Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरक्तचन्दन संरक्षण आजको आवश्यकता

रक्तचन्दन संरक्षण आजको आवश्यकता


डा. माधव अधिकारी
मानव जीवनको लागि अपरिहार्य विषयको नाम गुणस्तरीय जीवन । स्वस्थ मष्तिष्कद्वारा नै स्वच्छ एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसो गर्न प्रकृतिभित्रका विविध तत्वले मदत गर्दछ, त्यसमध्ये एक हो ‘रक्तचन्दन’ । यो मौसमी वातावरणमा पाइने प्रजाति हो । यो नेपालको विभिन्न भागमा फाट्टफुट्ट संख्यामा पाइने र मित्रराष्ट्र भारतको कर्णाटक, आन्ध्र प्रदेश, राजस्थानलगायत अन्य स्थानमा व्यावसायिक खेती गर्दै आएको पाइन्छ । साइटिसको सूचीमा परेको यो वनस्पतिको उपयोग गुणस्तरीय जीवन कायम राख्न प्रयोग भएको पाइन्छ । रक्तचन्दनलाई पिट्रोक्यापस सेन्टालिना, रुवीलगायतका नामले पनि चिनिन्छ । यो वनस्पति करिब ३५ फिटसम्म अग्लो र करिब सवा मिटर मोटाइसम्म भएको पाइन्छ ।

नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने हाम्रो देश नेपाल अपार जडीबुटी एवं वनस्पतिको भण्डार हो । गुणस्तरीय जीवनका लागि यो ज्यादै आवश्यक छ । उदाहरणको रूपमा गुच्ची च्याउ, यार्सागुम्बा, निरमसी, पाँचऔंले, श्रीखण्ड, रक्तचन्दन आदि नेपालीले जानी नजानी गुणस्तरीय जीवनका लागि उपयोग गर्दै आएको पाइन्छ । नेपालमा हाल अवैधरूपमा भेटिएको रक्तचन्दन प्रायः तिब्बततर्फ निकासी गरेको पाइन्छ । यसको पात गोल गोल भएको र फूल पहँलो वर्णको मञ्जरीको रूपमा फूल्छ । यसको फल २/२ र ३/३ मुगाको रंगजस्तो हुन्छ । बाहिर सेतो र भित्रको मुख्य भाग रातो हुन्छ । यो मुख्य भागमा मधुर सुगन्ध आउँछ, गुणस्तरीय स्वास्थ्यका लागि प्रयोग गरिने भाग भित्री चुरो वा मुख्य कडी हो । यस भागको मुख्य उपयोगमा चन्दनको लेप लगाउने, सुन्निएको बसाउने, छालाको रोग निको पार्ने, विभिन्न विषनासक, आगोले पोलेको ठाउँमा लगाउने, टाउको दुख्ने बेलामा प्रयोग गर्ने, आँखा दुखेमा प्रयोग गर्ने, पेटको विकार हटाउने, वमन रोक्ने, प्यास मेटाउने, काटेको वा फाटेको ठाउँमा रगत बग्न रोक्ने, ज्वरो घटाउने, कफ र पित्तसम्बन्धी रोकथाम, शक्ति बढाउने, रक्त विकार हटाउने आदि यसको प्रयोग भई गुणस्तरीय जीवन कायम राख्न मदत पु-याउँछ । औषधिबाहेक रक्तचन्दन मन्दिर, गुम्बा निर्माण गर्दा काठको रूपमा, धुलो धूप र अगरबत्ती बनाउन र चीनमा सम्पन्न परिवारले प्रयोग गर्ने राताचिल्ला सुगन्धित फर्निचरहरू प्रयोग गरी इज्जतको रूपमा उपयोग भएको पाइन्छ ।

