Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली कांग्रेसको यो महत्वपूर्ण बैठक कर्मकाण्डी नहोस्

नेपाली कांग्रेसको यो महत्वपूर्ण बैठक कर्मकाण्डी नहोस्


काठमाडौं । नेपाली कांग्रेस (नेका) महासमितिको बैठक सभापति शेरबहादुर देउवाद्वारा एक भव्य समारोहका बीच फागुण ७ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन भवनमा उद्घाटन भएको छ । १० गतेसम्म चल्ने बैठकमा अधिराज्यभरका करिब २१ सय महासमिति सदस्यले भाग लिएको यस बैठकलाई कांगे्रसको हालको नीति सिंहावलोकन गरी अपनाउनुपर्ने नयाँ र भावी नीति निर्माण गर्ने बैठकको रूपमा उल्लेख गरिएको थियो । नेपाली कांग्रेसका पदाधिकारीहरूबाट पाँच विषयमा कार्यपत्र पेस भएर त्यसमा सहभागीहरूबीच छलफलपश्चात् त्यस्तो नीतिको अन्तिम खाका प्रस्तुत भएको हो ।

देशकै पुरानो, ठूलो, लोकतान्त्रिक संविधान लेख्न अग्रणी भूमिका खेलेको प्रजातान्त्रिक दलको नाताले यो महासमितिको बैठकको महत्व ठूलो छ । कांग्रेसका सम्पूर्ण नेता तथा लाखौँ कार्यकर्ता र शुभचिन्तकहरू पनि नेकाको भविष्य के हुने भनी नियालिरहेको अवस्था छ । अरू राजनीतिक दलहरू, विपक्षी र खास गरेर गठबन्धनमा आबद्ध दलहरूले पनि ठूलो चासो लिएको हुनुपर्छ ।

बैठकस्थल वरिपरि नेकाका विशिष्ट नेताहरूका ठूलाठूला जीवनकदका तस्बीरहरू सजाएर राखेको पाइन्छ । नेताका तस्बीरसँगै सहभागीहरू तछाडमछाड गर्दै सेल्फी खिच्दै सामाजिक सञ्जालमा प्रशस्त पोस्ट गरेको देखियो ।

यस्ता तस्बीरको आफ्नै महत्व छ र राखिनुपनि पर्छ । यसले सहभागीहरूलाई दिवंगत नेताहरूको योगदान, तपस्या, बलिदानको सम्झना दिलाउने र आत्मसात गर्ने मौका दिएको छ । तर सहभागीहरूले खालीसँगै तस्बीर खिच्ने मात्रै हुन् कि भन्ने शंका पनि हुन्छ । त्यस्तो नहोस् भन्ने कामना हो ।

के आज नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू महानायक बीपीले अवलम्बन गर्नुभएको नीति, सोचाइ र निर्देशनअनुसार चलेका छन्त ? के लौह पुरुष गणेशमान सिंहजस्तै त्यागी बन्न सकेका छन् त ? के किसुनजीजस्तो सादगी, लोभरहित आचरणमा बस्न सकेका छन् त ? सायद केही शीर्ष नेता तथा कार्यकर्ताबाहेक अधिकांशको लवाइ, खवाइ, मनोवृत्ति र बोलाइ हेर्दा लाग्छ धेरैले उहाँहरूले देखाएको बाटो चटक्कै बिर्सिसकेको सजिलै अनुमान गर्न सकिन्छ ।

दलका विभिन्न पदमा पैसाका आडमा आपराधिक क्रियाकलापमा संलग्न, डन स्वभाव र कमिसनखोरी, बिचौलियाहरूको व्यापक प्रवेश भएको र महत्वपूर्ण स्थान ओगट्न सफल भएका छन् भने अर्कोतिर इमान्दार, योग्य नेता तथा कार्यकर्ता बिस्तारै पाखा लाग्नुपरेको अवस्था छ । आज नेपाली कांग्रेसमा अनुशासन कायम गर्नुपर्ने, इमान्दारिता देखाउनुपर्ने र जनसेवी हुनपर्ने माग उठेको छ । चुनावको लागि मात्र गाउँघर जाने र अरूबेला सुखसयलका साथै कमाउधन्दा, आर्थिक लाभको पछि लाग्ने र सहर केन्द्रित हुने प्रवृत्ति बढिरहेको छ ।

