Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउनको समयसीमा र मोडालिटी परिवर्तन गर्न माग

लकडाउनको समयसीमा र मोडालिटी परिवर्तन गर्न माग


काठमाडौं, जेठ २०
नेपाल विद्युतीय व्यवसायी महासंघले लकडाउनको समयसीमा र मोडालिटीलाई परिवर्तन गर्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी राखेको छ । लकडाउन मात्रै कोरोना नियन्त्रणको उपाय नभएको भन्दै निजी क्षेत्रले आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउनको मोडालिटी परिवर्तन गर्न आग्रह गर्दै आइरहेका छन् ।

विद्युतीय व्यवसायी महासंघले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणको निश्चित समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्व नै लागि रहेको अवस्थामा लकडाउनको मोडालिटी परिर्वतन गर्दै अत्यन्त संवेदनशील क्षेत्रबाहेक अन्य क्षेत्रमा खुकुलो पारी जनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउन आग्रह गरेको हो ।

लकडाउनले गर्दा रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मजबुद बनाउँदै परीक्षणको दायरालाई फराकिलो बनाई आर्थिक जनजीवन सामान्य बनाउनेतिर नलागेर सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको महासंघको आरोप छ ।

विद्युतीय सामग्रीहरुको प्रयोग मानव जीवनको दैनिकीको लागि अति आवश्यक वस्तु भएकाले यसका लागि आवश्यक सामग्रीको उपलब्ध नभएर उपभोक्ताहरु मारमा परेको महासंघले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरुबाट न्यून क्षमतामा उत्पादन गरिए पनि बजार, पसलहरु नखुलेकाले उत्पादित सामग्री उपभोक्तासमक्ष पु-याउन कठिन भएको महासंघको भनाइ छ ।

उद्योगहरुले पुँजी परिचालनको अभावले कच्चापदार्थ खरिद गर्न नसक्ने अवस्था हुनसक्ने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सूचनाअनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरु, विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x