नेपालमा ठूलो परिमाणमा अबैधरूपमा रक्तचन्दन तस्करहरूले चलखेल गरी तस्करी गरेको पाइन्छ । उचितरूपमा तस्करहरूलाई कारबाही गर्नेतर्फ राज्य मौन छ । यो ठूलो विडम्बनाको कुरा हो । रक्तचन्दन अवैधरूपमा विनाश गर्न मदत पु-याउने विभिन्न राजनीति दलका कार्यकर्ता, गृह प्रशासन, रक्षा प्रशासनका केही सीमित निहित स्वार्थमा लागि विशाल आयआर्जनको दिवास्वप्न देखेर संलग्न रहेको र उनीहरूले राजनीतिक दलको केन्द्रीय स्तरमा समेत पहुँच पु-याई प्रभाव पार्ने गरेकोले तस्करीमाथि उचित कारबाही नभएको आम जनताले महशुस गरेका छन् ।

वातावरण शुद्धता चाहिने पनि मानिस, वातावरण विनाश गर्ने पनि मानिस । यसैले त मानिसलाई अनौठो प्राणीको संज्ञा दिइएको छ । मानिसले आफ्नो अस्तित्वमाथि नै संकट निम्त्याएको छ । राजनीतिक निहित स्वार्थले नेपालमा ठूलो द्वन्द्व ल्याएको परिवेशमा बुद्धि र विवेक पनि मानिसले सन्तुलन नराखी प्रकृतिकै वरदानमा कुप्रभाव पारी विनाश गरेको उदाहरणको रूपमा नेपालमा केही समय पहिले एकै ठाउँमा आठवटा एक सिंगे गैडा समेत गरी कैयौं दर्जन गैंडा मारिएको खबर नसेलाउँदै गैंडाको खाग तस्करी गर्ने विदेशी तस्कर नाइके समात्ने निहुँमा निकुञ्जको स्टोरमा रहेको ‘क १९९’ नम्बरको खाग समेत तस्करहरूको हातमा दिनदहाडै सुम्पिएको र पछि गिरोह बसेको होटलमा प्रहरी पुग्दा खागबापत पाँच लाख रूपैंया, आठ किलो यार्सागुम्वा र तीन किलो अज्ञात धूलो बरामद गरेको समाचारले प्राकृतिक सम्पदा विनाशमा कसको हात छ भन्ने कुरा स्वतः प्रस्ट हुन्छ । जसको फलस्वरूप मानिसले आफ्नो धर्ती, आफ्नो अस्मिता, आफ्नो वातावरण संकटमा पारेको छ । सृष्टिमा सबैभन्दा महत्वपूर्ण सृष्टि भएर पनि मानिसले आफूलाई चिन्न सकेन, आफ्नो वातावरण बुझ्न सकेन र प्रकृतिको उपहार रक्तचन्दन र अन्य अमूल्य हजारौं प्राकृतिक सम्पदा विनाश गरेको र कहिले आउला मानिस देवता र धर्ती स्वर्ग हुने अवस्था । अतः सबै नेपालीहरू आजैदेखि खराब कार्य छोडी नैतिकवान बनी रक्तचन्दनजस्ता अमूल्य वनस्पति संरक्षण गरी गुणस्तरीय जीवनका सूत्रपातको लागि अमूल्य प्राकृतिक सम्पदा जोगाउँ ।

अतः विश्वकै प्राकृतिक सम्पदाको धनी राष्ट्र भनी उपाधि पाएको नेपालमा प्राकृतिक सम्पदाको संरक्षण गरी बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ्रेको छायाँ, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे चरी, मुनाल, कालिजजस्ता चराचुरुंगी, चारकोसे झाडीले प्रसिद्धि कमाएका हाम्रा जंगल अनि त्यसमा छुनुमुनु गर्ने हरिण र मृग, सावकहरू, गैडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु हाम्रो दायित्व हो । विश्वसामु सगरमाथा, बुद्ध, र पशुपतिनाथ भएको नेपालमा पूर्ण शान्तिमय वातावरणको सृजना गरी नेपालीमा आपसी मेल गरी हिंसा त्यागी सभ्यता, संस्कृति र शान्तिमय वातावरणको विगुल फुक्ने, नेपाल र नेपालीको वातावरण सुधार भई हिलोबीच पनि कमल फक्रन्छ, वीर नेपालीहरू राष्ट्रकै हित हुने वातावरणमा लागौं, हिंसा त्यागौं । यसमा नै तपाई हामी सबैको भलाइ हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x