दलभित्र देखिएका खिचातानी, गुट उपगुट र एक आपसमा गरिने असमान व्यवहारले दल कतातिर लाग्दैछ भन्न सकिने अवस्था छैन । भनिन्छ, लोकतान्त्रिक पार्टीमा यस्तो हुनु अस्वाभाविक होइन । तर जनता यो कुरा पचाउन सकिरहेका छैनन् । साँच्चै भन्ने हो भने नेकाभित्रका नेता तथा कार्यकर्ताले सन्तुष्ट र गर्व गर्ने अवस्था छैन ।

दलहरूसँग गठबन्धन गरी चुनावमा भाग लिएर सबै तहमा ठूलो दल हुन पुगिएको त छ । तर लोकप्रिय जनमत करिब आठ लाखको संख्यामा तल झर्न पुगेको छ । संघीय सांसदमा ठूलो दल भएर पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकेको अवस्था छैन । संसद्मा तेस्रो, माओवादी दलको नेतृत्वको पछि लागेर सरकारमा सहभागी हुन पुगेको छ । हेर्दा र सुन्दा पनि अचम्म मान्नुपर्ने स्थिति छ । केही सीमित नेता तथा कार्यकर्ताबाहेक अधिकांश र खासगरी जनता यस अप्राकृतिक गठजोडबाट सन्तुष्ट हुन सकेको देखिँदैन । गठबन्धन दलहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएबाट झन् देशका ठूला मुद्दाहरू जस्तैः सुशासन, भ्रष्टाचार निवारण, विकास ओझेलमा परेको देखिन्छ भने सत्ता र शक्तिको लागि गठबन्धन प्राथमिकतामा परेको भन्ने जनबुझाइ छ ।

हालै ‘समुदायमा नेपाली कांग्रेस अभियान’ झापा जिल्लाबाट शुभारम्भ गरी समुदायमा भएका, गरेका काम कारबाहीजस्तै के–कस्ता समस्या, अप्ठेरा, गुनासाहरू छन् ? के–कस्ता चाहनाहरू छन् भन्ने पहिचान गर्ने कार्यक्रम थियो । तर नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यको दुःखद् निधनका कारण हाललाई यो अभियान स्थगन गरिएको छ । यदि नेताहरू गाउँघरमै नेतृत्व गरी बसेको भए सायद यो अभियान चलाउनुपर्ने नै थिएन होला र स्थानीयले समस्या समाधानका उपायहरू अपनाउने थिए होलान् । जनगुनासोहरू यत्रतत्र विभिन्न माध्यम, सामाजिक सञ्जाल, टीभी, रेडियो आदिबाट दिनदिनै प्रचारप्रसार भइरहेका छन् । काठमाडौंकै तीनकुने जाने जोकोहीले पनि देशमा विद्यमान समस्याहरू लेखेर धर्ना कार्यक्रम, जुलुस, अनसन आदिमार्फत आफ्ना भनाइहरू सुनाउने कोसिस गरिरहेको सजिलै देख्न पाइन्छ । बाटोमा हिँड्दै गरेका कुनै पनि बटुवा, चाहे त्यो विद्यार्थी होस्, महिला होस् या पुरुष, युवा होस् या वृद्धलाई आफूले भोगेका समस्या र समाधानका बारेमा जानकारी गराउन भन्यो भने मज्जाले कुरा राख्ने गरेको सुन्छौँ । आ–आफ्नै ढंगले जनचाहना अनुरूप राजनीतिक दल, नेता र सरकारले कामै नगरेको, गर्न नसकेको भन्ने गरेको सुन्छौँ, देख्छौँ ।

आज प्रत्येक नागरिकको मुखमा सुशासनको सट्टा कुशासन, माथिदेखि तल्लो निकाय (स्थानीय सरकार)सम्म नेता, कर्मचारीहरूको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेका, ठूला नेता कर्मचारी एवम् न्यायमूर्तिहरू समेतको संलग्नतामा अरबौँको नीतिगत भ्रष्टाचार गर्नेगरेको देख्न सक्छौँ । सरकारी ओहोदामा बसेका नेता तथा कर्मचारीहरूले गरेको अख्तियारको चरम दुरूपयोग, धान्नै नसक्ने महँगी, बेरोजगार, गुणस्तरीय सेवा दिनुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्यमा लापरवाही, देशमा उत्पादन गर्न नसकेको कारणले गर्दा सामान्य खानेदेखि विलासिताका वस्तुहरू विदेशीबाट आयात गरी निर्भर पर्नुपर्ने भएको छ । सरकारी निकायका कमजोरीले गर्दा खेती गर्ने अधिकांश किसानहरू पेसा परिवर्तन गर्न बाध्य भएका छन् र कृषियोग्य भूमिको उपयोगमा व्यापक ह्रास आएको र हजारौँ रोपनी कृषि योग्य जमिन बाँझो रहेको अवस्था छ ।

