Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य सुरक्षा अपनाई बजार-व्यवसाय सुरु गर्ने तयारी

स्वास्थ्य सुरक्षा अपनाई बजार-व्यवसाय सुरु गर्ने तयारी


काठमाडौं, जेठ २१
मोरङ व्यापार संघले विराटनगरमा स्वास्थ्य सुरक्षासहित बजार/व्यवसाय सुचारु गर्ने तयारी थालेको छ । संघले लामो समय देखि भएको लकडाउनका कारण ठप्प रहेका उद्योग, कलकारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको भन्दै बजार व्यवसाय सञ्चालन गर्ने तयारी थालेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनलाई लामो समयसम्म पालना गरेको भन्दै संघले अब भने व्यापार व्यवसाय सञ्चालन गर्न नसकिने बताएको छ ।

अचानक र अनिश्चित तवरले सुरु भएको लकडाउनका कारण मुलुकको आपूर्ति श्रृंखलामा प्रत्यक्ष असर पर्नुका साथै उद्योगी व्यवसायीहरुको पुँजी लगायत श्रमिकहरुको रोजगारी र स्वदेशी उत्पादकत्वमा ठूलो ह्रास आई दयनीय अवस्थामा पुगेको भन्दै संघले सोमबार उद्योगी तथा व्यवसायीसँग बजार खोल्नेबारे छलफल गरेको थियो ।

छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले कोभिड–१९को रोकथाम र नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिई उपभोक्ता, श्रमिक, उद्योगी व्यवसायी लगायत सबै वर्गको दयनीय जनजीवनलाई सामान्य स्थितिमा फर्काउन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका थिए । मुलुकमा उत्पन्न भएको आर्थिक संकटलाई न्यूनीकरण गर्न एवं देशको अर्थतन्त्र समेत चलायमान राख्न स्वास्थ्य सुरक्षाका नीतिहरुलाई अनिवार्य अवलम्बन गरी उद्योग, व्यवसाय र बजारहरु सुचारु गर्दै जानुपर्ने उद्योगी व्यवसायीको सुझाव आएको मोरङ व्यापार संघले जनाएको छ ।

सोही सुझावअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारहरु, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरुलाई जानकारी गराई उद्योग तथा व्यवसाय सञ्चालन गर्न तयारी थालेको संघले बताएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगरका नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोसिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन चाँदी व्यवसायी संघ, मोरंग अटोमोबाइल डिलर्स एसोसिएसनलगायतलाई वस्तुगत संघहरुलाई संघमा आमन्त्रण गरी छलफल गरेका थिए ।

छलफलमा उपस्थित व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्तालगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाइजेसन, मानवीय दूरीलगायतका स्वास्थ्य सुरक्षाका विधिहरु अनिवार्य रुपले अवलम्बन गराई प्रत्येक दिन कम्तीमा चार घण्टा बजार तथा व्यवसाय सञ्चालन गर्ने निष्कर्ष निकालेका छन् । साथै, बैंकका सम्पूर्ण शाखाहरुसहित कार्यालयहरु सञ्चालन गराउन, भन्सार जाँचपासका कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायमा पहल गरिने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x