Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषि, ऊर्जा र पयर्टनमा वाणिज्य बैंकहरुको पाँच खर्ब कर्जा

कृषि, ऊर्जा र पयर्टनमा वाणिज्य बैंकहरुको पाँच खर्ब कर्जा


सुरेश राउत
काठमाडौँ, जेठ २१
कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुले पाँच खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् । राष्ट्र बैंकले कृषि, ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको सुचीमा राख्दै यो क्षेत्रमा कम्तीमा पनि २५ प्रतिशत कर्जा प्रवाह गर्ने निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तीमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटन लगायतका प्राथमिकता प्राप्त क्षेत्रहरुमा प्रवाह गर्नुपर्ने हुुन्छ । सो अनुरुप वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कृषि क्षेत्रमा कुुल कर्जाको १० प्रतिशत अर्थात् दुई खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले ऊर्जा क्षेत्रमा पाँच दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने पर्यटन क्षेत्रमा चार दशमलव नौ प्रतिशत अर्थात् एक खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले विदेशी बैंक, पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट ६ महिना अवधिम थप ४ प्रतिशतसम्मको ब्याज दर कायम हुनेगरी ऋण लिन सक्ने व्यवस्था अन्तर्गत २०७६ चैतमसान्तसम्म नौ बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत)ले अमेरिकी डलर १३ करोड छ लाख र जापनिज येन १ करोड १० लाख ऋण लिन स्वीकृति लिएका छन् । यीमध्ये आठ वटा बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलर १० करोड १६ लाख र जापनिज येन १ करोड ५ लाख ऋण प्राप्त गरेका छन् । वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था रहेकोमा २०७६ चैत मसान्तसम्म१८ वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गरेका छन् ।

राष्ट्र बैंकले पुनर्कर्जा सुविधालाई प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधि जारी गरिनुका साथै पुनर्कर्जा कोषको सीमा वृद्धि गरी ६० अर्ब पु-याएको छ । २०७६ चैत मसान्तसम्म कुल १८ अर्ब ३१ करोड पुनर्कर्जा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जा व्यवस्थालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्म प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम संख्या समेत निर्धारण गरिएको छ । २०७६ चैत मसान्तसम्ममा २८, हजार ५९ ऋणीहरूम ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ । यसमध्ये २३ हजार चार सय नौ ऋणीहरूमा ५० अर्ब ४७ करोड व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गरिएको छ । यसैगरी पाँच हजार दुुई सय ५० ऋणीहरूलाई तीन अर्ब ४१ करोड अन्य प्रकारको कर्जा लगानीमा रहेको छ ।

आन्तरिक कर्जामा आठ दशमलव नौ प्रतिशतले वृद्धि : मुलुकको कुुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा कुुल आन्तरिक कर्जा आठ दशमलव नौ प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा यस्तो कर्जा १६ दसलमव आठ प्रतिशतले बढेको राष्ट्र बंैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १६ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार खुुद वैदेशिक सम्पत्ति भने तीन दशमलव सात प्रतिशतले बढेको छ । चालू आवको पछिल्लो नौ महिनामा खुुद वैदेशिक सम्पत्ति ३६ अर्ब ६१ करोड रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति छ दशमलव एक प्रतिशत अर्थात् ६४ अर्ब ६८ करोड रुपैयाँले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा ४.४ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १० प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा सञ्चित मुद्रा चार दशमलव छ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा विस्तृत मुद्राप्रदाय आठ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा प्रदाय नौ दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १५ दशमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x