Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको मोडालिटी पुनर्विचार गर्न आग्रह

अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको मोडालिटी पुनर्विचार गर्न आग्रह


काठमाडौं, जेठ १९
नेपाल उद्योग वाणिज्य महासंघले सुरक्षा संवदेशनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको समयसीमा र मोडालिटीबारे गम्भीर पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन विश्वका अधिकांश देशहरूले लकडाउनको उपायहरू अवलम्बन गर्दै आएको र नेपालमा पनि गत चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चित समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्व नै लागिरहेको अहिलेको अवस्थामा विश्वका कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै गएको भन्दै महासंघले उक्त कुरालाई नेपालमा पनि मनन गर्न आग्रह गरेको छ ।

लकडाउनले समस्या स्थगन मात्र गर्ने भन्दै महासंघले समस्याको निदान गर्ने यो मात्र उपाय होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पारेको जनाएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको सन्दर्भमा लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजबुद बनाउने, परीक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउनेभन्दा पनि लकडाउन मात्र गरेरसमय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुनथालेको जनाएको छ । लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कुल गार्हस्थ्य गार्हस्थ उत्पादनमा करिब ४ प्रतिशतको आर्थिक नोक्सानी भइसकेको महासंघले जनाएको छ । साथै लाखौँ मानिसहरू बेरोजगार हुनुको साथै उद्योग व्यवसाय थला पर्न थालेको र मानिसहरूको न्यूनतम बाँच्ने आधार समेत कमजोर बन्दै महासंघको भनाइ छ ।

यस्तो विषम अवस्थामा लकडाउनको समयसीमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनुपर्नेमा त्यसो नगरी पुन जेठ ३२ गतेसम्म अवधि थप गरिएकोप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । ‘पुनः लकडाउनको अवधि बढाइँदा मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसँग पनि प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने हाम्रो धारणा हो’, महासंघले भनेको छ । जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदुर, साना एवं मझौला व्यवसायीलगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनर्विचार गर्न महासंघले सरकारसँग माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x