देशकै अर्थतन्त्र डामाडोल स्थितिमा गुज्रेको छ । रेमिट्यान्स भुक्तानी अधिक रहे पनि बैंकहरूले ऋण प्रवाह गर्न सकेको अवस्था छैन । भएका कलकारखाना बन्द भएका र हुने क्रम जारी रहेको देखिन्छ । आर्थिक विकासको मेरुदण्ड मानिएको सहकारी संस्थामा व्यापक र डरलाग्दो समस्याले गर्दा गरिब र साना किसानहरूले जम्मा गरेको बचत सहकारी सञ्चालकहरूले लुटेको अवस्था छ । सरकारले समस्याको हल गर्न सक्ने अवस्थामा देखिँदैन । कामको खोजीमा हजारौँको सङ्ख्यामा युवाहरू विदेशिने क्रम दिन प्रतिदिन बढेको देखिन्छ । जसमा विशेषज्ञता हाँसिल गरेका डाक्टर, इन्जिनियरहरूको जमात समेत थपिएकाले डरलाग्दो स्थिति आइपरेको छ ।

देशको राजधानी काठमाडौंको कुरा गर्ने हो भने अवस्था भयावह देखिन्छ । सबै राजनीतिक दलका ठूलाठूला नेता, विशेषज्ञहरू, उच्च ओहोदाका कर्मचारी, व्यापारीहरू समेतको बसोबास रहेको काठमाडौं, राजधानी भन्न पनि लाजलाग्दो रहेको छ । गाउँघरबाट व्यापक बसाइँसराइ भएबाट धान्नै नसकिने जनसंख्याको चाप, खानेपानीको हाहाकार, ढल र ढल सरी खोलाहरूको बिजोग, यातायातको अस्तव्यस्तता बेहोर्नुपर्ने अबस्था छ । यी त केही उदाहरण मात्र हुन् । समग्रमा भन्नुपर्दा जतात्यतै डरलाग्दो किरा नै किराले बास गरेको अवस्था देखिन्छ ।

नेकाका केही केन्द्रीय सदस्यहरू ‘नेपाल हिन्दु राष्ट्र’ हुनुपर्ने मुद्धा बोक्दै बैठकमा छलफलले प्रवेश पाउनुपर्ने माग राख्दै हस्ताक्षर संकलन गर्दै गरेको पनि देखियो । नेकाको यो बैठकले जनताले भोगेका समस्याहरूलाई सम्बोधन गर्न सक्ने नीतिको परिकल्पना गरी प्राथमिकताको आधारमा बहसमा ल्याई आफ्नो नीति सिद्धान्त बनाउनुपर्ने थियो र सो लागू गर्नु गराउनुपर्ने हो । तर बहस खासै जनता केन्द्रित हुन सकेको देखिएन ।

‘गठबन्धन’को मुद्दामा अधिकांश समय खर्चेको सुनिन्छ । सहभागीहरू दुई खेमामा विभाजित भई आफ्नो–आफ्नो पक्षमा चर्को आवाज उठाउने गरेको सुनिन्छ भने जनताका मुद्दा ओझेलमा परेको बुझिन्छ । बितेका दिनमा धेरै राम्रा कुराहरू नीतिका रूपमा कागजमा लेखेको, भाषणमा घाँटी सुकाउँदै बोलेका उदाहरण धेरै थिए । तर कार्यान्वयन गर्न नै नसकेको अवस्था छ । आज मुख होइन हात चलाउनुपर्ने जनताको माग छ ।

आज देशमा वैकल्पिक दलहरूको उदय भइसकेको छ । आफ्नो गोरुको बाह्रै टक्का भन्ने स्थिति अब रहेन । नेपाली कांग्रेसको भविष्य दलभित्र हुने राम्रो, दरिलो संगठन, व्यवस्थापन, एकता, सद्भावमा निर्भर हुने देखिन्छ । शीर्ष नेताहरूले सोच्न ढिला गर्ने अब समय छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया