Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजान माग

लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजान माग


प्रवीण राउत
काठमाडौँ, जेठ २१
लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउदै लैजान विज्ञलगायत सरोकारावालाहरुले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार गरेको कोभिड १९ को कारण नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव र सोको न्यूनीकरण एवं सुधारका लागि अगामी दिनमा अपनाउनुपर्ने रणनीतिसम्बन्धी छलफल कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधि, सरोकारवाला तथा विज्ञहरुले सो माग गरेका हुन् । छलफल कार्यक्रम भिडियोमार्फत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले सहभागीहरुले लकडाउनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक ज्यालदारी तथा न्यून आय भएका श्रमिकहरु अप्ठ्यारोमा परेको भन्दै लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्ने माग गरेका बताइन् । उनीहरुले लकडाउनका कारण कामदार तथा कच्चा पदार्थको अभावमा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक ज्यालादारी एवं न्यून आय भई जीवन गुजारा गर्ने वर्गको जनजीवनमा असहज परिस्थिति उत्पन्न भएको हुँदा लकडाउन खुकुलो बनाउन सरकारसमक्ष आग्रह गरेका हुन् ।

छलफलको क्रममा लकडाउनको अवधिमा भारतमा रोजगारीका लागि गएका श्रमजीवी जनशक्ति आउने क्रम बढ्दै गएको तथा तेस्रो मुलुकबाट समेत जनशक्ति फिर्ता हुने क्रममा रहेको हुँदा उक्त जनशक्तिको प्रचुर मात्रामा उपयोगको लागि सीप विकास तालिम तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न अत्यावश्यक भएकोले सरकारले सोहीबमोजिम रणनीतिक योजना बनाउनुपर्ने विषयमा प्रतिनिधि, सरोकारवाला तथा विज्ञहरुले जोड दिएका थिए ।

कोभिड १९ को प्रकोप तथा सोको अनिश्चित बन्दै गइरहेको यस अवधिमा वस्तु तथा सेवाको तुलनामा दैनिक उपभोग्य वस्तुहरुको उपभोग बढी हुने भएकोले कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने, खाद्य तथा स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने, वस्तुको उपलब्धता र गुणस्तरमा ध्यान दिने, मूल्य प्रणाली र आपूर्ति शृंखलालाई नियमित गर्दै उपभोक्ताको हित संरक्षण गर्नमा समेत उनीहरुले सरकारलाई सुझाव दिएका थिए । उनले सहभागीहरुले छिमेकी मुलुक चीनतर्फका नाकाहरु सुचारु गर्नेलगायत विषयमा साथै आगामी दिनमा उद्योग सञ्चालनको लागि मन्त्रालयले निर्वाह गुर्नपर्ने भूमिकाको विषयमा समेत सचेत गराएको बताइन् ।

यस्तै उद्योगी व्यवसायी तथा उद्योग वाणिज्य र आपूर्ति क्षेत्रका विज्ञहरुबाट अगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे समेत सहभागीहरुलाई सुझावहरु प्रदान गरिएको थियो । सो क्रममा मन्त्री लेखराज भट्ट तथा मन्त्रालयका पदाधिकारीहरुले कोभिड १९ को प्रकोप सुरु हुनुभन्दा अघि र सो पश्चात् मन्त्रालयको तर्फबाट भएका कार्यहरुको समीक्षा गर्दै कोभिड १९ को कारण उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा परेको नकारात्मक असर तथा सोको निराकरणका लागि मन्त्रालयको तर्फबाट भएका पहलहरुको जानकारी गराइएको थियो ।

लकडानको ढाँचामा परिवर्तन गर्नका लागि सरकारको तर्फबाट गृहकार्य भइरहेको जानकारी गराँउदै मन्त्री भट्टले जोखिममा परेका वर्ग र क्षेत्रको पुनरुत्थानका लािग मन्त्रालयले आगामी दिनमा उपयुक्त रणनीति अवलम्बन गरी कार्यान्वयन गर्ने बताए । यस्तै मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति विश्वव्यापी रुपमा रहेकोले सबैले मिलेर सामना गर्नुपर्ने आवश्यकता औँल्याएको थियो ।

छलफलमा मन्त्री भट्टका साथै राज्यमन्त्री मोतिलाल दुगड, सचिव तथा सहसचिवहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु त्था अयोगका पूर्वसदस्य तथा कार्यकारी अध्यक्ष डा.पोषराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स, निर्यात व्यवसायी महासंघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका पदाधिकारी तथा निजी क्षेत्रका पेशागत संघ÷संस्थाका पदाधिकारीहरु सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x