नुपर्ने हुन्छ । करोड मूल्यका गाडी झिकाउँदा उठेको पाँच सय प्रतिशत करमा राज्यले कहिले गर्भ नगरोस् । यसपछिको आर्थिक सामाजिक राजनीतिक र वातावरणीय असरको पनि ख्याल राख्ने हो कि ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x